२१ फागुनमा सम्पन्न निर्वाचनबाट दुईतिहाइ नजिकको जनमत हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसदलाई अभिमुखीकरण तालिम दिने रचनात्मक शैलीको सुरुवात योगबाट गर्यो । उक्त पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री बनेलगत्तै सयबुँदे सुधार कार्यक्रम घोषणा गर्दै त्रिहत्तरौँ नम्बरमा आरोग्य पर्यटन समावेश गरेका छन् । जेन–जी आन्दोलनका क्रममा भएका घटनाका सम्बन्धमा जाँचबुझ गर्न अन्तरिम सरकारबाट गठित कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने पहिलो निर्णय गर्दै वर्तमान सरकार अघि बढेको छ ।
दुईतिहाइनजिकको जनमत प्राप्त सत्तारुढ पार्टीले अध्यात्मको महत्वपूर्ण पाटो योगलाई परिवर्तनको अस्त्र देखेको छ । जाँचबुझ आयोग बन्ने, प्रतिवेदन पेस पनि हुने तर कार्यान्वयन त के सार्वजनिकसमेत नगर्ने विगतको परम्परा तोड्दै वर्तमान सरकारले कामको थालनी नै प्रतिवेदन कार्यान्वयनबाट गरेको छ । यसले सुशासनका लागि जेन–जी पुस्ताले गरेको बलिदानी आन्दोलन जनताले अनुमोदन गर्दै देशमा सुशासन कायम गर्ने जिम्मेवारी आफुलाई सुम्पिएको तथ्य राष्ट्रिय स्वतन्त्र पार्टीले अनुभूत गरेको बुझ्न कठिन छैन ।
सरकारले आरोग्य पर्यटनअन्तर्गत पूर्वीय दर्शन, ध्यान, योग र प्राकृतिक चिकित्सा भन्ने खुलाएको छ कोष्ठभित्र, तर मूल कुरा अध्यात्म छुटेको देखियो । अध्यात्म बृहत् कुरा मात्र होइन, स्वयं महाविज्ञान र भौतिक विज्ञानको समेत जननी हो । पूर्वीय दर्शन विभाजित छ । अध्यात्म ऋषिहरूले आफ्नो शरीर प्रयोगशाला बनाई लामो आत्मानुसन्धान र धेरै कोणबाट परीक्षण गर्दा प्राप्त भएको स्वअनुभूति हो । अध्यात्मको उद्देश्य मानिसको मूल स्वभाव चिनाउँदै आत्मानुभूति गराउनु हो ।
आत्मानुभूतिको बोध भएपछि मानिस स्वतस्फूर्त निष्काम कर्म गर्छ र गलत कर्मको फलको रूपमा आइलाग्ने दुःखबाट मुक्त हुन्छ । अध्यात्म सिक्का हो भने योग र ध्यान त्यो सिक्काका दुई पाटा हुन् । आरोग्य पर्यटनका लागि योग महत्वपूर्ण छ, तर आत्मज्ञानविना योग अर्थपूर्ण हुन सक्दैन । अध्यात्म र योगका बारेमा धेरै भ्रम सिर्जना गरिएको छ समाजमा । त्यसमाथि आत्मज्ञानसँग भेट गराइदिने अध्यात्म नै छुटेको र पूर्वीय दर्शन र प्राकृतिक चिकित्सासँग योग जोडेर द्विविधा उत्पन्न गराएको हुँदा अध्यात्म र योगको अर्थ र महत्वमा लेख केन्द्रित छ ।
योगको अर्थ
