नवलपुरको कावासोती- २, भाटटोला बेलचोकस्थित नवदुर्गा रंगशाला खेल मैदानमा चैत्र २६ गतेदेखि वैशाख ७ गतेसम्म आदिवासी जनजातिको तेस्रो नवलपुर महोत्सव हुने भएको छ।
नेपाल आदिवासी जनजाति महासंघ नवलपुरको आयोजनामा महोत्सव हुन लागेको हो। महोत्सवको आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम हुने नेपाल आदिवासी जनजाति महासंघ नवलपुरका अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिए।
महोत्सवमा आदिवासी जनजातिका मौलिक घरहरू, खानाका स्टलहरू, प्रदर्शनीका साथ व्यापारिक स्टलहरू गरी २ सयभन्दा बढी स्टल रहनेछन्।
उद्घाटनको दिन कावासोतीको फलफूल चोक अहिंसा पार्कबाट शोभा कलश यात्रा निकालिने आयोजकले जनाएको छ।
महोत्सवमा लन्डन ब्रिज, आइफल टावरलगायत पनि रहनेछ। महोत्सवमा साढे २ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा राखिएको आयोजकले जनाएको छ।