एक जुगमा एक दिन, एकचोटी आउँछ । उलटपुलट, उथलपुथल हेरफेर ल्याउँछ...’
गीतकार गोपालप्रसाद रिमाल र गायकहरू रामकृष्ण दुवाल, अभिज्ञा घिमिरे र बेनुप क्षेत्रीको कालजयी यस गीतले भनेझैँ वर्ष ०८२ नेपाली राजनीतिका लागि उलटपुलट र उथलपुथल वर्षको इतिहास लेखाएर बिदा हुँदै छ ।
२३ र २४ भदौको जेन–जी पुस्ताको नेतृत्वमा सम्पन्न आन्दोलनले २४ घण्टाभित्र सत्तापलट गर्दै सात दशकभन्दा लामो इतिहास बोकेका राजनीतिक दल र नेतालाई विस्थापित मात्र गरेन, २१ फागुनको चुनावमार्फत पुनरोदयको ढोकासमेत खुल्न कठिन हुने गरी किनारीकृत गरिदिएको छ ।
संसद् र कार्यकारी भूमिका (मन्त्रिपरिषद्) मा नयाँ दल र युवाहरूको वर्चस्व स्थापित भएको छ । राजनीति जेल–नेल, संघर्ष र विरासतको बलमा हुन्छ भन्ने मान्यता जेन–जी आन्दोलनपछि उदाएको नेतृत्वबाट एकैपटक भत्किएको छ । र, चुनाव संगठनका बलमा जितिन्छ भन्ने दलीय विश्वास पनि टुटेको छ ।
तीन दलका भन्दा लामो समयदेखि शासनको बागडोरमा कहिले सत्तापक्ष त कहिले प्रतिपक्षमा रहँदै आएका कांग्रेस, एमाले, नेकपा (तत्कालीन माओवादी) जस्ता ठुला दललाई करिब एकतिहाइ सिटमै सीमित भएका छन् । कम्तीमा अर्को
चुनावसम्म उनीहरू प्रतिपक्षी दलमा बस्नुपर्ने बाध्यकारी अंकगणितमा झरेका छन् । जेन–जी आन्दोलनपछि सम्पन्न चुनावले संसद्को २७५ मध्ये १८२ (करिब दुईतिहाइ) सिट जिताएर राष्ट्रिय स्वतन्त्र पार्टीलाई सिंहदरबारको शासन केन्द्रमा पु¥याएको छ । विश्वका कैयन मुलुकमा वैकल्पिक राजनीतिक धारको उदय भइरहेकै वेला नेपाली जेन–जीले एउटा अद्वितीय इतिहास रचेका छन् । दुर्लभ राजनीतिक परिवर्तन ल्याएका छन् । देशले पहिलोपटक मधेशी समुदायको प्रधानमन्त्री पाएको छ ।
०८२ वैशाख सुरु हुँदैगर्दा दश महिना सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी ओली करिब १४ महिना नेतृत्व गरेर २४ भदौमा विस्थापित भए । कांग्रेस सभापति शेरबहादुर देउवालाई २० महिनापछि आलोपालो सरकारको नेतृत्व दिनेसहितको सातबुँदे सहमति गरेर सरकारमा आएका ओली २३ भदौको जेन–जी आन्दोलनमा १९ जना युवाको गोली लागेर ज्यान गएपछि आक्रोशको केन्द्रमा परे ।
सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोधबाट सुरु भएको असन्तुष्टिलाई नजरअन्दाज गर्दै आन्दोलनलाई दबाउने योजनामा रहेका ओलीले न सत्ता–सहयात्री कांग्रेससहितका दलको विश्वास जितेर मुद्दा सम्बोधन गर्न सके, न देशलाई गम्भीर मानवीय र आर्थिक क्षतिबाटै जोगाउन सके । युवाको हत्यापछि राजीनामामा ढिलाइ गरेकै कारण २४ भदौमा ओली बालुवाटारबाट नेपाली सेनाको सहयोगमा उसैको हेलिकोप्टर चढेर सुरक्षित स्थानमा स्थानान्तरित हुन बाध्य भए र त्यही परिघटनाबाट नेपाली राजनीतिमा उलटफेरको शृंखला सुरु भयो ।