सामान्य अर्थमा योग भनेको मिलन वा जोड्नु हो । दार्शनिक दृष्टिकोणले अहं आत्मामा स्थापन वा प्रतिष्ठित हुनु योग हो । प्रकृतिको रेखाको एक छेउमा अहं र अर्कोमा आत्मा छ भन्छन्, भारतीय आध्यात्मिक गुरु आचार्य प्रशान्त । स्वामी चिन्मयानन्दले मिथ्यासँग वियोग र सत्य (आत्मा) सँग संयोग नै योग हो भनी व्याख्या गरेका छन् । ऋषि पतञ्जलिले योगःश्चित्तवृत्तिनिरोधः (चित्त शान्त पार्ने) भनेर योगको परिभाषा गर्दै योगका आठ अंग यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि हुन्छन् भन्दै योगको संहिताकरण गरे, जसलाई पतञ्जलि योग भनिन्छ । आठ अंग बताएर योग एउटा मात्र हुन्छ भन्ने जनाए ।
भागवत गीता अध्याय पाँच श्लोक २६ मा काम र क्रोधले रहित संयम चित्त भएको तथा आत्मा जान्नेलाई सबैतर्फ मोक्ष विद्यमान छ, २७ मा बाह्य विषयलाई बाहिरै राखेर आँखाको दृष्टिलाई आँखिभौँको बिचमा केन्द्रित गर्दै प्राण वायु (भित्र आउने सास)र अपान वायु (बाहिर फालिने सास) लाई सम बनाएर, २८ मा इन्द्रियहरू, मन र बुद्धिलाई जसले संयमित गरेको छ, जो इच्छा, भय र क्रोधले रहित छ त्यस्तो व्यक्ति सधैँ मुक्त हुन्छ भन्ने उल्लेख गरी योगले चित्त शुद्ध राख्दै कामोत्तेजना, भय र क्रोधरहित बनाएर रोगको स्रोत नै बन्द गरी मानिसलाई अयोग्यता प्रदान गर्ने खुलासा गरेको छ ।
अध्याय ६ श्लोक १३ र १४ मा शरीर, टाउको र घाँटीलाई समान र अचल राखी स्थिर हुँदै नाकको टुप्पोलाई सीधा भएर हेर्दै अन्तस्करण (मन र बुद्धि) शान्त, निर्भय र ब्रह्मचर्य व्रतमा (कर्ता भोक्ताको भाव नराख्नु) स्थित भएर मनलाई आत्मामा लगाएर आत्मा नै परम लक्ष्य सम्झेर बस्ने भनी योगासनको विधि निर्दिष्ट गरिएको छ । प्रविधिको विकास गरी शिखर चुमेको विज्ञानले मनोविकारको उपचार नभेट्टाएको र गीताको यो उपदेशले मानसिक उपचार गर्दै कर्मयोगी बनाएर सिंगो मानवजातिको कल्याणमा समर्पित गरिदिने हुँदा पूर्वीय दर्शनको परिस्कृत, परिमार्जित गर्दै रचिएको भागवत गीता विश्र्वमै श्रेष्ठ ज्ञान ठहरिएको छ ।
योग दर्शन अध्यात्मको केन्द्रीय विषय हो । जसको उद्देश्य आत्मज्ञानको साधनले कर्ता सुधार्ने हो । सम्पूर्ण प्राणीमा विराजमान एउटै आत्मातत्वको दर्शन (जान्ने) गराउँदै निष्कामकर्मी बनाएर दुःखको कारण हटाइदिने हो ।
आत्मज्ञान नबुझी योगको अर्थ र महत्व बुझिँदैन । आत्मज्ञान बुझ्न अहं बुझ्नुपर्छ ।
अहं भनेको शरीरबाट उत्पन्न हुने एउटा भाव, जसले प्रकृति जड हो, म प्रकृतिभन्दा भिन्न चेतन हुँ भन्ने ठान्छ, ‘म र मेरो’को रूपमा प्रकट हुन्छ र असुरक्षा र अपूर्णता महसुस गरेको हुन्छ । त्यही अहंले प्रकृति जड हो र म पनि प्रकृतिकै अंश जड चेतन हुँ भन्ने महसुस गर्नासाथ एक झट्कामा अहं आत्मामा प्रतिष्ठित हुन्छ भन्ने दाबी गर्छन् आचार्य प्रशान्त । आत्मा इन्द्रियहरू, मन र बुद्धिभन्दा परको निर्गुण तथा निराकार हुनाले पक्रिन सकिन्न । त्यसैकारण अहं र आत्माको सम्बन्धको विज्ञान अध्यात्ममा भ्रम सिर्जना गरिएको छ ।
