अनु रायको हत्याका दोषी मन्दीपकुमार यादव अझै फरार

आइतबार, २९ चैत, २०८२
डिजिटल संस्करण

महोत्तरीको महोत्तरी गाउँपालिका– ४, रतवारानिवासी २२ वर्षीया अनु रायको हत्यामा दोषी ठहर भएर जिल्ला अदालत महोत्तरीबाट जन्मकैदसहित ५० हजार क्षतिपूर्तिको सजाय पाएका जिल्ला सर्लाही चक्रघाटा गाउँपालिका– ९, खोरियानिवासी मन्दीपकुमार यादव अझै फरार छन् ।

अनुको प्रेमीसमेत रहेका यादवले ०८१ असोज २२ गते राति बर्दीबास नगरपालिका– ५, टुटेश्वरको जंगलमा उनको हत्या गरी फरार भएका थिए । हत्याको केही समयपछि पक्राउ परेका यादव पुर्पक्षका लागि सोही वेला थुनामा रहेकोमा  जेन–जी आन्दोलनको क्रममा जलेश्वर कारागारबाट अन्य कैदीबन्दीसँगै भागेका थिए । सो पछि हालसम्म प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन ।

छोरीको हत्या भयो, हत्यारा समातियो, तर अदालतको फैसला नआउँदै आन्दोलनको आडमा हत्यारा कारागारबाट भागेपछि हालसम्म पक्राउ नपरेपछि अनुका बुबाले समातिदिन आग्रह गरेका छन्। मृतक अनुका बुबा रामविनेश रायले हत्यारा सजायबाट भागेसम्म छोरीले न्याय नपाउने भएकाले हत्यारालाई खोजेर थुनामा हालिदिन आग्रह हुन् ।

यता जिल्ला प्रहरी कार्यालय महोत्तरीले आन्दोलनको समय कारागारबाट भागेका कैदीबन्दीहरूको खोजतलास तीव्र रूपमा भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी निरीक्षक विश्वम्भरनाथ साहले बताए। उनले प्रायजसो दैनिक यस्ता फरारहरू पक्राउ गरिरहेको बताउँदै जुनसुकै मुद्दामा फरार रहेकाहरू आफूहरूको प्राथमिकतामा रहेको बताए । 

सुझावित समाचार