१८ खर्ब ९० अर्बको सिलिङमा बजेट लेख्न बन्यो समिति

शनिबार, २१ चैत, २०८२
डिजिटल संस्करण

अर्थतन्त्र सुधारका एजेन्डालाई समावेश गरी बजेट लेख्न अर्थ मन्त्रालयका पाँच सहसचिव रहेको समितिलाई जिम्मेवारी, चाँडै बजेट निर्माण कार्यतालिका आउने

समितिको कार्यक्षेत्र 

  • बजेट तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता तयार गर्ने 
  • बजेट वक्तव्यको मस्यौदा लेखन
  • नीति तथा कार्यक्रमका लागि सुझाव उपलब्ध गराउने
  • बजेटमार्फत कार्यान्वयन गरिने आयोजनाको प्राथमिकीकरण 
  • अर्थमन्त्रीसँग समन्वय गरी सरोकारवालासँग छलफल गर्ने

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष ०८३/८४ को बजेट लेख्न मस्यौदा समिति गठन गरेको छ । राष्ट्रिय स्रोत अनुमान समितिले दिएको १८ खर्ब ९० अर्ब ४४ करोड रुपैयाँको सीमाभित्र रहेर बजेटको मस्यौदा तयार गर्न मन्त्रालयका राजस्व व्यवस्थापन महाशाखाका प्रमुख उत्तरकुमार खत्रीको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाइएको छ ।

समिति सदस्यहरूमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख डा. सुमन दाहाल, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमख डा. धनीराम शर्मा, आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश भट्टराई र वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख सेवन्तक पोखरेल रहेका छन् । समिति गठन भएसँगै आगामी वर्षको बजेट निर्माण प्रक्रियाले गति लिएको अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले जानकारी दिए । ‘अर्थमन्त्रीज्यू आफैँ निजी क्षेत्रका प्रतिनिधिसँग संवाद गर्न वीरगन्ज पुग्नुभएको छ । सुधारका एजेन्डा सम्बोधन गर्ने उद्देश्यले बजेट तर्जुमा प्रक्रिया सुरु भएको छ,’ उनले भने ।

समितिले आर्थिक वर्ष ०८३/८४ को बजेट तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता तयार गर्नेछन् । त्यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबाट संघीय संसद्मा पेस गर्ने बजेट वक्तव्यको मस्यौदासमेत समितिले नै तयार गर्नेछ । समितिलाई आगामी वार्षिक नीति तथा कार्यक्रमका लागि सुझाव उपलब्ध गराउने कार्यक्षेत्र पनि तोकिएको छ । त्यस्तै, आगामी बजेटमार्फत कार्यान्वयन गरिने आयोजना तथा कार्यक्रमको प्राथमिकीकरण गर्ने जिम्मेवारी पनि दिइएको छ । 

आगामी बजेटका लागि राष्ट्रिय स्रोत अनुमान समितिले अर्थ मन्त्रालयलाई चालूतर्फ सात खर्ब ५५ अर्ब २४ करोड, तीन खर्ब ६७ अर्ब १० करोड पुँजीगत र तीन खर्ब ४८ अर्ब ९५ करोड वित्तीय व्यवस्थातर्फ सीमा निर्धारण गरिदिएको छ । त्यस्तै, प्रदेश र स्थानीय तहमा हस्तान्तरणका लागि चार खर्ब १९ अर्ब १५ करोड सीमा तोकिएको छ ।

भोलि आर्थिक स्थितिपत्र सार्वजनिक
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पद सम्हाल्नुअघिसम्मको तथ्यांकलाई समेटेर आइतबार ‘आर्थिक स्थितिपत्र’ सार्वजनिक गर्ने कार्यतालिका रहेको छ । अर्थमन्त्री वाग्लेले पद सम्हाल्ने क्रममा पनि उक्त निर्णय गरेका थिए । 

अर्थ मन्त्रालयका अनुसार १२ चैतसम्म सरकारले सात खर्ब ८० अर्ब १२ करोड २० लाख रुपैयाँ राजस्व संकलन गरिसकेको छ । गत आवको १२ चैतसम्म सात खर्ब ४४ अर्ब ८० करोड ४८ लाख राजस्व उठेको थियो । ४.७४ प्रतिशतले राजस्व संकलनमा वृद्धि भएको तथ्यांक छ ।

गत आर्थिक वर्षको १२ चैतसम्मको तुलनामा सरकारलाई आयकर संकलन कमजोर छ । अन्य शीर्षकका राजस्व संकलनमा वृद्धि भएको देखिन्छ । आयकर संकलन भने ०.८६ प्रतिशतले घटेको छ । भन्सार महसुल संकलन ९.०७ प्रतिशतले बढेको छ । मूल्य अभिवृद्धि कर (भ्याट) संकलन ८.२४ प्रतिशतले बढेको छ । अन्तःशुल्क संकलन १२.३५ प्रतिशतले बढेको छ । शिक्षा सेवा शुल्क संकलनमा ६७.१९ प्रतिशतको वृद्धि छ । गैरकर राजस्व संकलनमा १२.६ प्रतिशतको गिरावट छ ।

महालेखा नियन्त्रकको कार्यालयअनुसार १२ चैतसम्मको कुल बजेट खर्च भने नौ खर्ब ६७ अर्ब ४५ करोड रुपैयाँ छ । यो कुल विनियोजनको ४९.२६ प्रतिशत मात्रै हो । पुँजीगत खर्च २०.५५ प्रतिशत मात्रै छ । चार खर्ब सात अर्ब ८८ करोड रुपैयाँको पुँजीगत बजेटमा ८३ अर्ब ८१ करोड मात्रै खर्च भएको छ । 

मन्त्रालयले चालू आवका लागि जेन–जी आन्दोलनपछिको सरकारी भवन पुनर्निर्माणमा चार अर्ब रुपैयाँ भुक्तानी दिने प्रतिबद्धता जनाए पनि सहरी विकास मन्त्रालयले हालसम्म काम थाल्न सकेको छैन । जसकारण यसपालि अपेक्षित पुँजीगत खर्च नहुने अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन् । खर्चको तुलनामा आम्दानी कमजोर हुँदा फागुन मसान्तसम्म सरकारको सञ्चित कोष एक खर्ब २७ अर्ब रुपैयाँले घाटामा छ । पश्चिम एसियाली मुलुकहरूमा जारी सैन्य तनावले नेपाली अर्थतन्त्रमा असर पार्ने चुनौती बढाएको छ । 

See More On

सुझावित समाचार