इन्धन जोगाउन काठमाडौं महानगरपालिका ‘कार पुलिङ’ प्रणालीमा जाने
इन्धन कटौतीपछि काठमाडौं महानगरपालिकाले अधिकारीहरूलाई उपलब्ध गराएको सवारीसाधनलाई आलोपालो चलाउने प्रणाली ‘कार पुलिङ’ कार्यक्रम कार्यान्वयनमा ल्याएकाे छ । इन्धन अभावबाट सिर्जना भएको अवस्था र यसले दीर्घकालमा पार्न सक्ने नकारात्मक प्रभाव घटाउन यस्तो निर्णय गरिएको कार्यवाहक प्रमुख सुनिता डंगोलले बताइन्।
‘विश्वभर इन्धनको अभाव छ । यसवेला पहिलेकै अवस्थामा सवारीसाधन सञ्चालन गर्दा अत्यावश्यक काम र सेवाका लागि आवश्यक पर्ने इन्धन पनि नपाइने हुन सक्छ । यस्तो समस्या आउन नदिन इन्धनको प्रयोगलाई घटाउनुको विकल्प छैन । यसकारण इन्धनजन्य सम्भावित समस्या आउन नदिन ‘कार पुलिङ’ कार्यक्रम कार्यान्वयनमा ल्याएका हौँ,’ डंगोलको भनाइ छ ।
प्रधानमन्त्रीको बैंक ब्यालेन्स एक करोड ४६ लाख, श्रीमतीसँग १९० तोला गहना
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्पत्ति विवरण सार्वजनिक गर्दै बैंक खातामा एक करोड ४६ लाख रुपैयाँ रहेको खुलाएका छन्।आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार बालेनको आम्दानीको स्रोत सामाजिक सञ्जाल हो। उनको आम्दानीको स्रोतमा फेसबुक, युट्युब, टिकटक, स्पोर्टिफाई र आइट्युन्स उल्लेख छ।यसैगरी, उनकी श्रीमती सबिना काफ्लेको नाममा १९० तोला गहना छ। उक्त गहनाको स्रोतमा ‘पैतृक’ उल्लेख छ।
कांग्रेसले ४ वैशाखमा संसदीय दलको नेता चयन गर्ने
नेपाली कांग्रेसले आगामी वैशाख ४ गते संसदीय दलको नेता चयन गर्ने भएको छ। सहमहामन्त्री प्रकाश स्नेही रसाइलीको संयोजकत्वमा गठित निर्वाचन समितिले २ वैशाखमा निर्वाचन कार्यतालिका प्रकाशित गर्ने र ४ वैशाखमा निर्वाचन गर्ने निर्णय गरेको हो।संयोजक रसाइलीका अनुसार दलको नेता चयनका लागि सर्वसहमतिको प्रयास गरिनेछ। सहमति नजुटे प्रतिस्पर्धाका आधारमा नेता चयन गरिनेछ। निर्वाचन समितिमा राजु कटुवाल र मुना भुसाल सदस्य छन्।
संसदीय दलको नेताका लागि नेता अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे प्रमुख दाबेदार मानिएका छन्। मुख्य दाबेदार नेता केसी र आङ्देम्बे दुवै समानुपातिक सांसद हुन् । प्रत्यक्ष निर्वाचितलाई दलको नेता बनाउनुपर्ने तर्क पनि कांग्रेसमा उठेको छ । मोहन आचार्य, भरत खड्का, निस्कल राईलगायतको पनि चर्चा छ ।
ललितपुर क्षेत्रका सार्वजनिक स्थानमा धूम्रपान निषेध गरिँदै
ललितपुरका सार्वजनिक स्थानहरूमा धूम्रपान सेवन गर्न निषेध गरिने भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय र ललितपुर महानगरपालिकाको संयुक्त प्रयासमा ललितपुर क्षेत्रका सार्वजनिक तथा खुला स्थानहरूमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन र बिक्री–वितरण निषेध गर्न थालिएको हो।
सुर्तीजन्य पदार्थ नियमन र नियन्त्रण गर्ने ऐन, २०६८, लाई कार्यान्वयन गर्न धूम्रपान सेवन तथा सुर्तीजन्य पदार्थ बिक्री–वितरणलाई कडाइ गर्न लागिएको जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले जानकारी दिए। सुर्तीजन्य पदार्थ नियमन र नियन्त्रण गर्ने ऐन, २०६८, ले सार्वजनिक स्थानहरूमा धूम्रपान बिक्री–वितरण तथा सेवन निषेध गरेको छ। तर, उक्त व्यवस्था कार्यान्वयन हुन सकिरहेको छैन। काठमाडौं महानगरपालिकाले पनि गत भदौदेखि सार्वजनिक स्थानहरूमा धूम्रपान निषेध गरे पनि अनुगमन नहुँदा कार्यान्वयन हुन सकिरहेको छैन।