ओलीको हठ र उनलाई सहयोग गर्ने कांग्रेस सभापति देउवादम्पतीले मुस्किलले ज्यान जोगाए । प्रमुख प्रतिपक्षी दल नेकपाका नेता पुष्पकमल दाहाल प्रचण्ड, शीर्ष नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेताहरूको निवास जल्यो । सिंहदरबार, संसद् भवन, राष्ट्रपति भवन, मन्त्रीनिवास र नेताका निवास जलाइए । २४ भदौमा आन्दोलनकारी मात्र होइन, प्रहरी र सर्वसाधारणले समेत ज्यान गुमाए । राजनीतिक पार्टीका कार्यालयहरूसमेत जले ।
नेपाली सेनाको सहयोग र सहजीकरणमा तथा नेताहरूसँग औपचारिक–अनौपचारिक संवादका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक निकासका विकल्पमा काम गरे । संसद् विघटन र अन्तरिम सरकारसहित मध्यावधि निर्वाचनमार्फत ताजा जनादेशमा जाने सहमति भयो । सहमतिपूर्व संसद् विघटनलाई जेन–जी आन्दोलनको प्रमुख माग बनाइयो ।
यसैअनुसार निकासका लागि २१ फागुनमा चुनाव गराउने कार्यादेशसहित पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार गठन भयो । अनेक आशंका र जटिलटाका बिच त्यही सरकारले ६ महिनामा चुनाव गरायो । चुनावबाट पुराना दलहरू विस्थापित मात्र भएनन्, अहिलेसम्मकै ठुलो क्षति व्यहोरे ।
००७ सालपछि नेपालमा एक कार्यकाल कुनै पनि सरकार टिकेका छैनन् । ०७९ को चुनावपछि प्रचण्ड र ओली नेतृत्वको सरकारमा पालैपालो सहभागी भएर सत्ताको चास्नीमा डुबेको कांग्रेस जनमत संसदीय राजनीतिलाई सम्हालेर अघि बढ्न असफल रह्यो । स्थिरता दिने काममा ठुलो दल चुकेकै कारण अरू दल र प्रमुख नेताहरू पनि सत्तास्वार्थमै केन्द्रित बने ।
सुशासन र सेवा प्रवाहबाट विमुख बनेर दलीय स्वार्थ, गुटगत स्वार्थ, आरोप–प्रत्यारोप, बिचौलियासँगको नियमित उठबसमा अल्झिएका उनीहरूकै असफलताले जनतामा तीव्र असन्तुष्टि चुलिँदै गयो । युवाहरू सामाजिक सञ्जालमाथिको प्रतिबन्धबाट आक्रोशित बने । तर, असन्तुष्टिहरूलाई नजरअन्दाज गर्दै प्रधानमन्त्रीसमेत रहेका ओली जहाँ सहभागी भए । ती कार्यक्रममा लामा–लामा प्रवचनमार्फत खिसिटिउरीको आभाष दिलाउने गरी भाषण गरेर आगोमा घिउ थप्दै गए, जसले गर्दा जेन–जी आन्दोलन असन्तुष्टि विस्फोट हुने महत्वपूर्ण कारण बन्यो । जेन–जी आन्दोलनले मुलुकलाई तीन वर्षमै मध्यावधि गराउने तहमा पुर्यायो ।
पुराना दल–नेता विस्थापित र नयाँ दल–नेता उदय : जेन–जी आन्दोलनको मुद्दा बोकेर चुनावमा होमिएको रास्वपाले २७५ मध्ये १८२ सिट(दुईतिहाइमा दुई सिट कम)जित्यो । कुल खसेको मतको ४९ प्रतिशत मत पाएको रास्वपाको जनमत ००७ सालपछिकै बढी मानिएको छ । ०१५ सालमा कांग्रेसले १०९ मध्ये ७४ सिट अर्थात् दुईतिहाइ सिट जिते पनि कुल मतको ३८ प्रतिशत जनमत मात्र पाएको थियो । त्यसपछि ०७४ को चुनावपछि तत्कालीन एमाले–माओवादी गठबन्धनले पनि करिब दुईतिहाइ १७४ सिट जितेको थियो । यो चुनावबाट पुराना दलहरू मात्र तत्कालका लागि किनाराकृत भएनन्, ०६४ बाहेक ०४८ देखि चुनाव जित्दै आएका एमाले अध्यक्ष केपी ओली, पूर्वप्रधानमन्त्रीहरू माधव नेपाल, झलनाथ खनाल पराजित भए ।
