वनवाटिकाका नाममा डेढ करोड खर्च गरेपछि बल्ल डिपिआर र आइइईको तयारी

शुक्रबार, २७ चैत, २०८२
डिजिटल संस्करण
वनवाटिकाका नाममा डेढ करोड खर्च गरेपछि बल्ल डिपिआर र आइइईको तयारी

सहिद वनवाटिकाका लागि बनाइएको प्रवेशद्वार

झापाको दमक नगरपालिका– २ स्थित हम्सेदुम्से सामुदायिक वनमा सहिद वनवाटिकाका नाममा डेढ करोड खर्च गरेपछि बल्ल जग्गा भोगाधिकारका लागि प्रक्रिया थालिएको छ । १२ वर्षसम्म विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) र प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन (आइइई) पनि भएको छैन । 

जबकि, दमक नगरपालिकाले कम्पाउन्डवालसहितका लागि एक करोड ४६ लाख रकम खर्च गरिसकेको छ भने कोशी प्रदेश सरकारले पोखरी निर्माणका लागि थप २५ लाख खर्च गरेको छ । 

अहिले आएर नगरपालिकाले संघ सरकारसँग भोगाधिकार मागेको हो । वन ऐन, २०७६ को दफा ३ (२) अनुसार नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयविना राष्ट्रिय वन क्षेत्रको भू–उपयोग परिवर्तन गर्न, राष्ट्रिय वनको भोगाधिकार कसैलाई उपलब्ध गराउन, धितो बन्धकी, सट्टापट्टा वा अन्य किसिमले हक हस्तान्तरण गर्न पाइँदैन । 

वन तथा वातावरण मन्त्रालयले आयोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदन, वन क्षेत्र प्रयोग गर्नुपर्ने तथ्यपरक आधार र कारण खुलेको प्रतिवेदन वातावरणीय अध्ययन प्रतिवेदन, विस्तृत अध्ययन प्रतिवेदन, इन्जिनियरिङ डिजाइन प्रतिवेदनलगायत स्वीकृत कार्यक्रम, प्रयोग गर्नुपर्ने राष्ट्रिय वनको क्षेत्रफल, हटाउनुपर्ने रुख–बिरुवाको लगत, राष्ट्रिय प्राथमिकता आयोजना निर्धारण गरेको राष्ट्रिय योजना आयोगको पत्र, स्थानीय तहले आयोजनाका लागि बजेट सुनिश्चितता गरेको निर्णयसहितको कागजात उपलब्ध गराउन अनुरोध गरेको छ । वन मन्त्रालयको पत्रपछि दमक नगरपालिकाले प्रारम्भिक वातावरणीय परीक्षण, विस्तृत अध्ययन प्रतिवेदनलगायतका कागजात तयार पार्न सुरु गरेको छ । 

डिपिआर र आइइईका लागि दमक नगरपालिकाले बजेट विनियोजन गरेको दमक नगरपालिकाका मेयर रामकुमार थापाले बताए । उनले अब बहुउद्देश्य पार्क निर्माण गर्दा विगतमा निर्माण भएको संरचनालाई पनि प्रयोग गर्न मिल्ने गरी निर्माण गरिने बताए । दमकलाई पर्यटकीय हब बनाउनका लागि अब ५० करोड लगानीमा पार्क निर्माण गरिने उनले बताए । उनले संघीय सरकार, प्रदेश सरकारसहित दातृ निकायको लगानीमा वा नगर विकास कोषबाट सहुलियतमा ऋण लिएर भए पनि पार्क निर्माण गर्ने जानकारी दिए । इलाम, मोरङसहितको जिल्लाबाट नजिक रहेका कारण पनि पर्या–पर्यटनमा राम्रो सम्भावना रहेको उनको भनाइ छ । ‘यो दमकको प्रतिष्ठासँग गाँसिएको छ । दमकमा पर्यटकीयस्थल छैन । यो पार्क निर्माण भएपछि पर्यटकीय सम्भावना रहन्छ । हामीलाई अब ५० बिघा जग्गा चाहिने देखिन्छ,’ उनले भने, ‘त्यहाँ भुटानी शरणार्थी, संग्रहालय, भूपूसैनिक संग्रहालय, मनोरञ्जनस्थल, स्विमिङ पुल, तालिम केन्द्रसहितको पार्क निर्माण गर्ने योजनामा छौँ ।’