जनस्वास्थ्य कार्यालय ललितपुर प्रमुख डा. गेलालका अनुसार प्रमुख जिल्ला अधिकारी, महानगरपालिका, गोदावरी र महालक्ष्मी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित एक साताअघि बैठक बसेर सार्वजनिक स्थानमा सुर्तीजन्य बिक्री–वितरणदेखि धूम्रपान रोक्नेसम्मको निर्णय भएको थियो। सो निर्णय कार्यान्वयन गर्नका लागि जनस्वास्थ्य कार्यालयले नगर प्रहरीको सहायतासमेत माग गरेको छ। सुरुमा दुई महिना जनचेतना र सूचना जारी गरिने छ। त्यसपछि जरिवाना तिराइनेछ।
उद्योगमन्त्री गौरी कुमारीसँग १८० तोला सुन
उद्योगमन्त्री गौरी कुमारी यादवले आफूसँग एक सय ८० तोला सुन रहेको विवरण सार्वजनिक गरेकी छिन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार सर्वाधिक सुन हुने मन्त्रीमध्ये उनी रहेकी छिन्। व्यापार गरेर सो सुन जोडेको उनको दाबी छ।
त्यस्तै, काठमाडौंमा एउटा घर तथा अन्य ६ ठाउँमा उनको जग्गा छ। केही जग्गा बिग मार्टलाई लिजमा दिएर मासिक ९० हजार कमाई हुने गरेको पनि उनको सम्पत्ति विवरणमा उल्लेख छ ।
गृहमन्त्रीको सम्पत्तिः तीन ठाउँमा जग्गा, साढे चार करोडको सेयर, ८९ तोला सुन
गृहमन्त्री सुधन गुरुङको तीन जिल्लामा जग्गा रहेका विवरण सार्वजनिक भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार उनको धनकुटामा १९ रोपनी जग्गा छ।
त्यस्तै, चितवनमा ३० कट्ठा र गोरखामा २२१ रोपनी जग्गा छ। यसमध्ये धनकुटाको जग्गा मात्र आफूले खरिद गरेको उनले उल्लेख गरेका छन्। आफ्नो घर भने नभएको उनको सम्पत्ति विवरणमा उल्लेख छ। बैंक खातामा करिब ६० लाख रहेको छ। विभिन्न कम्पनीमा उनको करिब साढे चार करोड रुपैयाँबराबरको सेयर लगानी छ।
अर्थमन्त्री डा.वाग्लेका चारवटा घर र अपार्टमेन्ट, साढे चार करोडको सेयर
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चारवटा घर तथा अपार्टमेन्ट रहेको विवरण सार्वजनिक गरेका छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार उनको ललितपुरमा दुई ठाउँमा तथा काभ्रेपलाञ्चोकको धुलिखेल र तनहुँको बन्दीपुरमा घर छ। ती घर १२ करोड ७५ लाख रुपैयाँमा खरिद गरिएको उनको उल्लेख गरेका छन्। त्यस्तै, अन्य पाँच ठाउँमा उनको जग्गा छ ।
त्यस्तै, चार करोड ५० लाख रुपैयाँबराबरको सेयर रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ। ४५ तोला सुन रहेको उनले सम्पत्ति विवरणमा खुलाएका छन्। बैंक खातामा एक करोड ९० लाख मौज्दात तथा चार करोड रुपैयाँभन्दा धेरै कर्जा लिएको विवरण सम्पत्ति विवरणमा उल्लेख छ।
प्रधानमन्त्रीको बैंक ब्यालेन्स एक करोड ४६ लाख, श्रीमतीसँग १९० तोला गहना
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्पत्ति विवरण सार्वजनिक गर्दै बैंक खातामा एक करोड ४६ लाख रुपैयाँ रहेको खुलाएका छन्।आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार बालेनको आम्दानीको स्रोत सामाजिक सञ्जाल हो। उनको आम्दानीको स्रोतमा फेसबुक, युट्युब, टिकटक, स्पोर्टिफाई र आइट्युन्स उल्लेख छ।
