नेपाल उद्योग वािणज्य महासंघको साधारणसभा तथा निर्वाचन स्थगित भएको छ । २२ चैतमा पेट्रोलियम ढुवानी व्यवसायी महासंघसहित सातवटा संस्थाले साधारणसभाविरुद्ध मुद्दा दायर गरेको थियो । सोउपर उच्च अदालत पाटनका न्यायाधीश खड्काबहादुर केसी र दीपक खनालको संयुक्त इजलासले बिहीबार अन्तरिम आदेश जारी गर्दै तत्काल निर्वाचन नगर्न भनेको हो । महासंघको ६०औँ वार्षिक साधारणसभा २९ चैतमा सुरु भई ३० चैतमा नयाँ कार्यसमितिका लागि निर्वाचन हुने कार्यतालिका थियो ।
निवेदनमाथि छलफलका क्रममा निवेदकका तर्फबाट अधिवक्ता जयलाल भण्डारी र प्रितम घिमिरेले पैरवी गरेका थिए भने विपक्षीका तर्फबाट वरिष्ठ अधिवक्ता हरिश्चन्द्र सुवेदी, लीलामणि पौडेल, खगेन्द्रबहादुर राउत तथा अधिवक्ताहरू दीपक घिमिरे, सुमनकुमार केसी र चन्द्रमणि निरौलाले बहस प्रस्तुत गरेका थिए । अदालतले यसअघि रिट निवेदनमा १६ फागुन ०८१ मा जारी गरेको परमादेशअनुसार आवश्यक निर्णय नगरी साधारणसभा आयोजना गरिएमा निवेदक पक्षलाई असर पर्ने देखिएको निष्कर्ष निकालेको छ । यसै आधारमा अदालतले सो मुद्दामा अन्तिम निर्णय नआएसम्म संस्थाको साधारणसभा नगर्नू–नगराउनू भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ अनुसार विपक्षीका नाममा अन्तरिम आदेश जारी गरेको हो ।
अदालतको आदेशपछि नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन समितिले अर्को सूचना नभएसम्मका लागि भन्दै निर्वाचनका सम्पूर्ण कार्यहरू स्थगित गरेको छ । महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले अदालतको आदेशपछि अब कसरी अघि बढ्ने भन्नेबारेमा छलफल गर्न शुक्रबार पदाधिकारीको बैठक बोलाएको बताए । ‘अदालतले आदेशका विषयमा भोलि पदाधिकारी बैठकका छलफल गर्छौँ, त्यसपछि एउटा एजेन्डा तयार गरेर कार्यसमितिमा लैजान्छौँ,’ उनले भने, ‘महासंघलाई बलियो र एकताबद्ध बनाउने गरी अघि बढ्नेछौँ ।’
महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले महासंघको इतिहासमा पहिलोपटक अदालतले साधारणसभा रोकेको भन्दै दुर्भाग्यपूर्ण भएको प्रतिक्रिया दिए । ‘अघिल्लोपटक कोभिडको कारण साधारणसभा सरेको थियो, त्यो विषम परिस्थिति थियो,’ उनले भने, ‘मलाई थाहा भएसम्म अदालतको आदेशका कारण पहिलोपटक चुनाव सर्ने भयो, यो राम्रो भएन ।’
एक वरिष्ठ उद्योगीले महासंघलाई निर्वाचनकेन्द्रित व्यक्तिगत स्वार्थ र ‘इगो’को चपेटामा पारिएको प्रतिक्रिया दिए । ‘महासंघमा मात्रै होइन, जुनसुकै संस्थामा पनि राजनीति हुनु स्वाभाविक हो, तर संस्थालाई नै दुर्घटनातर्फ लैजाने किसिमको राजनीति हुनु दुःखद छ,’ उनले भने, ‘निजी क्षेत्रको छाता संगठनमा दुई–तीन कार्यकालयता देखिन थालेका यस्ता विसंगति रोकिनुपर्छ ।’
के हो महासंघभित्रको विवाद ?
शेखर गोल्छा नेतृत्वको महासंघको अघिल्लो कार्यसमितिले १८ वटा वस्तुगत संघलाई सदस्यता दिने निर्णय गरेको थियो । महासंघले एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ, नेपाल यर्सागुम्बा संघ, एएसी ब्रिक उत्पादक संघ, नेपाल कागज उत्पादक संघ, ऊर्जा उत्पादक संगठन नेपाल, नेपाल किवी उत्पादक तथा व्यवसायी संघ, नेपाल बेसार संघ, नेपाल कोदो तथा फापर संघ, नेपाल छुर्पी व्यवसायी संघ, नेपाल ओखर उत्पादक तथा व्यवसायी संघ, नेपाल राष्ट्रिय पुस्तक विक्रेता तथा प्रकाशक संघ, नेपाल पुस्तक तथा तथा स्टेसनरी व्यवसायी महासंघ, नेपाल सुन्तला एवं कागती संघ, प्लास्ट नेपाल फाउन्डेसन, नेपाल सिगिङ बाउल संघ, नेपाल कृषि तथा पशुपक्षी व्यवसायी संघ र नेपाल वितरक महासंघलाई वस्तुगत संघको सदस्यता प्रदान गर्ने निर्णय गरेको थियो । तर, सदस्यता सिफारिस समितिको सिफारिसविनै ती संघलाई सदस्यता दिइएको भन्दै त्यसविरुद्ध नेपाल पोल एसोसिएसनले ११ चैत ०८१ मा उच्च अदालत पाटमा रिट दायर गर्यो ।
अदालतले १६ पुस ०८२ मा पुनः कार्यसमितिबाट निर्णय गराउन भन्दै रिट जारी गर्यो । तर, महासंघको निर्वाचन समितिले आसन्न निर्वाचनको मतादाता लिस्टमा ती १८ समितिको नाम उल्लेख नगरेपछि सात संस्थाले अदालतको अघिल्लो आदेशअनुसार कुनै निर्णय नगरी साधारणसभा गर्न लागेको भन्दै त्यसलाई रोक्न निवेदन दिए । सोही निवेदनमाथि छलफल गर्दै अदालतले निर्वाचन रोक्न अन्तरिम आदेश दियो ।