बुधबार सेयर बजारका सबै सूचकमा हरियाली छाएको छ। नेप्से ३३.२७ अंकले बढेर दुई हजार ८६६.८७ विन्दुमा कायम भएको हो। यसअघिका दुई कारोबार दिनमा नेप्से लगातार ओरालो लागेको थियो।
आज ३४४ कम्पनीका दुई करोड ६४ लाख ३८ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा १० अर्ब ५३ करोड ७० लाख रुपैयाँबराबरको कारोबार भएको छ। बुधबार कारोबार रकममा पनि वृद्धि भएको हो। सोमबार साढे आठ अर्बको सेयर खरिद–बिक्री भएको थियो।
आज नेप्सेका १३ वटै समूहको सूचक उकालो लागेका छन्। होटेल तथा पर्यटन सबैभन्दा धेरै ३.१६ प्रतिशतले बढ्दा जलविद्युत् र व्यापार समूह दुई प्रतिशतभन्दा धेरैले बढेका छन्।
बुधबार ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। रिद्गे लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो, होटेल फरेस्ट इन, सिन्धु विकास बैंक, पाल्पा सिमेन्ट र सुपर खुदीको सेयर मूल्यमा सर्किट लागेको हो।
सबैभन्दा धेरै गुमाउनेमा भने रिलायन्स स्पिनिङ मिल्सका लगानीकर्ता छन्। यो कम्पनीको मूल्य आज ५.६१ प्रतिशतले ओरालो लागेको छ।