मकवानपुरको राक्सिराङका विभिन्न वडामा घुम्ती शिविर, सयौँ नागरिक लाभान्वित

आइतबार, २२ चैत, २०८२
डिजिटल संस्करण

‘सेवा पाउने सबैको अधिकार, घरघरमा स्थानीय सरकार’ अभियानअन्तर्गत मकवानपुरको राक्सिराङ गाउँपालिकाका विभिन्न वडामा सञ्चालन गरिएको बृहत् एकीकृत घुम्ती शिविरबाट सयौँ नागरिकले सेवा लिएका छन्  ।

गाउँपालिले वडा नम्बर १ मा आयोजित शिविरमा कृषि तथा पशुपन्छी शाखामार्फत १८० जनालाई घाँसको बिउ र औषधि वितरण गरेको थियो  । कृषक समूहका सदस्यलाई दुई सय थान तरकारी मिनिकिट, २० थान टनेल प्लास्टिक, तीन थान मिनिटिलर, १० थान स्प्रे पम्प र २० थान ग्रिन नेट वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

शिविरमा आयुर्वेदतर्फ २८९ जनाले सेवा लिएका छन् भने स्वास्थ्य शाखामार्फत २६० जनाको स्वास्थ्य परीक्षण गरिएको छ । त्यस्तै, सुनौलो हजार दिनका २५ जना आमालाई सरसफाइ सामग्री वितरण गरिएको छ । शिक्षा शाखामार्फत ‘एक विद्यालय एक ल्यापटप’ कार्यक्रमअन्तर्गत पाँचवटा ल्यापटप र एउटा प्रिन्टर वितरण गरिएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए ।

यसैगरी, लघु उद्यमतर्फ पाँचजनालाई मौरीपालन प्रविधि हस्तान्तरण गरिएको छ भने नयाँ उद्यमी सिर्जनाका लागि २७ जनाले फाराम भरेका र २४ जनाले उद्यमशीलतासम्बन्धी परामर्श लिएका छन् । रोजगार शाखामार्फत ५० जनाले बेरोजगार दर्ता फाराम भरेका छन् भने १२ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ।
यस्तै, राक्सिराङको वडा नम्बर ९ डन्टारस्थित वडा कार्यालयमा सञ्चालन गरिएको शिविरमा आयुर्वेदतर्फ २९५ जनाले सेवा लिएका छन् ।

पशुपन्छी शाखामार्फत २७० जनाका पशुमा लाग्ने विभिन्न रोगविरुद्ध औषधि वितरण गरिएको थियो भने महिला, बालबालिका तथा अपांगता शाखामार्फत चारजनालाई अपांगता परिचयपत्र प्रदान गरिएको छ ।

गाउँपालिकाबाट स्वास्थ्य शाखामार्फत २८० जनाको स्वास्थ्य परीक्षण गरिएको छ भने सुनौलो हजार दिन कार्यक्रमअन्तर्गत २५ जना आमालाई लोकल कुखुराको भाले वितरण गरिएको छ । पञ्जीकरण शाखामार्फत एक हजार ७१ जनालाई राष्ट्रिय परिचयपत्र र ३० जनालाई नयाँ नागरिकता वितरण गरिएको गाउँपालिकाले जनाएको छ।
कृषि शाखाबाट २७० जनालाई घाँसको बिउ, पाँच थान मिनिटिलर, १० थान स्प्रे पम्प, १६ थान प्लास्टिक टनेल, चार क्विन्टल मकैको बिउ तथा १० थान ग्रिन नेट वितरण गरिएको थियो ।

यसैगरी राक्सिराङको वडा नम्बर ७ स्थित श्री आधारभूत विद्यालय जुरेथुममा सञ्चालन गरिएको शिविरमा कृषि तथा पशुपन्छी शाखाबाट १५३ जनालाई घाँसको बिउ तथा औषधि, १६० जनालाई तरकारीको बिउ, साढे दुई क्विन्टल मकैको बिउ, चार थान मिनिटिलर, पाँच थान स्प्रे पम्प र पाँच थान ग्रिन नेट वितरण गरिएको छ ।

आयुर्वेद शाखाबाट २५० जनाको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरिएको छ भने स्वास्थ्य शाखामार्फत १७८ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । साथै, २५ जनालाई पोषण तथा सरसफाइ सामग्री वितरण गरिएको र एकजनालाई अपांगता कार्ड प्रदान गरिएको छ ।
हुरीबतास र आगलागीबाट प्रभावित चार घरधुरीलाई आठ बन्डल जस्तापाता वितरण गरिएको छ भने ६ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको अध्यक्ष मल्लले जानकारी गराए ।

शिक्षा शाखाबाट ‘एक विद्यालय एक ल्यापटप’ कार्यक्रमअन्तर्गत दुईवटा ल्यापटप र चारवटा प्रिन्टर वितरणसहित राष्ट्रिय मावि सिलिंगेमा पुस्तकालयको उद्घाटनसमेत गरिएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, संविधानसभा सदस्य गोविन्दराम चेपाङ, प्रशासकीय प्रमुख सन्देश मास्के, वडा नम्बर ६ का वडाध्यक्ष अक्कलबहादुर मुक्तान तथा वडा नम्बर ७ का वडाध्यक्ष रामबहादुर प्रजालगायतको उपस्थिति रहेको थियो ।

सुझावित समाचार