सडक डिभिजन कार्यालय लहानले सप्तरीको राजविराजदेखि तोपा, हनुमाननगर हुँदै भारदहसम्मको सडक निर्माणका लागि लगाएको ठेक्का समयमा नसकिएपछि स्थानीयले बुधबार सडक अवरुद्ध गरेका छन्। निर्माणाधीन क्षेत्रमा अत्यधिक धुलो उडेको भन्दै तोपा बजारमा स्थानीयले सडक अवरुद्ध गरेका हुन्।
चैतको सुक्खा मौसमसँगै चलेको तीव्र हावाहुरीका कारण सडक क्षेत्रमा अत्यधिक धुलो उड्दा ठुलो सास्ती भोग्नुपरेको स्थानीय भगवानलाल यादवले बताए। धुलोले वातावरण प्रदूषण बढाउनुका साथै स्वास्थ्यमा समेत नकारात्मक असर पारेको उनको भनाइ छ।
यही समस्यालाई लिएर आक्रोशित स्थानीयले सडक अवरुद्ध गर्दै निर्माण कम्पनीले तत्कालै धुलो नियन्त्रणका लागि नियमित रूपमा पानी छर्कने व्यवस्था गर्नुपर्ने माग गरेका छन्। पटकपटक सरोकारवाला निकायलाई गुहार गरे पनि ठेकेदारले कुनै वास्ता नगरेको स्थानीय विवेक यादवले बताए। सडक निर्माण नहुँदा दुर्घटनाको जाखिम बढेको उनले बताए।
सडक डिभिजन कार्यालयले २३ असार ०७९ मा साह इन्जिनियरिङ कन्स्ट्रक्सन प्रालिसँग २५ करोड ७१ लाख ४६ हजार रुपैयाँमा दुई वर्षको म्याद राखेर ठेक्का सम्झौता गरेको थियो।
०८१ असारभित्र उक्त सडक पूरा गरिसक्नुपर्नेमा ठेकेदारले हालसम्म ३१ प्रतिशत मात्रै काम गरेको छ। उक्त सडकको म्याद आगामी असार ३० सम्म छ।