विराट गोल्डकप : एपिएफलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा

सोमबार, ३० चैत, २०८२
डिजिटल संस्करण

चर्च ब्वाइज युनाइटेडले विभागीय टोली नेपाल एपिएफ क्लबलाई १–० ले हराउँदै गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान पक्का गरेको छ । विराटनगरस्थित सहिद रंगशालामा आइतबार पूर्वविजेता चर्च ब्वाइजको जितमा समीर तामाङले एक मात्र निर्णायक गोल गरेका थिए । खेलको २७औँ मिनेटमा आशिष सोनामको पासमा समीरले डिबक्सभित्रबाट आकर्षक गोल गरेका हुन् । उनी खेलकै म्यान अफ दी म्याच भए । 

उपाधि दाबेदारका रूपमा हेरिएको एपिएफको यात्रा यसपटक भने क्वार्टरफाइनलमै सीमित भएको छ । पहिलो हाफमा एपिएफले बराबरी गोल अवसर चुकाएको थियो । प्रतिस्पर्धात्मक खेलको ४४औँ मिनेटमा एपिएफका मणिकुमार लामाले डिबक्सभित्रबाट प्रहार गरेको बल क्रसबारबाट माथि गएको थियो । चर्च ब्वाइजको तुलनामा एपिएफले दोस्रो हाफमा पनि आक्रामक खेल खेलेको थियो । तर, एपिएफले बराबरी गोल फर्काउन सकेन । 

खेलको ५०औँ मिनेटमा एपिएफका प्रदीप लामाको प्रहारलाई चर्च ब्वाइजका गोलरक्षक दीप कार्कीले उत्कृष्ट बचाउ गरे । खेलको ६३औँ मिनेटमा एपिएफका सविन गुरुङको प्रहार पनि लक्ष्यविहीन बन्यो । चर्च ब्वाइजले दोस्रो हाफमा एक उत्कृष्ट मुभ बनाएको थियो । चर्च ब्वाइजका सुरज गौतमले ६९औँ मिनेटमा गरेको प्रहार बारमा लागेर फर्किएको थियो । समग्रमा पूर्वविजेता एपिएफले प्राप्त मौकामा गोल गर्न सकेन ।

एपिएफले ०७८ मा भारतीय टोली पन्जाब पुलिस क्लबलाई १–० ले हराउँदै उपाधि हात पारेको थियो । प्रतियोगिताअन्तर्गत सोमबारको खेल विभागीय टोली नेपाल पुलिस क्लब र मच्छिन्द्र फुटबल क्लबबिच हुनेछ । 

सुझावित समाचार