कांग्रेसको विवाद शिखरमा पुग्दा विशेष महाधिवेशनबाट नयाँ नेतृत्व आयो । तर, देउवालाई विस्थापित गरेर कांग्रेस सभापति बनेका दोस्रो पुस्ताका गगन थापाले पूर्वप्रधानमन्त्रीहरूले जस्तै नमिठो पराजय नै व्यहोरे । पूर्वप्रधानमन्त्री देउवाले उम्मेदवारसमेत बन्ने अवसर पाएनन् । प्रचण्डले गढ पूर्वी रुकुमबाट उठेर चुनाव जितेर व्यक्तिगत साख जोगाए पनि उनको पार्टी अघिल्लो चुनावभन्दा जनमतका हिसाबले आधा मतमा खुम्चिएको छ । उसैगरी साना दलका प्रमुख नेताहरू पनि पराजित भए ।
मधेशकेन्द्रित दल विस्थापित : ०६२/६३ को जनआन्दोलनपछि मधेश आन्दोलनबाट उदाएका शक्तिशाली मधेशकेन्द्रित दलहरू प्रत्यक्ष र समानुपातिक कतै पनि सिट जित्न नसकेर २१ फागुनको चुनावबाट विस्थापित भएका छन् । ०६४ को चुनावमा चौथो शक्तिका रूपमा उदाएको तत्कालीन मधेशी जनअधिकार फोरमको लिगेसी बोक्ने नेता उपेन्द्र यादव र उनको पार्टी जसपा नेपालले एउटा पनि सिट जित्न सकेन । त्यस्तै, राजेन्द्र महतो, अशोक राईलगायतले नेतृत्व गरेका पार्टीहरूले पनि चुनाव जितेनन् । ०७९ को चुनावमा क्षेत्रीय रूपमा उदाएका डा. सिके राउत नेतृत्वको जनमत पार्टी र रन्जिता चौधरी तथा रेशम चौधरीले नेतृत्व गरेको नागरिक उन्मुक्ति पार्टी पनि एउटा पनि सिट जित्न नसकेर विस्थापित भएका छन् ।
साना दल पनि विस्थापित : ०४८ देखि निरन्तर चुनाव जित्दै आएका केही साना दललाई २१ फागुनको निर्वाचनले विस्थापित गरिदिएको छ । भक्तपुरलाई गढ ठान्दै आएको नेमकिपाले प्रत्यक्ष र समानुपातिक दुवैतिर एउटा पनि सिट जित्न नसकेर विस्थापित भएको छ । उसले अघिल्लो चुनावमा जितेको भक्तपुर १ वैकल्पिक नयाँ दलका रूपमा उदाएको रास्वपाले भत्काएर जितेको छ । त्यस्तै, लगातार केही सिट जित्दै आएको राष्ट्रिय जनमोर्चाले पनि प्रत्यक्ष र समानुपातिक दुवैतिर एउटा पनि सिट जित्न नसकेर विस्थापित भएको छ ।
श्रम संस्कृतिको उदय : २१ फागुनको निर्वाचनबाट नयाँ पार्टीका रूपमा हर्कराज साम्पाङले नेतृत्व गरेको दल श्रम संस्कृति पार्टीको उदय भएको छ । ७ सिटसहित पाँचौँ दलका रूपमा श्रम संस्कृति पार्टीले उपसभामुख लिएर संसद्मा सशक्त उपस्थिति जनाएको छ । २५ वर्षीय रुबीकुमारी ठाकुर जेन–जी उमेरको प्रतिनिधित्व गर्दै अहिलेसम्मकै कान्छी उपसभामुख बनेकी छिन् । हर्कले नेतृत्व गरेको पार्टी कोशी प्रदेशमा समानुपातिकतर्फ रास्वपापछिको दोस्रो ठुलो दलका रूपमा उदाएको छ ।
