लुम्बिनी प्रदेश सरकारको आयोजनामा मुख्यमन्त्री कप प्रदेशस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता चैत २५ गतेदेखि २८ गतेसम्म दाङमा सञ्चालन हुने भएको छ । प्रदेश खेलकुद परिषद् लुम्बिनीले प्रतियोगिता सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । परिषद्का सदस्यसचिव तिरनदाज गौतमले प्रतियोगिताका लागि खेलमैदान, व्यवस्थापन, आवास तथा अन्य प्राविधिक तयारी सम्पन्न भइसकेको जानकारी दिए ।
प्रतियोगितामा प्रत्येक जिल्लाबाट महिला र पुरुष टिम सहभागी हुनेछन् । प्रत्येक टिममा १० जना खेलाडी र एकजना प्रशिक्षक रहने व्यवस्था गरिएको छ । खेल अन्तर्राष्ट्रिय भलिबल महासंघको नियमअनुसार सञ्चालन गरिनेछ भने लिगकम नकआउट प्रणालीमा प्रतिस्पर्धा गराइनेछ ।
प्रतियोगिताको उद्घाटन मुख्यमन्त्री चेतनारायण आचार्यले गर्ने कार्यक्रम रहेको छ । प्रतियोगिताका विजेताले नगद रु. १ लाखसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । द्वितीय हुने टिमले रु. ६५ हजार, तृतीयले रु. ३५ हजार र सान्त्वनाले रु. १५ हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।
उत्कृष्ट खेलाडीलाई रु. १० हजार तथा उत्कृष्ट पाँच विधाका खेलाडीलाई जनही रु. पाँच हजार नगदसहित पुरस्कार प्रदान गरिनेछ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित सञ्चालन हुने प्रतियोगिताले प्रदेशस्तरमा भलिबल खेलको विकास र खेलाडीको क्षमतामा अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । गत वर्ष पुरुषतर्फ गुल्मी र महिलातर्फ पाल्पा प्रथम भएका थिए । यसपालि पुरुष र महिलाको प्रतियोगिता एकैसाथ हुन थालेको हो । अघिल्लो वर्षका प्रतियाेगिता पुरुषको अर्घाखाँची सन्धिखर्कमा र महिलाको दाङको घोराहीमा भएको थियो ।