इरान युद्धमा अमेरिकाको सहयोगीबाट सुरु इजरायलको यात्रा टुंगियो मूकदर्शकमा

४० दिन लामो बमबारीबाट ठुलो क्षति व्यहोरे पनि इरानको हात अहिले माथि देखिन्छ

बिहिबार, २६ चैत, २०८२
डिजिटल संस्करण

अप्रिल ९ बिहान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा गएर ‘आज राति एउटा सम्पूर्ण सभ्यता नष्ट हुनेछ, र फेरि कहिल्यै फिर्ता हुनेछैन’ भन्ने घोषणा गरेको केही घन्टापछि, इरान र अमेरिका पाकिस्तानको मध्यस्थतामार्फत दुई हप्ताको युद्धविराम गर्न सहमत भए । यो प्रबन्धन खासमा ट्रम्पले युद्धबाट खोजिरहन खोजेको निकासजस्तो देखिन्छ । अमेरिकाभित्र युद्धलाई लिएर बढ्दो असन्तुष्टिबिच उनी यो नजितिने ‘युद्धबाट सधैँका लागि बाहिरिने’ ताकमा थिए । चुनावी अभियानका क्रममा ट्रम्पले पूर्वराष्ट्रपतिले विदेशी भूमिमा युद्धको विरोध गर्दै समय बिताउने गरेकोमा आफैँ युद्ध सुरु गरेपछि विवादमा आएका थिए ।

इरान युद्धमा ट्रम्प फस्न सक्ने सम्भावना बढ्दै गएको थियो । युद्ध दिन–प्रतिदिन बढ्दै मात्र गएको थिएन कि यो छिटै रोकिने संकेत थिएन । वर्षौंदेखि मध्यपूर्वी भेगमा बन्दै गएको तनाव बाहिरिन थालेसँगै द्वन्द्व निकै चर्को हुने वाला थियो । यसले अन्ततः विश्वव्यापी आर्थिक संकट सिर्जना गर्ने संकेत देखिन थालेको थियो । ट्रम्पले यी सम्भावनालाई सामाजिक सञ्जालमार्फत युद्धविराम गरेर टारेका छन् । इरानले पनि दुई हप्ताको युद्धविरामको पुष्टि गरेको छ । तथापि, यस युद्धिविरामबाट ह्वाइट हाउसे बढी लाभ उठाउने देखिन्छ ।

नयाँ मध्यपूर्व
युद्धविरामको घोषणाले विश्व अर्थतन्त्र, बजार र तेल र ग्यास आपूर्ति शृंखलाले राहतको सास फेरेको छ । अन्तर्राष्ट्रिय ऊर्जा संकट अहिलेका लागि टरेजस्तो देखिन्छ । तथापि, मध्यपूर्व भने भूराजनीतिक रूपमा पूर्ण बदलिएको छ । उपलब्ध जानकारीअनुसार युद्धविराम सम्झौता क्षेत्रीय स्थिरताका लागि नभई अमेरिका युद्धबाट बाहिरिने उद्देश्यले गरिएको हो । युद्धविराम समझदारीलाई अगाडि बढाउन शुक्रबार (अप्रिल १०)देखि पाकिस्तानमा वार्ता हुँदै छ । इजरायल वा अन्य कुनै पनि खाडी राज्यको सहभागिताविना हुने तय भएको यो वार्ताले ती देशलाई पुनः एकपटक किनारामा पुर्याएको छ । वार्ताको हिस्साका रूपमा तेहरानले लेबनानजस्ता देशमाथि जारी इजरायली आक्रमणको अन्त्यको मागसमेत अगाडि बढाएको छ ।

इजरायल र खाडी राज्यको सहभागिता नभएकाले आगामी महिनामा यो क्षेत्र कसरी अगाडि बढ्छ भन्नेबारे अन्योल सिर्जना गरेको छ । इरानले ‘स्ट्रेट अफ हर्मुज’माथि कडा नियन्त्रण कायम राखेको छ र त्यस समुद्री मार्गको सञ्चालनको निर्णय गर्ने अधिकार आफ्नो सशस्त्र सेनालाई भएको दाबी पुनः दोहोर्याएको छ । ४० दिन लामो बमबारीबाट ठुलो क्षति व्यहोरे पनि इरानको हात अहिले माथि देखिन्छ । फेब्रुअरीमा अमेरिकी–इजरायली आक्रमणमा अयातोल्लाह अली खामेनीको हत्या र उनका छोरा तथा उत्तराधिकारी अयातोल्लाह मोज्तबा खामेनीको अवस्थामाथि प्रश्न उठे पनि इस्लामिक शासन जोगिएको छ ।

नेतन्याहु एक्लिए 
इजरायल मध्यपूर्वमा अमेरिकाको सबैभन्दा नजिकको साझेदार हो । उसैले ट्रम्पलाई इरान युद्धमा तानेको थियो । तर, अहिले युद्धविराम सम्झौतामा ऊ मूकदर्शक मात्र बनेको छ र सम्झौताअनुरूप इरानविरुद्धको आक्रमण रोक्न बाध्य बनेको छ । (तथापि, उसले लेबनानमा रहेको इरान सर्मथित हिजबुल्लाहविरुद्धको अभियान जारी राख्ने बताएको छ) । सन् २०२५ को गर्मीमा इरान आणविक हतियार बनाउने अवस्थामा पुगेको आरोप लगाएर शासनविरुद्ध हवाई अभियानपछि फेरि इरानी जनताले शासन उल्ट्याउने बताउँदै नेतन्याहुले ट्रम्पलाई इरानमाथि आक्रमण गर्न प्रोत्साहित गरे । सम्भवतः नेतन्याहुले ट्रम्पलाई इरानलाई सधैँका लागि कमजोर बनाउन सक्ने अवसरको रूपमा हेरेका छन् । भलै त्यसको मूल्य जेसुकै किन नहोस् ।

