धनगढी उपमहानगरपालिकाले कक्षा आठको आधारभूत तहको परीक्षामा उत्कृष्ट नतिजा ल्याएका नगरभित्रका २५ वटा विद्यालयलाई सम्मान गरेको छ । सम्मान पाउनेमा १० वटा सामुदायिक र १५ वटा संस्थागत विद्यालय छन् ।
सामुदायिक विद्यालयतर्फ उत्कृष्ट नतिजा हासिल गरेका बेहडाबाबा मावि, शारदा मावि, सिद्धार्थ मावि, सर्वोदय मावि, इन्द्रोदय मावि, पञ्चोदय मावि र देवरियास्थित शारदा मावि, जनप्रिय मावि, ठेकराज मावि र चन्द्रोदय माविलाई सम्मान गरिएको हो । त्यस्तै संस्थागत विद्यालयतर्फ उत्कृष्ट नतिजा ल्याएका सिद्धार्थ विद्या मन्दिर, मयूर इंग्लिस बोर्डिङ स्कुल, गुरुकुल इंग्लिस बोर्डिङ स्कुल, जेसिज एभरेस्ट स्कुल, ग्लोबल मोडर्न पब्लिक स्कुल, पञ्चकोटी विद्या निकेतन, नन्दीनाज एकेडेमी तथा अपि विद्या निकेतनले सम्मान पाएका छन् ।
संस्थागततर्फ नै गोल्डेन ज्योति स्कुल, केदारनाथ विद्या निकेतन, सिद्धार्थ इन्टरनेसनल, दरबार इंग्लिस बोर्डिङ स्कुल, ग्यालेक्सी मावि र डिलाइट इंग्लिस बोर्डिङ स्कुललाई उत्कृष्ट नतिजा ल्याएबापत उपमहानगरले सम्मान गरेको छ । उपमहानगरले आइतबार बाजागाजासहित औपचारिक कार्यक्रम गर्दै विद्यालयहरूलाई सम्मान गरेको हो ।
नगर प्रमुख गोपाल हमालले नगरभित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिलाई उच्च प्राथमिकतामा राखेर उपमहानगरले सुधारको प्रयास गरिरहेको बताए । उनले शैक्षिक सुधारमा विद्यालयलाई प्रोत्साहन गर्न उत्कृष्ट नतिजा ल्याएका विद्यालयलाई सम्मान गरिएको बताए । ग्रामीण भेगका विद्यालयमा विद्यार्थी संख्या घट्दै जानु चिन्ताको विषय भएको भन्दै उनले शैक्षिक सुधार नगर्ने हो भने केही वर्षपछि सामुदायिक विद्यालय विद्यार्थीविहीन हुने अवस्था आउने बताए ।
ग्रामीण भेगका विद्यालय बलियो बनाउनुपर्छ भनेर आफूले सुरुबाटै प्रयास गरिरहेको नगर प्रमुख हमालले बताए । उनले सामुदायिक विद्यालयको गुणस्तर सुधारको प्रयासस्वरूप केही विद्यालयलाई नमुना विद्यालयको रूपमा विकास गर्न खोजिएको बताए । उपमहानगरले पाँचवटा सामुदायिक विद्यालयलाई नमुना विद्यालयको रुपमा अगाडि बढाइरहेको छ । ती विद्यालयमा विद्यार्थीले कुनै पनि प्रकारको शुल्क तिर्नुपर्दैन भने शैक्षिक सामग्री पनि उपमहानगरले नै उपलब्ध गराउने गरेको छ । विगतमा रहेको शिक्षकहरु विद्यालय नआउने समस्या हटाउन सामुदायिक विद्यालयमा इ–हाजिरीको व्यवस्था गरिएको नगर प्रमुख हमालले बताए ।
उपमहानगरको शिक्षा शाखा प्रमुख घुम्मनसिंह बडाकका अनुसार नमुना विद्यालयमा आधुनिक प्रविधिमार्फत पठनपाठन गरिनुका साथै अनलाइन कक्षा र अतिरिक्त कक्षाहरू सञ्चालन गर्ने गरिएको छ । सामुदायिक विद्यालय सुधार गर्न नमुना विद्यालय छनोट, शिक्षक दरबन्दी मिलान, विद्यालय समायोजन, सबै शिक्षकलाई तालिमलगायतका कार्य उपमहानगरले गरेको जानकारी दिए ।
विद्यालय सुधारका लागि भन्दै उपमहानगरले यहाँका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूलाई तीन वर्षअघि दिल्लीका नमुना विद्यालयको अवलोकन भ्रमणसमेत गराएको थियो । विद्यार्थी कम भएका पाँचवटा सामुदायिक विद्यालयलाई उपमहानगरले समायोजन गरेको छ । ‘तहगत रूपमा दरबन्दी मिलान गरेपछि विद्यालयहरूले विषयगत रूपमा दक्ष जनशक्ति पाए । शिक्षकलाई पेसागत रूपमा दक्ष बनाउन प्रत्येक शिक्षकलाई तालिम दिएका छौँ, तालिमले पनि शैक्षिक गुणस्तर सुधार भएको पाएका छौँ,’ शिक्षा शाखा प्रमुख बडायकले भने ।
उपमहानगरले आफ्नै स्रोतबाट २० जना शिक्षक नियुक्त गरेको छ । शिक्षकलाई पेसागत रूपमा आइपर्ने समस्या समाधानका लागि सहयोग गर्न तीनजना विज्ञहरू नियमित रूपमा विद्यालय पुग्ने गर्छन् । तीन वर्षअघि धनगढीका १७ विद्यालयको आठ कक्षाको नतिजा नील आएकोमा अहिले अधिकांश सामुदायिक विद्यालयको विगतको नतिजामा सुधार हुँदै गएको उपमहानगरले जनाएको छ ।