योग र अध्यात्मका भ्रम
गीता अध्याय ३ श्लोक ४३ मा मनको केन्द्रमा अहं हुन्छ, अहंको क्षेत्र हो मन, केन्द्रले क्षेत्र चलाउँछ, मन बदलेर अहं बदलिन्न । अहं बदले मन बदलिन्छ भनेको छ । यसविपरीत मन बदलेर सकारात्मक बनाउनु नै योग हो भनेर योगको ओज घटाइएको छ । योगासनलाई नै योग हो भन्दै व्यायाम र काल्पनिक धारणामा ध्यान गराएर आत्माको अवधारणाबाट विमुख पारी मानिस जम्मा गरी बाजा बजाएर नाचगान गरे विवाह सम्पन्न हुन्छ बेहुला चाहिँदैन जस्तो भ्रम सिर्जना गरिएको छ । अर्कोतर्फ शरीरभित्र अंगुष्ठाबराबरको जीवात्मा हुन्छ, बाहिर निस्केपछि मानिस मर्छ, धार्मिक कर्मकाण्ड गरे स्वर्गमा नगरे नर्कमा जान्छ भन्ने डर देखाइएको छ । आध्यात्मिक व्यक्ति स्वार्थी र असामाजिक हुन्छ भनिएको छ ।
योग र अध्यात्मका भ्रमको दुष्प्रभाव
मन र बुद्धि सुगठित पारी शरीर सत्कर्ममा सदुपयोग गराउने अध्यात्म र योगलाई शरीरको मात्र सेवामा लगाइदिएकाले अहं बढाएको छ । शरीर प्राथमिक र सकारात्मक कुरा, मन र बुद्धिको उपयोग अध्यात्मको सुरुवाती चरणमा हुन्छ पनि । तर, मन र बुद्धिमा सीमित हुने हो भने सुखदुःखको गोलचक्करमा फसिन्छ । सुखदुःख क्रस गरेर आनन्दमा पुग्ने उचाइको नाम हो अध्यात्म । आनन्दमा पुग्नु नै मुक्ति हो । मुक्ति कुनै गन्तव्य होइन, एक निरन्तर अवस्था हो । त्यो अवस्थामा टिकिरहन दैनिक घरको धुलो कुचोले बढारेझैँ नियमित योग र ध्यानको साधना गर्नुपर्छ ।
योगलाई आत्मातिर केन्द्रित नगरी शरीर र मनमा सीमित राखे साधकलाई झनै अहंकारी बनाउँछ । यो तथ्यको खुलासा योगी डाक्टर विकासानन्दबाट भएको छ : द जोगिनी सो (युट्युबमा)आठौँ अंकमा । सकारात्मक कुरामा टेकेर आउँछ अहं भन्ने आफ्नो भनाइ राख्दै जिद्दु कृष्णमूर्ति र ओशो रजनिशको भनाइसमेत उल्लेख गरेका छन् विकासानन्दले । जीवित छँदा सदुपयोग गर्नुपर्ने धनसम्पत्ति मरेपछिको मुक्तिका लागि व्यर्थै खर्च गराई दिएर धेरैलाई गरिब बनाइएको र केही टाठाबाठाले कमाउने माध्यम बनाएर एकातिर सच्चा अध्यात्मको साधना गरेर व्यक्ति र समाज सभ्य र भव्य बन्न वञ्चित रहेको छ भने अर्कोतिर भ्रष्टाचार बढाएर दोहोरो मारमा पारेको छ ।
दुःख मुक्त गर्ने अध्यात्म दुःख बढाउने कारण बनेको देखेर सिद्धार्थ गौतमले चार आर्य सत्य दुःख, दुःखको कारण, कारणको निवारण र निवारणका आष्टांगिक मार्ग सम्यक् दृष्टि, सम्यक् संकल्प, सम्यक् वाणी, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि पत्ता लगाउँदै अहं आत्मा होइन, अनात्मा हो भन्ने घोषणा गरेका थिए ।
