सरकारमा आउनुअघि इमानदारीपूर्वक कमाएको सम्पत्ति ‘पाप’ होइन : गृहमन्त्री गुरुङ

सोमबार, ३० चैत, २०८२
डिजिटल संस्करण

गृहमन्त्री सुधन गुरुङले आफू सरकारमा आउनुअघि आर्जन गरेको सम्पत्तिलाई ‘पाप’ भन्न नमिल्ने बताएका छन्। हालै सार्वजनिक गरिएको मन्त्रीहरूको सम्पत्ति विवरणलाई लिएर सामाजिक सञ्जालमा बढ्दो आलोचनापछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

आइतबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित मन्त्रिपरिषद्का सबै सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको थियो। उक्त विवरणमा सुन, चाँदीलगायतका गरगहनाको उल्लेख भएपछि सामाजिक सञ्जालमा व्यापक चर्चा र आलोचना भएको थियो।

यसै सन्दर्भमा गुरुङले आफ्नो आधिकारिक इन्स्टाग्राममार्फत धारणा राख्दै, गरिबी र व्यक्तिगत कमाइबारे टिप्पणी गरेका छन्। उनले लेखेका छन्, ‘जन्मँदा गरिब हुनु तिम्रो गल्ती होइन, तर मर्दा गरिब हुनु तिम्रो गल्ती हो।’

उनले थप स्पष्ट पार्दै भने, ‘सरकारमा आउनुअघि विनाभ्रष्टाचार कमाएको सम्पत्ति पाप होइन, तर सरकारमा आएर भ्रष्टाचार गरेर कमाउनु पाप हो।’ साथै उनले ‘चेतना भया’ भन्ने ह्यासट्याग प्रयोग गर्दै आफ्नो सन्देश व्यक्त गरेका छन्।

सुझावित समाचार