यसैगरी, उनकी श्रीमती सबिना काफ्लेको नाममा १९० तोला गहना छ। उक्त गहनाको स्रोतमा ‘पैतृक’ उल्लेख छ।
प्रशासनिक पुनर्संरचनाका लागि सुझाव संकलन गर्दै बागमती प्रदेश सरकार
बागमती प्रदेश सरकारले प्रशासनिक संरचना घटाएर कार्यसम्पादन प्रभावकारी बनाउने उद्देश्यसहित ‘प्रादेशिक प्रशासनिक पुनर्संरचना’ प्रक्रिया तीव्र बनाएको छ। आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटअघि नै प्रशासनिक ढाँचा टुंग्याउने गरी सरकारले काम अघि बढाएको हो।
सार्वजनिक खर्च कटौती, विकास बजेटको प्रभावकारी उपयोग र सुशासनसहित गुणस्तरीय सेवा प्रवाह सुनिश्चित गर्न प्रदेश सरकारले पुनर्संरचनाको प्रक्रिया अगाडि बढाएको बताएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन पौडेलको संयोजकत्वमा गठित उच्चस्तरीय निर्देशक समितिले यससम्बन्धी कामलाई तीव्रता दिएको छ।
समितिमातहत रहेको विज्ञ टोलीको प्रतिवेदनलाई अन्तिम रूप दिन मन्त्रालयहरू र प्रदेश सभाअन्तर्गतका विषयगत समितिहरूसँग सुझाव माग गरिएको मन्त्री पौडेलले जानकारी दिए। उनका अनुसार १५ दिनभित्र सुझाव पठाउन पत्राचार गरिएको छ। मन्त्री पौडेलले वैशाख ७ सम्म सुझाव प्राप्त भएपछि अन्तिम निर्णय लिने बताए।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकारले हाल रहेका १४ वटा मन्त्रालयलाई घटाएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ८ वटामा सीमित गर्ने तयारी गरेको छ। यस विषयमा सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेबिच सहमति भइसकेको दावी गरिएको छ। पूर्वसचिव विमल वाग्लेको संयोजकत्वमा गठित विज्ञ समितिले गत फागुन २७ मा बुझाएको प्रतिवेदनमा मुख्यमन्त्री कार्यालयसहित ८ मन्त्रालय पर्याप्त हुने उल्लेख गरिएको थियो। सोही प्रतिवेदनका आधारमा सरकारले करिब ७०१ कर्मचारीको दरबन्दी कटौती गर्ने प्रस्ताव पनि अघि सारेको छ।
स्वास्थ्यमन्त्रीद्वारा वीर र गंगागाल अस्पतालमा आकस्मिक अनुगमन
स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले आइतबार वीर अस्पताल र सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको आकस्मिक अनुगमन गरेकी छिन्। अस्पतालले प्रवाह गर्ने सेवाको वास्तविक अवस्था र सर्वसाधारणले भोग्नुपरेका सास्तीबारे जानकारी लिन मन्त्री महतो पूर्वजानकारीबिना अस्पताल पुगेकी हुन्। अनुगमनका क्रममा उनले अस्पतालको सरसफाइ, बिरामीको चाप,लाइन, औषधि अभाव तथा स्वास्थ्य बिमामा देखिएका जटिलताका विषयमा जानकारी लिएकी छिन्।
नागरिकहरूले स्वास्थ्य बिमाको लाभ लिन भोग्नुपरेका झन्झट र सामान्य औषधोपचारमा पनि घण्टौँ कुर्नुपर्ने समस्याका बारेमा मन्त्रीले चासो व्यक्त गरेको उनको सचिवालयले जनाएको छ। मन्त्री मेहताले अस्पतालको सरसफाईमा ध्यान दिन, बिरामीको पालो व्यवस्थापनलाई प्रविधिमैत्री र सहज बनाउन तथा औषधि आपूर्तिमा देखिएका अवरोध तत्काल हटाउन अस्पताल प्रशासन र सम्बन्धित पदाधिकारीहरूलाई निर्देशन दिएकी छिन्।
`जनताले सरकारी अस्पतालमा सेवा पाउँदा झन्झट होइन, राहत महसुस गर्नुपर्छ,’ उनले भनिन्। अस्पतालमा देखिएका समस्या समाधानका लागि मन्त्रालयले आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेकी छिन्।