आत्मा कुनै वस्तु वा एकाइ होइन जागरुकता, सजगता, चैतन्यता, समता, विवेकशीलता, कारुणिकता, प्रेम, बोध, सत्य हो भन्ने बुझाउन अवरोध पु¥याएको छ भ्रमले । आत्माद्वारा नै मानिसको शरीर, मन र बुद्धिलाई प्रकाश मिल्छ । आत्माको स्वभाव आनन्द भएकाले मानिसको स्वभाव पनि आनन्द नै हो । आनन्दमा स्थित हुनु नै आरोग्यता हो । आरोग्य भनेको शरीरमा रोग नलागेको अवस्था मात्र होइन । शारीरिक, मानसिक, आध्यात्मिक रूपमा र सामाजिक रूपमा समेत पूर्ण स्वस्थ रहँदै सम्पूर्ण जीव र जगत्सँग सुमधुर सम्बन्ध गाँस्दै सत्यको पोषण गर्नु हो भन्ने कुरा छायामा पा¥यो ।
नौवटा पूर्वीय दर्शनमध्ये सातवटाले आत्माको अवधारणालाई स्विकार्छन् । बाँकी दुईवटामध्ये बौद्ध दर्शनले शरीरबाट उत्पन्न चेतनाको प्रवाह हो आत्मा, छुट्टै आत्मा हुँदैन भन्छ भने चार्वाक दर्शनले मात्र आत्माको अवधारणालाई खारेज गरेको छ । तर, गन्धरहित गहुँ, अंगुर र गुणलाई विशेष विधिले कुहाएपछि गन्धयुक्त रक्सी बनेझैँ वा पानको पात, कत्था र सुपारीमा नदेखिने रातो रंग चुनासहित पान बनाउँदा रातो रंग निक्लिएजस्तै मानव शरीरको रसायनिक प्रक्रियाले भौतिक शरीरबाटै चेतना आउँछ भनेर चेतना स्विकारेको छ ।
न्युरो साइन्स आत्माको अवधारणाको नजिक पुगेको छ । आगामी केही दशकमा विज्ञानले ब्रह्माण्डको नाप लिएपछि आत्माको रहस्योद्घाटन गर्ने नै छ । आध्यात्मिक ग्रन्थले पनि चैतन्यता नै आत्मा हो भनेका छन् । मेडिकल साइन्सले पनि रोगको उपचारमा योगको सहारा लिएको छ आज । विज्ञानले समेत पछ्याइरहेको आत्माको अवधारणालाई ओझेलमा पार्दै म शान्त छु, खुसी छु, स्वस्थ छु भन्ने उच्चारण गर्दै त्यसमै ध्यान दिँदै आँखा चिम्लेर बसे स्वजागरण हुन्छ भन्ने मान्यता अघि सारिएको छ । अध्यात्म मान्ने कुरा होइन, व्यक्ति स्वयंले आफ्ना सबल र दुर्बल पक्ष निरीक्षण गरी जान्ने कुरा हो । जानेपछि आफ्नो मूल स्वरूप आत्माको आनन्द स्वभावले दुर्बल पक्ष स्वतस्फूर्त हटाउँछ । भागवत गीताको मर्मअनुसार योग साधना नगराई भ्रम सिर्जना गरेर व्यक्ति र समाजलाई शब्द उच्चारणमा ध्यान गर्ने मान्यताको बन्धनमा पारिएको छ ।
प्रशिक्षकको हैसियतले पंक्तिकारसमेत सहभागी भएको जीवन विज्ञान संस्थाले दुई वर्षअघि लुम्बिनीमा गरेको विराट् चक्र विज्ञान कार्यक्रममा संस्थाका संस्थापक र संरक्षक गुरुद्वय रमेश नेपाल र एलपी भानु शर्माले लुम्बिनी घोषणाको रूपमा अघि सारेको आरोग्य पर्यटनको एजेन्डा संयुक्त राष्ट्र संघमा समेत उठाई संयुक्त राष्ट्र संघले अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने निर्णय गरेको छ । वर्तमान सरकारले सयबुँदे कार्यसूचीमा आरोग्य पर्यटन समेट्दै सन् २०२७ लाई आरोग्य पर्यटन वर्ष घोषणा गरेको छ । यो शुभ संकेत र स्वागतयोग्य छ ।