अमेरिका–इरान युद्धविराममा पाकिस्तानको मौन कूटनीति

शुक्रबार, २७ चैत, २०८२
डिजिटल संस्करण
  • युद्धविराम दिगो सम्झौतामा परिणत हुने–नहुने निश्चित नभए पनि इस्लामावादका लागि युद्धविराम एक महत्वपूर्ण कूटनीतिक उपलब्धि हो 

संयुक्त राज्य अमेरिका र इरानले दुई साताको युद्धविराम पालना गर्न सहमत भएको घोषणा हुनुअघि दुई साताभन्दा बढी समयदेखि इस्लामावादले धेरै हदसम्म अदृश्य कूटनीतिलाई द्रुत गतिमा अगाडि बढाइरहेको थियो । पहिलो आक्रमणको केही दिनभित्रै पाकिस्तानी अधिकारीले विभिन्न देशका राजधानीमा कूटनीतिक च्यानल सक्रिय गर्न थालेका थिए । सार्वजनिक रूपमा तटस्थता कायम राख्दै पाकिस्तानले चुपचाप आफूलाई वासिंटन र तेहरानबिच पुलका रूपमा स्थापित गर्यो ।

‘अमेरिका–इरान शान्ति सहजीकरणको उच्च जोखिममा रहेका वेला पाकिस्तान किन अग्रपंक्तिमा रह्यो ?’ दक्षिण एसियाली मामिलाका वासिंटनस्थित विद्वान् माइकल कुगेलम्यान प्रश्न गर्छन् । बेइजिङले तेहरानसँग महत्वपूर्ण लाभ उठाएको उल्लेख गर्दै उनी अगाडि भन्छन्, ‘सबै प्रमुख खेलाडीसँग बलियो सम्बन्ध, ह्वाइट हाउसबाट विश्वास, इरानसँग प्रत्यक्ष संलग्नता र चीनबाट निरन्तर सहयोग ।’

इस्लामावादसँग पनि शान्ति वार्ता पहलका लागि अगाडि बढ्ने बलिया कारण रहेको उनी बताउँछन् । ‘पाकिस्तान, विशेषगरी द्वन्द्वको असरका दृष्टिले जोखिममा छ । ऊ द्वन्द्वमा तानिन चाहँदैन र आफ्नो एजेन्सीलाई प्रभावशाली क्षेत्रीय अभिनेताका रूपमा प्रदर्शन गर्न रणनीतिक स्वार्थ राख्छ,’ उनी थप्छन् । उनले सामाजिक सञ्जाल एक्समा अगाडि थपे कि पाकिस्तानले ‘वर्षौंमा आफ्नो सबैभन्दा ठुलो कूटनीतिक जितमध्ये एक’ हासिल गर्यो । 

वासिंटनमा इरानी मामिलाका प्रख्यात विद्वान् भली नस्रले अर्को अप्रत्याशित आयामलाई जोड दिए । युद्धविरामबारे पाकिस्तानी प्रधानमन्त्री सेहबाज सरिफको पोस्टलाई रि–ट्विट गर्दै उनले उल्लेख गरेका छन्, ‘पाकिस्तानका प्रधानमन्त्रीले युद्धविराममा लेबनान पनि समावेश हुने बताएका छन् ।’ उनले अगाडि थपे, ‘इरानले पहिलेदेखि नै यो माग गर्दै आएको थियो, तर यो सधैँ अनौठो अधिकतम मागजस्तो देखिन्थ्यो । तर, अहिले वार्ताको टेबलमा छ भन्ने कुरा एकदमै अप्रत्याशित परिणाम हो ।’

पाकिस्तानको प्रयासको सबैभन्दा देखिने युद्धविराम प्रस्तावको चरण मार्च २९–३० मा आयो, जब पाकिस्तान, साउदी अरेबिया, इजिप्ट र टर्कीका विदेशमन्त्रीहरूले इस्लामावादमा तनाव कम गर्ने बाटो खोज्न बैठक गरे । विदेशमन्त्री इसाक दारको नेतृत्वमा भएका परामर्श थप सैन्य वृद्धि रोक्न र अमेरिका–इरान वार्ताका लागि एक रूपरेखा विकास गर्न केन्द्रित थिए ।

