बागमती उद्योग वाणिज्य महासंघको अध्यक्षमा वेदबहादुर श्रेष्ठको उम्मेदवारी घोषणा

सोमबार, २३ चैत, २०८२
डिजिटल संस्करण

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको अध्यक्ष पदका लागि वेदबहादुर श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । चैत २४ गते हुने निर्वाचनलाई लक्षित गर्दै श्रेष्ठले सोमबार हेटौँडामा प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन् । उनले ‘पारदर्शी र उत्तरदायी नेतृत्व’को नारासहित नाैबुँदे प्रतिबद्धता सार्वजनिक गर्दै बागमती प्रदेशका उद्योगी–व्यवसायीको हकहितका लागि सक्रिय रूपमा काम गर्ने बताए ।

श्रेष्ठले निजी क्षेत्रका समस्या समाधानमा आफ्नो टिम सधैँ क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्दै भवन नभएका जिल्ला तथा नगर उद्योग वाणिज्य संघका लागि जग्गा प्राप्ति र भवन निर्माणमा तीनै तहका सरकारसँग समन्वय गर्ने योजना अघि सारेका छन् । साथै बागमती प्रदेश उद्योग वाणिज्य महासंघको आफ्नै सुविधासम्पन्न सचिवालय भवन निर्माणका लागि जग्गा व्यवस्थापन गर्ने एजेन्डा पनि सार्वजनिक गरेका छन् ।

उनले प्रदेश सरकारले जारी गरेको ‘प्रदेश व्यवसाय ऐन, २०७६’ लाई व्यवसायीमैत्री बनाउन संशोधनका लागि पहल गर्ने, उद्योगी–व्यवसायीका समस्या समाधानका लागि महासंघको केन्द्रीय नेतृत्वसँग निरन्तर समन्वय गर्ने तथा आधुनिक कृषि प्रणाली र प्रविधिको विकासका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।

त्यसैगरी कृषि, पर्यटन, जलविद्युत् र व्यापार क्षेत्रलाई निजी क्षेत्रको प्राथमिक सरोकारका रूपमा अघि बढाउँदै प्रदेश सरकारसँग सहकार्य गर्ने, ‘व्यवसायमा महिला, बागमती प्रदेशमा पहिला’ अभियानमार्फत महिला उद्यमीका उत्पादनको बजारीकरणका लागि सहयोग गर्ने योजना पनि उनले अघि सारेका छन् ।

श्रेष्ठले महासंघलाई समावेशी, पारदर्शी र संस्थागत सुशासनयुक्त संस्था बनाउने, रसुवागढी र तातोपानी नाकामा आयात–निर्यातमा देखिएका समस्या समाधानका लागि पहल गर्ने तथा दोहोरो कर, नापतौल, अन्डर बिलिङ र मिसम्याचजस्ता समस्यामा सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरे ।

श्रेष्ठ नेतृत्वको प्यानलमा जिल्ला नगर उपाध्यक्षमा कृष्णकुमार गुप्ता, एसाेसिएट उपाध्यक्षमा कृष्णभक्त श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा राजकुमार दाहाल तथा कोषाध्यक्षमा रुद्रबहादुर खत्री रहेका छन् ।

सदस्यमा जिल्ला नगरतर्फ कृष्णमुरारी न्यौपाने, जयप्रकाश श्रेष्ठ, विष्णु खनाल, राजकुमार कँडेल र राजन कार्की उम्मेदवार रहेका छन् । एसाेसिएट सदस्यतर्फ उत्तम शर्मा ढकाल र नविन्द्र देव सिंह तथा वस्तुगत सदस्यमा ज्योतिरत्न बज्राचार्य रहेका छन् ।

एसाेसिएट उपाध्यक्षका उम्मेदवार कृष्णभक्त श्रेष्ठ, वस्तुगत सदस्य ज्योतिरत्न बज्राचार्य र सदस्य सदिश श्रेष्ठ भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

सुझावित समाचार