वास्तुशास्त्र मानवजीवनलाई सन्तुलित, शान्त, समृद्ध र सकारात्मक बनाउने प्राचीन वैज्ञानिक शास्त्र हाे । यो केवल घर बनाउने विधि मात्र नभई जीवनशैलीलाई व्यवस्थित गर्ने कला र विज्ञान पनि हो। मानव शरीर र सम्पूर्ण सृष्टि पञ्चमहाभूत (पृथ्वी, जल, अग्नि, वायु र आकाश)बाट निर्मित भएकाले यिनै तत्त्वहरूको सही सन्तुलनले जीवनमा सुख, शान्ति र प्रगतिको मार्गप्रशस्त गर्छ भन्ने मान्यता वास्तुशास्त्रको मूल आधार हो।
प्राचीन ऋषिमुनिहरूले मानवलाई प्रकृतिसँग सामञ्जस्यपूर्ण रूपमा जोड्न तथा वरिपरिको वातावरणबाट उत्पन्न हुने नकारात्मक प्रभावबाट जोगाउन वास्तुशास्त्रको विकास गरेका हुन्। यसको उत्पत्ति स्थापत्य वेदबाट भएको मानिन्छ, जुन अथर्ववेदको एक महत्त्वपूर्ण अंग हो। यस दृष्टिले वास्तुशास्त्रलाई वैदिक ज्ञान र आधुनिक उपयोगिताको संगम पनि भन्न सकिन्छ।
घर, कार्यालय, उद्योग, धार्मिक स्थल वा सार्वजनिक भवन निर्माण गर्दा दिशा, भूभाग, प्रकाश, हावा, पानीको स्रोत, ढलान, खुला स्थान र भार सन्तुलनजस्ता पक्षहरूलाई विशेष ध्यान दिनु वास्तुको मूल सिद्धान्त हो। यदि भवन यी सिद्धान्तअनुसार बनेको छ भने त्यहाँ बस्ने मानिसहरूको जीवनमा मानसिक शान्ति, स्वास्थ्यलाभ, आर्थिक उन्नति र पारिवारिक सदभाव बढ्ने विश्वास गरिन्छ।
आजको व्यस्त र तनावपूर्ण जीवनमा मानिसहरू मानसिक अशान्ति, स्वास्थ्य समस्या, आर्थिक अस्थिरता र पारिवारिक तनावबाट ग्रसित देखिन्छन्। यस्ता समस्याका धेरै कारण हुन सक्छन्, तर वास्तु सिद्धान्तविपरीत बनेको घर वा कार्यस्थल पनि एउटा महत्त्वपूर्ण कारण मानिन्छ। गलत दिशामा भान्सा, पानीको ट्यांकी, सेप्टीट्यांकी, मुख्य द्वार वा शयनकक्ष हुँदा घरमा नकारात्मक ऊर्जा बढ्ने र त्यसको असर परिवारका सबै सदस्यमा पर्ने विश्वास गरिन्छ।
वास्तुशास्त्रमा भूमि चयनलाई अत्यन्त महत्त्वपूर्ण मानिएको छ। वर्गाकार वा आयताकार भूखण्डलाई सबैभन्दा शुभ मानिन्छ। आवासीय प्रयोजनका लागि गोमुखी भूखण्ड र व्यावसायिक प्रयोजनका लागि सिंहमुखी भूखण्ड उपयुक्त मानिन्छ। भूमि परीक्षणका लागि माटोको गुणस्तर, पानी सोस्ने क्षमता, बिउ अंकुरण, जमिनको समतलता तथा वरिपरिको वातावरणलाई आधार बनाइन्छ। शान्त अनुभूति हुने, हरियाली भएको तथा सकारात्मक ऊर्जा महसुस हुने भूभागलाई भवन निर्माणका लागि उत्तम मानिन्छ।
घरभित्रको कोठा व्यवस्थापनमा पनि वास्तुको विशेष भूमिका हुन्छ। ईशान कोण (उत्तर–पूर्व) लाई अत्यन्त शुभ मानिन्छ, जहाँ पूजाकोठा, जलस्रोत वा तिजोरी राख्नु लाभदायक हुन्छ। नैऋत्य (दक्षिण–पश्चिम) भागलाई स्थायित्व र बलको प्रतीक मानिने भएकाले त्यहाँ स्टोर, ग्यारेज वा भारी सामान राख्नु उपयुक्त हुन्छ। अध्ययन कक्ष पश्चिम वा पश्चिम-दक्षिण दिशातर्फ राख्दा विद्यार्थीमा एकाग्रता, ज्ञान र सफलता बढ्ने मान्यता छ।