एकतिहाइभन्दा बढी युवा–शासन र सत्ताको केन्द्रमा : २१ फागुनमा सम्पन्न निर्वाचनबाट युवामय संसद् गठन भएको छ भने मुलुकको बागडोर ३७ वर्षीय बालेन्द्र शाहले प्रधानमन्त्री बनेर सम्हालिरहेका छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा १०२ जना सांसद २५ देखि ४० वर्ष उमेर समूहका छन् । संख्याको हिसाबले संसद्मा यो एकतिहाइभन्दा बढी युवा उमेर समूहको सहभागिता हो । संसद्मा ४० वर्षमुनिका रास्वपाबाट ८३, कांग्रेसबाट ९, एमालेबाट ६, श्रम संस्कृति र राप्रपाबाट २÷२ जना सांसद निर्वाचित भएका छन् । त्यस्तै, १५ सदस्यीय मन्त्रिपरिषद्मा समेत अधिकांश युवाहरूकै सहभागिता भएको छ । समावेशिताका हिसाबले पनि एकतिहाइ महिलासहित जनजाति, मधेशी, दलित र पिछडिएको क्षेत्रको सन्तुलित सहभागिता मन्त्रिपरिषद्मा देखिएको छ ।
राजनीतिशास्त्रीहरूले शासन र सत्तामा यसलाई नेपालको इतिहासकै अभूतपूर्वक पुस्तान्तरणको संज्ञा दिँदै नयाँ नेतृत्वलाई सम्हाल्नुपर्ने ठुलो चुनौती दिएको बताइरहेका छन् । दुईतिहाइ र सुविधाजनक बहुमत हुँदा पनि विगतमा कुनै पनि सरकार पाँच वर्ष टिक्न नसकेका कारण पनि अनुभवले नखारिएका युवाहरू शासन र सत्ताको नेतृत्वमा पुग्दैमा मुलुकले स्थिरता र समृद्धिको बाटो लिन्छ भनेर विश्वस्त हुन नसकिने उनीहरूको बुझाइ छ ।
राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेल दलहरूले दलगत र नेतृत्व स्वार्थलाई प्राथमिकता दिँदा जनअसन्तुष्टि विस्फोट हुन्छ भन्ने ०८२ को चुनावले दिएको सन्देश भनी बताउँछन् । ‘वर्ष २०८२ ले एउटा स्पष्ट सन्देश दिएको छ– जब राजनीतिक दलहरूले मुलुकको बृहत्तर स्वार्थभन्दा आफ्नै दलगत र नेतृत्वगत स्वार्थलाई प्राथमिकता दिन्छन्, तब जनअसन्तुष्टि विस्फोटको रूपमा प्रकट हुन्छ । जेन–जी आन्दोलन त्यही असन्तुष्टिको प्रतिफल हो । यसले स्थापित राजनीतिक मानकहरूलाई चुनौती दिँदै केवल भोटको राजनीतिमा सीमित दलहरूलाई पछाडि पारेर राजनीतिक दलभित्रकै तेस्रो–चौथो तहका युवाहरूलाई नेतृत्वमा उभ्याउने नयाँ परिदृश्य सिर्जना गरेको छ,’ उनी भन्छन् ।
त्रिवि केन्द्रीय राजनीतिशास्त्र विभागका उपप्राध्यापक डा. मिलन श्रेष्ठले पनि पुस्तान्तरणसँगै शासन र सत्ताको केन्द्रमा उमेर समूहमै ठुलो खाडल देखा परेकाले सरकार र संसद् दुवैतिर नेतृत्व गरिरहेकाहरूले गम्भीरताबोधसहित काम गर्नुपर्ने बताए । ‘वर्ष ०८२ राजनीतिक परिवर्तनको वर्षका रूपमा स्थापित भएर बिदा हुँदै छ ।
