मकवानपुर प्रहरीले हेटौँडामा अवैध रूपमा सञ्चालन गरिएको घरेलु मदिरा उद्योगमा छापा मारेर ठूलो परिमाणमा मदिरा र कच्चा पदार्थसहित चारजनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार दिउँसो करिब ४ बजे हेटौँडा उपमहानगरपालिका– १ चौकिटोलस्थित जगतबहादुर घिसिङको जस्ताले बनेको घरमा अवैध रूपमा लोकल मदिरा उत्पादन भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो।
खानतलासी गर्दा ठूलो परिमाणमा मदिरा उत्पादन भइरहेको भेटिएपछि उद्योग सञ्चालकसहित चारजनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले मदिरा भट्टी सञ्चालक हेटौँडा–१ चौकिटोलका करिब ६० वर्षीय जगतबहादुर घिसिङलाई नियन्त्रणमा लिएको छ।
साथै, सोही भट्टीमा काम गर्ने कामदार चितवन कालिका नगरपालिका–७ का २३ वर्षीय सुजन तामाङ, बारा कोल्बी नगरपालिका–८ का १९ वर्षीय अजय लामा र चितवन कालिका नगरपालिका–९ का ३४ वर्षीय सुरेश प्रजालाई पनि प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले करिब ४ हजार लिटर तयारी मदिरा र करिब ५ हजार लिटर मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरेको छ। यस्तै आठ वटा ग्यास सिलिन्डर, दुई वटा भट्टे चुलो, दुई बोरा चामल तथा मदिरा उत्पादनमा प्रयोग हुने प्लास्टिकका ड्रम र बोतलहरू समेत बरामद गरिएको प्रहरीले जनाएको छ।