आज सहरीकरणसँगै फ्ल्याट र बहुमञ्जिला भवनहरूको संख्या तीव्र रूपमा बढेको छ। सीमित भूभाग, अनियमित आकारका प्लट र आधुनिक डिजाइनका कारण पूर्ण वास्तु सिद्धान्त पालना गर्न चुनौतीपूर्ण भए पनि ६० प्रतिशतसम्म वास्तुअनुकूल संरचना सम्भव रहेको विज्ञहरू बताउँछन्। यदि योजनाबद्ध रूपमा सीधा सडक, समकोणीय भूखण्ड, खुला हावापानी र प्रकाशको व्यवस्था गरियो भने आधुनिक सहरहरूलाई पनि धेरै हदसम्म वास्तुअनुकूल बनाउन सकिन्छ।
वास्तुशास्त्र र ज्योतिषशास्त्रलाई प्रायः एक–अर्काका पूरक शास्त्र मानिन्छ। ज्योतिषले ग्रह-नक्षत्रको प्रभाव बताउँछ भने वास्तुले भौतिक वातावरण र दिशागत ऊर्जाको प्रभावलाई सन्तुलित बनाउने प्रयास गर्छ। यसैले घर वा कार्यालय निर्माण गर्दा वास्तु परामर्शसँगै समयानुकूल ज्योतिषीय उपाय, मन्त्र, यन्त्र तथा पूजन गर्नाले अझ सकारात्मक परिणाम मिल्ने विश्वास गरिन्छ।
वास्तु केवल धार्मिक विश्वासमा सीमित छैन, यसको व्यावहारिक पक्ष पनि उत्तिकै महत्त्वपूर्ण छ। उदाहरणका लागि, पूर्व वा उत्तरतर्फ खुला ठाउँ राख्दा बिहानको प्राकृतिक प्रकाश सजिलै घरभित्र प्रवेश गर्छ, जसले स्वास्थ्यमा राम्रो प्रभाव पार्छ। दक्षिण-पश्चिमतर्फ भारी संरचना राख्दा भवनको सन्तुलन बलियो हुन्छ। यसरी हेर्दा वास्तुका धेरै सिद्धान्तहरू प्राकृतिक विज्ञान, ऊर्जा सन्तुलन र व्यावहारिक जीवनशैलीसँग पनि मेल खाने देखिन्छन्।
घरमा आवश्यकताभन्दा बढी कोठा बनाउने, प्रयोग नहुने सामान थुपारेर राख्ने, झ्याल–ढोका बन्द गरेर हावा र प्रकाश रोक्नेजस्ता कार्यले आकाश तत्त्व र वायु तत्त्व दूषित भई नकारात्मक प्रभाव पर्न सक्छ। त्यसैले वास्तुशास्त्रले सरल, स्वच्छ, खुला र उपयोगी संरचनालाई प्राथमिकता दिन्छ। अन्ततः, वास्तुशास्त्रको मूल उद्देश्य मानिसलाई सकारात्मक ऊर्जा, मानसिक शान्ति, स्वास्थ्य, समृद्धि र सफल जीवनशैली प्रदान गर्नु हो।
यद्यपि, भाग्य निर्माणको मुख्य आधार कर्म नै हो, तर सही वातावरण, सही दिशा र सकारात्मक संरचनाले कर्मको फललाई अझ प्रभावकारी बनाउन सहयोग पुर्याउँछ। त्यसैले वास्तुशास्त्रलाई अन्धविश्वासको रूपमा होइन, जीवनलाई व्यवस्थित र उन्नत बनाउने प्राचीन ज्ञानविज्ञानका रूपमा बुझ्नु आजको आवश्यकता हो।
यसरी, मानव जीवनमा वास्तुशास्त्रको महत्त्व अत्यन्त गहिरो छ। वास्तु सिद्धान्तअनुसार निर्मित घर, कार्यालय वा उद्योगले त्यहाँ बस्ने र काम गर्ने व्यक्तिहरूको जीवनमा शान्ति, समृद्धि, स्वास्थ्य र सफलता को मार्ग खोल्न सक्छ।
लेखक रिजाल दक्षिण एसियाली ज्याेतिष महासंघ नेपालका पूर्वमहासचिव हुन् ।