- कोशीविरुद्ध शतक हानेका अर्जुन कुमालले पिएम कपमा सबैभन्दा चाँडो हजार रन पूरा गर्ने खेलाडीको कीर्तिमानसमेत बनाए
गण्डकी प्रदेशका ओपनर अर्जुन कुमालले प्रधानमन्त्री (पिएम) कपमा कीर्तिमानी शतक बनाएका छन् । शनिबार वीरगन्जको नारायणी रंगशालामा अर्जुनले कोशी प्रदेशविरुद्ध १०२ रन बनाएका हुन् । उनको शतकसँगै गण्डकीले खेल ३९ रनले जित्दै प्रतियोगितामा दोस्रो जित निकालेको छ ।
अर्जुन चलिरहेको पिएम कपमा शतक बनाउने चौथो खेलाडी हुन् । उनी प्रतियोगितामा शतक बनाउने प्रदेशका एक मात्रै खेलाडीसमेत हुन् । यस्तै, अर्जुनले पिएम कपमा सबैभन्दा चाँडो शतक बनाउने कीर्तिमानसमेत बनाएका छन् ।
उनले १४१ बलमा आठ चौकासहित शतक बनाएका थिए । यसअघि विभागीय टोली त्रिभुवन आर्मीका बसिर अहमद, नेपाल पुलिसका शंकर राना र एपिएफ क्लबका आसिफ सेखले शतक बनाएका थिए । २२ वर्षीय बसिरले पुलिसविरुद्ध एक सय रन बनाएका थिए । २९ वर्षीय शंकरले बागमती प्रदेशविरुद्ध एक सय १६ तथा आसिफले पनि बागमती प्रदेशविरुद्ध नै एक सय १४ रन बनाएका थिए ।
अर्जुनले चलिरहेको पिएम कपमा ६ खेल खेल्दा एक शतक र दुई अर्धशतक बनाइसकेका छन् । उनले हालसम्म तीन सय ४६ रन बनाउँदै सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा पहिलो स्थान कब्जा गरेका छन् । आसिफ दुई सय ४७ रन बनाएर दोस्रो स्थानमा छन् । अर्जुनले यसपटक राष्ट्रिय टिममा अनुभवी खेलाडीलाई पछि पार्दै सानदार प्रदर्शन गरिरहेका छन् । पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहे पनि उनी राष्ट्रिय टिममा स्थान बनाउन सकेका छैनन् । यसपटक अर्जुनले राष्ट्रिय टिमको ढोका खोल्न बलियो दाबेदारी प्रस्तुत गरेका छन् ।
अर्जुनको हजार रन पूरा
अर्जुनले पिएम कपमा एक हजार रन बनाएका छन् । समग्रमा उनको पिएम कपमा दोस्रो शतक हो । पछिल्लो संस्करणमा पनि उनले शतक बनाएका थिए । अर्जुनले पिएम कपको २५ खेलमा एक हजार रन पूरा गरेका हुन् ।
गण्डकीको ३९ रनको जित
टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले अर्जुनको शतकमा सात विकेट गुमाउँदै दुई सय २८ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा कोशीले पूरा ५० ओभर नै खेलेपछि मात्र एक सय ८८ रन बनायो । २२.५ ओभरमा ६० रन बनाउँदा ६ विकेट गुमाएपछि गण्डकी दबाबमा आएको थियो । तर, अर्जुनले विपिन खत्रीसँग मिलेर सातौँ विकेटका लागि एक सय ६७ रनको कीर्तिमानी साझेदारी गर्दै जित पक्का गरेका थिए ।
पिएम कपको इतिहासमा यो सातौँ विकेटका लागि भएको सर्वाधिक ठुलो साझेदारी हो । यसअघि आर्मीका कुशल मल्ल र बसिर अहमदले सन् २०२४ मा सुदूरपश्चिम प्रदेशविरुद्ध सातौँ विकेटका लागि ११३ रनको साझेदारी गरेका थिए । कप्तान विपिनले ८६ बलमा ६ चौका र दुई छक्कासहित अविजित ७६ रनको साझेदारी गरेका थिए । कोशीका लागि दीपेश कँडेलले चार विकेट लिए ।
कोशीका लागि आठौँ नम्बर ब्याटिङ गर्न आएका दीपेश कँडेलले अविजित सर्वाधिक ५२ रन बनाएका हुन् । त्यसबाहेक आशिष थापामगर ३०, सुमन श्रेष्ठ २०, साकिब हक १७, शिवान्स बजगाईं १५ तथा सोनु अन्सारी १८ रनमा आउट भए । गण्डकीका लागि सिब्रिन श्रेष्ठले तीन तथा अपराजित पौडेल र सुवास भण्डारीले समान दुई विकेट लिएका थिए ।
छैटौँ खेलमा दोस्रो जित निकालेपछि पाँच अंकसहित गण्डकी सातौँ स्थानमा छ । कोशी ६ खेलमा मात्र एक अंक जोडेर पुछारमा छ । प्रतियोगितामा तीन विभागीय र सात प्रदेशसहित १० टोलीको सहभागिता छ । अहिले काठमाडौंमा लिग चरणका १० खेल सम्पन्न भएपछि जनकपुर र वीरगन्जमा बाँकी खेल भइरहेका छन् ।
एपिएफको १० विकेटको जित
रोहितकुमार पौडेल कप्तानीमा रहेको विभागीय टोली एपिएफले प्रतियोगितामा दोस्रो जित निकालेको छ । धनुषाको रामजानकी क्रिकेट मैदानमा एपिएफले कर्णाली प्रदेशलाई १० विकेटले पराजित गर्यो । पिएम कपको इतिहासमा १० विकेटको जित हात पार्ने एपिएफ एक मात्र टिम हो । उसले यो असफलता दोस्रोपटक हासिल गरेको हो । सन् २०२२ मा पनि एपिएफले सुदूरपश्चिम प्रदेशविरुद्ध दश विकेटकै जित निकालेको थियो ।
टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले ३६ ओभरमा अलआउट हुँदा एक सय आठ रनको लक्ष्य दियो । प्रत्युत्तरमा एपिएफले १२ ओभरमा विनाविकेट जित हासिल गर्यो । छैटौँ खेलमा दोस्रो जित हासिल गरेको एपिएफ पाँच अंकसहित छैटौँ स्थानमै छ ।
समान खेलबाट तीन अंक जोडेको कर्णालीको नवौँ स्थानमा रह्यो । एपिएफको सहज जितमा ओपनर आसिफ सेखले अविजित सर्वाधिक ६५ रन बनाए । उनले ३८ बलमा १२ चौका र एक छक्का प्रहार गरेका हुन् । यसअघि आसिफले बामगतीविरुद्ध शतक बनाएका थिए । ओपनर दीपक बोहोराले ३४ बलमा ६ चौका र दुई छक्कासहित अविजित ४२ रन बनाए ।
कर्णालीका लागि अर्जुन घर्तीले सर्वाधिक ३८ रन बनाए । दीपेन्द्र रावत २५, सुनील धमला १७ तथा रवीन्द्रजंग शाही १८ रनमा आउट भए । एपिएफका लागि कमलसिंह ऐरी र अभिषेक गौतमले समान चार विकेट लिएका थिए ।