वैदेशिक रोजगारीका नाममा ठगी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। आकर्षक तलबसहित बुल्गेरिया पठाइदिने प्रलोभन देखाएर उनीहरूले रु. ९१ लाख ९० हजार ठगी गरेको आरोप छ।
पक्राउ पर्नेमा सल्ल्यान शारदा नगरपालिका–४ का ३२ वर्षीय दीपेन्द्र कुँवर र बनगाड कुपिन्डे नगरपालिका–८ का २४ वर्षीय घने बुढा रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
कार्यालयका प्रवक्ता रामेश्वर कार्कीका अनुसार आरोपितहरूले विदेश पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट ठुलो रकम असुलेका थिए। पक्राउ परेका दुवैलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।