सार्वजनिक सवारीसाधनको भाडादर वृद्धि गरिएको छ । पेट्रोलियम पदार्थको भाउ वृद्धि भएसँगै सरकारले सार्वजनिक सवारीसाधनको यात्रु भाडादर र मालवाहक ट्रकको ढुवानी भाडादर पनि वृद्धि गरेको हो । बुधबारबाट लागू हुने गरी सार्वजनिक सवारीसाधनको यात्रु भाडादर १६.७१ प्रतिशत, तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ढुवानी भाडादर १५.७५ प्रतिशत र पहाडी बाटोमा सञ्चालन हुने मालवाहक ट्रकको ढुवानी भाडादर २१.६८ प्रतिशत बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।
भाडादर निर्धारणका १३ वटा सूचकहरूमा भएको फेरबदललाई आधार मानेर भाडा समायोजन गरिएको विभागले स्पष्ट पारेको छ । त्यसमध्ये इन्धनको भाउ ५ प्रतिशत घटबढ हुँदा मूल्य समायोजन हुने मापदण्ड छ । चैत महिनालागेयता पेट्रोल ४५ र डिजेल ४० रुपैयाँ प्रतिलिटर महँगिएको छ । त्यसैले, भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनील लम्सालको अग्रसरतामा सवारी भाडा वृद्धिको निर्णय गरिएको हो ।
विभागले यसअघि २२ पुस, ०८१ मा सवारीसाधनको भाडादर समायोजन गरेको थियो । त्यसयता बजारमूल्यमा आएका परिवर्तन र इन्धनको भाउमा भएको वृद्धिलाई आधार मानेर यसपटक भाडादर समायोजन गरेको विभागले जनाएको छ । हाल निर्धारित भाडादर विद्युतीय सवारीसाधनको हकमा भने लागू नहुने पनि विभागले स्पष्ट पारेको छ ।
यातायात व्यवसायी महासंघका उपाध्यक्ष सरोज सिटौलाले मापदण्डअनुसार भाडादर समायोजन गरिएको बताए । ‘सरकारी नियकासँग उचित समन्वय गरेर नयाँ भाडादर लागू भएको छ,’ उनले भने, ‘पेट्रोलियम पदार्थमा भएको उच्च मूल्यवृद्धिका कारण भाडा समायोजन गरिएको आमउपभोक्ताले पनि बुझ्नुहुन्छ भन्ने विश्वास छ ।’
एक महिनायता पेट्रोल र डिजेलको मूल्यमा क्रमशः ४५ र ४० रुपैयाँ बढेका कारण समायोजनको विकल्प नभएको पनि उनले बताए । ‘काठमाडौंबाट काँकडभिट्टा जाने बसले तीन सय ५० लिटर तेल खपत गर्छ । त्यसबाट एक ट्रिपमा १२–१३ हजार रुपैयाँ नोक्सानी भइरहेको थियो,’ उनले भने, ‘अहिलेको समायोजनले केही सहज स्थिति बनेको छ ।’
सबैभन्दा बढी काठमाडौं–बाजुरा ५२ सय ६४ भाडादर कायम
लामो दूरीका सवारीसाधनको भाडादर सबैभन्दा बढी काठमाडौंबाट अत्तरिया हुँदै बाजुराको बार्तडी बजार पुग्ने सुपर डिलक्सको प्रतियात्रु पाँच हजार दुई सय ६४ रुपैयाँ निर्धारण गरिएको छ । त्यसपछि काठमाडौंबाट अत्तरिया हुँदै बझाङको चैनपुर पुग्ने यात्रुले सुपर डिलक्स भाडादरबापत पाँच हजार दुई सय ३५ रुपैयाँ तिर्नुपर्ने भाडादर कायम भएको छ ।
त्यस्तै, काठमाडौंबाट धनगढी–सीतागढी–साँफेबगरसम्मको सुपर डिलक्स भाडादर चार हजार सात सय ९१ रुपैयाँ कायम भएको छ । काठमाडौंबाट अत्तरिया–डडेल्धुरा–बैतडीसम्मको सुपर डिलक्स भाडादर प्रतियात्रु चार हजार पाँच सय ६२ रुपैयाँ पुगेको छ । पश्चिम महेन्द्रनगरदेखि पूर्व काँकडभिट्टासम्मको सुपर डिलक्स बस भाडा प्रतियात्रु चार हजार चार सय दुई रुपैयाँ छ । त्यस्तै, काठमाडौंबाट विराटनगर पुग्न दुई हजार ६ सय ८६, जनकपुर पुग्न एक हजार आठ सय ८१, पोखरा पुग्न एक हजार ९६, बुटवल पुग्न १३ सय २७, सुर्खेत पुग्न ३ हजार ९६ र धनगढी पुग्न ३३ सय ७९ रुपैयाँ भाडादर निर्धारण गरिएको छ ।
प्रति यात्रु कति बढ्यो ?
तराईको लामो रुटमा प्रतिव्यक्ति प्रतिकिलोमिटर २.९३ रुपैयाँ रहेकोमा बढाएर ३.४२ रुपैयाँ कायम भएको छ । तराईको छोटो रुटमा प्रतिव्यक्ति प्रतिकिलोमिटर तीन रुपैयाँ रहेकोमा बढाएर ३.५ रुपैयाँ तथा काठमाडौं–पोखरा र पोखरा–नारायणगढ खण्डका लागि प्रतिव्यक्ति प्रतिकिमि ३.२४ रुपैयाँ रहेकोमा बढाएर ३.७८ रुपैयाँ कायम भएको छ । मालवालहकतर्फ तराईमा प्रतिकिमि प्रतिटन ७.७२ रहेकोमा ८.९३ र पहालमा प्रतिकिमि प्रतिटन १४.७७ रहेकोमा बढाएर १७.९७ कायम भएको छ ।
कच्चा तेलको भाउमा १३ प्रतिशत गिरावट
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा १३ प्रतिशत गिरावट आएको छ । अमेरिका र इरानबिच जारी युद्ध केही दिनका लागि स्थगित भएको विषय बाहिरिएपछि कच्चा तेल आपूर्ति हुने प्रमुख जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ को अवरोध हट्ने अपेक्षाले कच्चा तेलको भाउ घटेको हो । स्ट्रेट अफ हर्मुज क्षेत्रमा भएको भू–राजनीतिक तनाव कम हुँदा मध्यपूर्वका देशले आपूर्ति बढाउने र मूल्य घट्ने विश्वास छ ।
बुधबार घटेको मूल्य पछिल्लो समय एकैदिनमा आएको सबैभन्दा ठुलो गिरावटमध्ये एक भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बुधबार साँझ कच्चा तेलको भाउ ९५ डलर प्रतिब्यारेलमा ओर्लिएको छ । दुई साताअघि भने प्रतिब्यारेल १ सय १० डलर कायम भएको थियो । कच्चा तेलको भाउमा आएको उछालका कारण नेपाली बजारमा समेत इन्धनको भाउ अकासिएको छ । हाल पेट्रोल २ सय २ र डिजेल तथा मट्टितेल १ सय ८२ रुपैयाँ प्रतिलिटर कायम भएको छ । हवाई इन्धनको भाउ पनि बढेर २ सय ५१ रुपैयाँ प्रतिलिटर पुगेको छ ।