अमेरिका–इरानले चलाएको सैन्य अभियानले इरानी क्षमतालाई निश्चित रूपमा ठुलो धक्का दिएको छ । तथापि, युद्धले यस क्षेत्रको भविष्यको कुनै पनि सुरक्षा व्यवस्था, अझ विशेषगरी हर्मुजको सुरक्षा इरानविना कठिन रहेको भाष्य बलियो बनायो । 

इजरायलका लागि युद्धविराम खानैपर्ने तितो औषधी साबित हुन सक्छ, जसको रणनीतिक उद्देश्य अहिले बेवास्तामा परेका छन् । इजरायलका लागि आफूविरुद्धको खतरालाई कमजोर राख्न सानै स्तरको सही तर निरन्तर सैन्य अभियान जारी राख्ने शैली गाजा र लेबनानमा काम गर्न सक्छ, तर इरानविरुद्ध यी अप्रेसन निरन्तर सञ्चालन गर्नु अमेरिकाविना सम्भव हुनेछैन । इजरायलका विपक्षी नेता यायर लापिडले इजरायल युद्धविरामपछि हुने वार्ताको टेबलमा नभएको कारणले युद्धविराम सम्झौतालाई ‘राजनीतिक विपत्ति’को संज्ञा दिइसकेका छन् ।

खाडीभित्र तरंग
यसैबिच, साउदी अरेबिया, कतार, बहराइन, कुवेत र संयुक्त अरब इमिरेट्स (युएई)जस्ता देशले अब सीमित सुरक्षा विकल्पसहित आत्मविश्वास बढेको इरानको सामना गर्नुपर्ने भएको छ । अब उनीहरूले अमेरिकी शक्ति यस क्षेत्रमा स्थिर रहने सुनिश्चित गरेर दीर्घकालीन रणनीतिक स्वायत्तता निर्माण गर्ने उद्देश्यमा काम गर्नुपर्ने अवस्था आएको छ । अझ खाडी राज्यहरूले इरानी खतराको सामना गर्न भित्रभित्रै इजरायलसँग नजिक हुनुपर्ने अवस्था आउन सक्छ । गाजामा इजरायलको अलोकप्रिय युद्धलाई ध्यान दिँदा यो अवस्था अरबी देशहरू अलोकप्रिय हुनेछन् । तर, अस्तित्व बचाउन यो रणनीति पनि आवश्यकता बन्न सक्छ । 

अहिलेसम्म युद्धविरामप्रति स्पष्ट समर्थन जनाउने एक मात्र खाडी देश ओमान हो, जसले पहिलेदेखि नै इरानले युद्ध नरोजेको बरु उसमाथि युद्ध थोपरिएको भन्दै आएको छ । इरानको शक्तिशाली इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आइआरजिसी)ले युद्धविरामलाई कसरी लिन्छ भन्ने कुरा पनि हेर्न लायक छ । इरानका राजनीतिक नेतृत्वदेखि कोर्प्सको शीर्ष नेतृत्व पनि मारिएकाले सेनाले प्रतिशोधात्मक नीति लिन सक्छ । गत महिना युद्धको समयमा परिचालन रणनीतिका रूपमा विकेन्द्रीकरणको नीति लिइएकाले अब आइआरजिसीका कमान्डरले आदेश दिनका लागि माथिल्लो कमान्डको प्रतीक्षा गर्नु आवश्यक पनि छैन । तिनीहरूले स्वविवेकले कदम चाल्ने खतरा छ । 

युद्धविरामपछि पनि युएईजस्ता देशले अझै पनि इरानबाट मिसाइल आइरहेको बताएका छन् । यसले युद्धविराम सम्झौता सामाजिक सञ्जालमार्फत घोषणा गरेभन्दा कठिन हुने देखाउँछ । अन्तमा, यो युद्धविरामको दीर्घायुका लागि पनि अमेरिकासँगै इरानको कद बढ्नेछ । यसले स्वतः यस क्षेत्रमा तेहरानको भूराजनीतिक स्थितिलाई उँचो बनाउनेछ, जुन नयाँ वास्तविकता यस भेगका धेरैलाई असहज हुनेछ । आगामी दुई हप्तामा, अमेरिकाले युद्धबाट आफ्नो बहिर्गमनका लागि दबाब दिनेछ । इरानले समग्र क्षेत्रको सुरक्षाको संस्थागत हिस्सेदारी माग गर्नेछ । जबकि, इजरायल र खाडी देशले भने कसैले नसोचेको ‘नयाँ मध्यपूर्व’को कसरी सामना गर्ने भन्ने सोच्नुपर्ने हुन सक्छ । 

(कबिर तनेजा ‘अब्जर्भर रिसर्च फाउन्डेसन मिडल इस्ट’का कार्यकारी निर्देशक हुन् )
एनडीटीभीबाट

सुझावित समाचार