नेपालको इतिहासमा प्रत्येक दशकजसोमा देखिने राजनीतिक रूपान्तरणको प्रवृत्ति पुनः पुष्टि गर्दै जेन–जी आन्दोलनले राजनीति र शासनसत्तामा पुस्तान्तरणको प्रक्रिया अघि बढाएको छ । यसलाई सबै राजनीतिक शक्तिहरूले गम्भीर शिक्षाका रूपमा लिनु आवश्यक छ,’ उनी भन्छन्, ‘तर, यस परिवर्तनले केही गम्भीर संरचनात्मक प्रश्न पनि उठाएको छ । पुस्तान्तरण भए पनि उमेर समूहबिच असन्तुलन छ । लामो समयसम्म ६०–७० वर्ष उमेर समूहको वर्चस्व रहेको सत्तामा अहिले २५–४० वर्षका युवाहरू अग्रपंक्तिमा पुगेका छन् ।
४० वर्षमुनिको नेतृत्व स्थापित हुनु सकारात्मक भए पनि ४०–६० वर्ष उमेर समूहका अनुभवी नेताहरू सत्ता प्रक्रियाबाट बाहिरिने जोखिम देखिएको छ । यसले राजनीतिमा करिब २०–३० वर्षको उमेरले खाडल सिर्जना गरेको छ, जुन दीर्घकालीन रूपमा चुनौतीपूर्ण हुन सक्छ ।’
नेताहरूले दलगत र व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिँदा जनअसन्तुष्टि विस्फोट हुन्छ भन्ने सन्देश
कृष्ण पोखरेल, राजनीतिशास्त्रका प्राध्यापक
वर्ष ०८२ ले एउटा स्पष्ट सन्देश दिएको छ– जब राजनीतिक दलहरूले मुलुकको बृहत्तर स्वार्थभन्दा आफ्नै दलगत र नेतृत्वगत स्वार्थलाई प्राथमिकता दिन्छन्, तब जनअसन्तुष्टि विस्फोटको रूपमा प्रकट हुन्छ । जेन–जी आन्दोलन त्यही असन्तुष्टिको प्रतिफल हो । यसले स्थापित राजनीतिक मानकहरूलाई चुनौती दिँदै केवल भोटको राजनीतिमा सीमित दलहरूलाई पछाडि पारेर राजनीतिक दलभित्रकै तेस्रो–चौथो तहका युवाहरूलाई नेतृत्वमा उभ्याउने नयाँ परिदृश्य सिर्जना गरेको छ । पुराना राजनीतिक दलहरूका लागि यो आत्मसमीक्षाको घडी हो । नीति, नेतृत्व र संगठनात्मक संरचनामा गहिरो पुनर्विचार नगरी उनीहरूले आफ्नो सान्दर्भिकता जोगाउन सक्ने छैनन् । संगठनात्मक रूपमा अझै स्थायित्व नपाएको नयाँ शक्तिले जनमतलाई दीर्घकालसम्म कायम राख्न सक्छ कि सक्दैन भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ ।
राजनीतिमा करिब २०–३० वर्षको उमेरले खाडल सिर्जना गरेको छ, जुन दीर्घकालीन रूपमा चुनौतीपूर्ण हुन सक्छ
डा. मिलन श्रेष्ठ, राजनीतिशास्त्रका उपप्राध्यापक
नेपालको इतिहासमा प्रत्येक दशकजसोमा देखिने राजनीतिक रूपान्तरणको प्रवृत्ति पुनः पुष्टि गर्दै जेन–जी आन्दोलनले राजनीति र शासनसत्तामा पुस्तान्तरणको प्रक्रिया अघि बढाएको छ । यसलाई सबै राजनीतिक शक्तिहरूले गम्भीर शिक्षाका रूपमा लिनु आवश्यक छ । पुस्तान्तरण भए पनि उमेर समूहबिच असन्तुलन छ । लामो समयसम्म ६०–७० वर्ष उमेर समूहको वर्चस्व रहेको सत्तामा अहिले २५–४० वर्षका युवाहरू अग्रपंक्तिमा पुगेका छन् । ४० वर्षमुनिको नेतृत्व स्थापित हुनु सकारात्मक भए पनि ४०–६० वर्ष उमेर समूहका अनुभवी नेताहरू सत्ता प्रक्रियाबाट बाहिरिने जोखिम देखिएको छ । यसले राजनीतिमा करिब २०–३० वर्षको उमेरले खाडल सिर्जना गरेको छ, जुन दीर्घकालीन रूपमा चुनौतीपूर्ण हुन सक्छ ।