छिन्नमस्ता सडक अलपत्र : निर्माणको माग गर्दै चक्काजाम

सोमबार, २३ चैत, २०८२
डिजिटल संस्करण

सडक डिभिजन कार्यालय लहानले सप्तरीको राजविराजदेखि –छिन्नमस्ता–न्योर बोर्डरसम्मको सडक निर्माणका लागि लगाएको ठेक्का चार वर्ष बित्न लाग्दासमेत पूरा हुन सकेको छैन। विभिन्न बहानामा ठेकेदार कम्पनीले निर्माणमा गति दिन नसक्दा सडक निर्माण अलपत्र परेको हो। 

सडक निर्माण अलपत्र परेपछि स्थानीय बासिन्दाले सोमबार विष्णुपुर गाउँपालिका–७ मा सडक ठप्प पारेका छन्। विगत ४  वर्षदेखि सडक निर्माण कार्य अलपत्र छाडिएको र पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको भन्दै उनीहरूले आन्दोलन गरेका हुन्।

स्थानीय रामकुमार शर्माका अनुसार ठेकेदारको लापरबाहीका कारण सडक कतै खनेर छाडिएको छ भने कतै गिटी र माटोको थुप्रो लगाइएको छ। 'सडकको धुलोले गर्दा घरभित्र बसेर खाना खानसमेत नसकिने अवस्था छ,' शर्माले भने, 'धुलो र हिलोका कारण सर्वसाधारण बिरामी पर्न थालेका छन्। सम्बन्धित निकाय र ठेकेदारलाई पटक–पटक ताकेता गर्दा पनि बेवास्ता गरेपछि हामी सडकमा उत्रन बाध्य भयौँ।'

विगत ४ वर्षदेखि निर्माणाधीन यो सडक खण्ड कालोपत्रे नहुँदा हिउँदमा धुलो र बर्खामा हिलोका कारण यो मार्ग भएर यात्रा गर्नेहरूले कष्ट भोग्दै आएका छन्। ठेकेदारले काम बिचैमा छाडेर सम्पर्कविहीन हुने गरेको स्थानीयको आरोप छ।

सडक डिभिजन कार्यालय लहानले ०७९ असार २३ गते साह इन्जिनियरिङ प्रालिसँग २५ करोड ८८ लाख दुई हजार रुपैयाँमा दुई वर्षको म्याद राखेर ठेक्का सम्झौता गरेको थियो । उक्त निर्माण कम्पनीले ०८१ असार ३० गतेसम्म यो सडक निर्माण पूरा गरिसक्नुपर्ने थियो। तर, सो अवधिमा कन्स्ट्रक्सनले सडक निर्माण गर्न सकेन । दुईपटक म्याद थप्दा पनि निर्माण कार्य सम्पन्न हुन नसकेको हो।

छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले निर्माण कम्पनीको लापरबाहीका कारण सडक नबनेको र आवागमनमा समस्या भएको बताए। उनले आफूसहित गाउँपालिकाका जनप्रतिनिधिहरूले सडक डिभिजन कार्यालय र ठेकेदारदेखि विभागीय प्रमुख, प्रधानमन्त्रीसमेतलाई भेटेर सडक बनाउन ध्यानाकर्षण गराए पनि काम नभएको गुनासो गरे।

‘यो सडकले ऐतिहासिक धार्मिकस्थल छिन्नमस्ता शक्तिपीठ आवतजावतमा पर्यटकलाई सहज हुनेछ, जसले यहाँ आन्तिरक तथा बाह्य पर्यटकको राम्रो संख्यामा वृद्धि हुन्छ,’ उनले भने, ‘यसले यहाँको स्थानीय आर्थिक गतिविधिमा समेत टेवा पुग्नेछ।’ सडक नबन्दा तीर्थालुहरू आउने क्रममा समेत प्रभाव परेको उनले बताए।

सुझावित समाचार