विगतमा कानुनविपरीत दमक नगरपालिकाले सहिद वनवाटिकाको नाममा वन क्षेत्रमा संरचना बनाएको डिभिजन वन झापाका प्रमुख नथुनी गोहिवार यादवले बताए । ‘थाहा भएकै कुरा हो । विगतमा प्रधानमन्त्री (ओली) त्यहीँको हुँदा नहुने काम पनि गरिएको थियो,’ उनी भन्छन्, ‘अहिले भोगाधिकारका लागि उहाँहरू (दमक नगरपालिका)ले तयारी गर्दै हुनुहुन्छ । अब डिपिआर पेस गरेपछि हामी माथि पठाउँछौँ ।’

दमक नगरपालिकाले हम्सेदुम्से सामुदायिक वनको सहकार्यमा वन क्षेत्रमा पर्या–पर्यटनको वनवाटिकामा बजेट लगाएर काम गरिरहेको छ । 

हम्सेदुम्से सामुदायिक वनले एक वर्षअघि मात्र डिभिजन वन कार्यालय झापाबाट पर्या–पर्यटनका लागि कार्ययोजना स्वीकृत गरेको डिभिजन वन कार्यालय झापाका सूचना अधिकारी अमृतबहादुर लिम्बूले बताए । 

नगरपालिकाले एक करोड ४६ लाख खर्च गरेर सात सय मिटर कम्पाउन्डवालसँगै सामुदायिक भवन मर्मत, शौचालय मर्मत, पार्कमा रहेको झाडी हटाएर सरसफाइ गर्नेलगायतको काम गरेको छ । तर, संरक्षण अभावमा अहिले वन क्षेत्रभित्र रहेको सामुदायिक भवनको सिसा फुटाइएको छ । त्यहाँ बनेका संरचना अहिले प्रयोगविहीन अवस्थामा छ । जंगलभित्र रहेको सामुदायिक भवन लागुऔषध प्रयोगकर्ता र अवैध गतिविधि गर्नेको अखडा बनेको दमक– २ का प्रेम विश्वकर्माले बताए । 

२५ लाखमा पोखरी बन्यो, पानी जमेन
कोशी प्रदेश सरकारले सहिद वनवाटिकाभित्र सिमसार बनाउने योजनाका साथ करिब एक हेक्टर क्षेत्रफलमा पोखरी निर्माण गरेको छ । हम्सेदुम्से सामुदायिक वन उपभोक्ता समितिको सहकार्यमा आर्थिक वर्ष ०७५/७६ मा २५ लाख लागतमा पोखरी निर्माण गरेको वन उपभोक्ता समितिका तत्कालीन अध्यक्ष हिमालय दाहालले बताए । पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले त्यहाँ पोखरी निर्माण गरिएको उनले बताए । तर, २५ लाख लागतको पोखरी अहिले सुक्खा छ । पानी नजम्दा अहिले पोखरी झाडीमा परिणत भएको छ । 

दमक नगरपालिकाका अनुसार पानी नजम्नुको कारणबारे धरान इन्जिनियरङ क्याम्पसले स्थलगत अध्ययन गरेको छ । उक्त अध्ययन टोलीले पानी जम्मा गर्ने उपाय पनि दिएको दमक नगरपालिकाले जनाएको छ । सामुदायिक वनका तत्कालीन अध्यक्ष दाहालले पोखरी खन्ने वेलामा भएको गल्तीका कारण पानी जम्न नसकेको बताए । ‘त्यो वेलामा चुरे क्षेत्रमा यो पोखरी नयाँ भयो । हामीले जानेनौँ । प्राविधिक टोलीका अनुसार पोखरी खनेपछि ६ इन्च गोबरले लिप्नुपर्ने रहेछ,’ उनी भन्छन्, ‘केही नगरी हामीले पानी हाल्यौँ । दुई हप्तामा पानी सुक्यो । अहिले त्यहाँ बिरुवा उम्रिएका छन् । अबचाहिँ पानी जम्न सक्छ ।’

सुझावित समाचार