प्रस्तावमा इस्लामावादमा संरचित वार्ताको परिकल्पना गरिएको थियो । तत्काल वार्ता सफल नभएपछि केही पर्यवेक्षकले यो पहल असफल भएको निष्कर्ष निकाले । तथापि, वार्ता प्रयासबाट पाकिस्तान पछाडि हटेन । कूटनीतिक स्रोतहरूका अनुसार इस्लामावादले आफ्नो पहुँचलाई पछाडि सार्नुको सट्टा तीव्र बनायो ।

त्यसपछिका दिनमा प्रधानमन्त्री सेहबाज सरिफ र विदेशमन्त्री दारले वासिंटन, मस्को, बेइजिङ, प्रमुख युरोपेली राजधानीहरू, खाडी सहयोग परिषद्का देशहरू, टर्की, इजिप्ट र साउदी अरेबियामा रहेका एक दर्जनभन्दा बढी विश्वनेताहरू र वरिष्ठ अधिकारीहरूसँग कुरा गरे । औपचारिक वार्तातर्फ पहिलो चरणका रूपमा सीमित युद्धविराम सहमति निर्माण गर्नु उद्देश्य थियो ।

पाकिस्तानको सैन्य नेतृत्वले पनि यसमा भूमिका खेलेको थियो । सेना प्रमुख सैयद असिम मुनिरले राष्ट्रपति डोनाल्ड ट्रम्पलगायत वरिष्ठ अमेरिकी अधिकारीसँग कुराकानी गरेका थिए, जसले कूटनीतिक प्रयासलाई बलियो बनायो । यसका साथै, पाकिस्तानी अधिकारी इरानी समकक्षीसँग सम्पर्कमा रहे, जसमा इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्ससँग सम्बन्धित व्यक्ति पनि समावेश थिए ।

अप्रिलको सुरुवातसम्ममा इस्लामावादले युद्धविरामको ढाँचालाई तत्काल रोक्ने प्रस्ताव राख्यो, त्यसपछि वार्ताका लागि लगभग दुई साताको समयसीमा तय गरियो । यद्यपि, ढिलाइ जारी रह्यो र मतभेदहरू तीव्र रहे (विशेषगरी क्षेत्रीय सुरक्षा व्यवस्था र समुद्री पहुँचमा) । बढ्दो सैन्य र राजनीतिक दबाबले सम्झौताका लागि ठाउँ सिर्जना गर्यो । समयसीमा नजिकिँदै जाँदा र व्यापक क्षेत्रीय युद्धको डर तीव्र हुँदै जाँदा पाकिस्तानको प्रस्तावले गति लिन थाल्यो ।

अप्रिल ७ मा वासिंटन र तेहरानले दुई साताको युद्धविराम पालना गर्ने घोषणा गरे । ठुला आक्रामक कारबाही रोक्दै प्रत्यक्ष वा परोक्ष वार्ताको ढोका खोल्ने उनीहरूले घोषणा गरे । धेरै देशका अधिकारीले पाकिस्तानको निरन्तर मध्यस्थता– विशेषगरी एउटा पक्षसँग मात्र झुकाव नदेखाई सबै पक्षसँग कुरा गर्ने क्षमतालाई गतिरोध तोड्ने निर्णायक कारकको रूपमा श्रेय दिए ।

इस्लामावादको भूमिकालाई उसको अद्वितीय कूटनीतिक स्थितिले सक्षम बनाएको थियो, इरानसँग लामो र संवेदनशील सीमा साझा गर्दै संयुक्त राज्य अमेरिकासँग सम्बन्ध कायम राख्नु । उसले साउदी अरेबिया, टर्की र अन्य क्षेत्रीय पक्षसँग पनि राम्रो सम्बन्ध राख्छ । उनीहरूको समर्थन दुई देशबिचको तनाव न्यूनीकरणका लागि गति निर्माण गर्न आवश्यक सावित भयो ।

अर्को चरण अप्रिल १० मा इस्लामावादमा सुरु हुने अपेक्षा गरिएको छ, जहाँ प्रतिनिधिमण्डलले अझ दिगो व्यवस्थाको रूपरेखाको खोजी गर्नेछन् । अस्थायी युद्धविराम दिगो सम्झौतामा परिणत हुन्छ कि हुँदैन भन्ने कुरा तीव्र कूटनीतिक प्रयासमा निर्भर गर्छ । यद्यपि, इस्लामावादका लागि युद्धविराम पहिले नै एक महत्वपूर्ण कूटनीतिक उपलब्धि हो ।

(इकबाल डनका वासिंटन डिसीस्थित संवाददाता हुन्)
पाकिस्तानी समाचार संस्था डनबाट

 

सुझावित समाचार