नयाँ वर्षको स्वागतमा होटल तथा रेस्टुरेन्ट व्यवसायी संगठन रूपन्देहीले भैरहवामा रैथाने खाना महोत्सव २०८२ आयोजना गर्ने भएको छ।
नेपाली नयाँ वर्षको अवसरमा चैत ३० गते भैरहवाका विभिन्न संघ–संस्थासँगको सहकार्यमा सडक खाना महोत्सव गर्न लागेको संगठनका अध्यक्ष राजेश मल्होत्राले जानकारी दिए।
आन्तरिक तथा भारतीय पर्यटकलाई आर्कषित गर्नका लागि भैरहवास्थित आँखा अस्पताल रोडमा खाना महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष मल्होत्राले बताए। महोत्सवले भैरहवाको व्यवसाय प्रवद्र्धन गर्दै पर्यटन क्षेत्रको पुर्नउत्थान गर्ने अपेक्षा गरिएको उनले बताए।
महोत्सवमा तारे होटलदेखि रेष्टुरेन्टहरुले समेत आआफ्नै स्वाद उपलब्ध गराउने संगठनका महासचिव सुनिल घिमिरेले बताए। महोत्सवमा थारु, नेवारी, मगर परिकारका विभिन्न स्टलहरुसमेत राखिने छ।
कार्यक्रममा थप मनोरन्जनका लागि राष्ट्रिय कलाकारहरुसंगै कला संस्कृति, स्थानीय विद्यालय तथा स्थानीय कलाकारहरुबाट विभिन्न प्रस्तुती तथा डिजे प्रस्तुत गरिने छ। महोत्सवमा करिव एक करोडको कारोबार हुने अपेक्षा गरिएको छ।
होटल तथा रेस्टुरेन्ट व्यवसायी संगठन रूपन्देहीको आयोजनामा हुन लागेको महोत्सवमा सिद्धार्थनगर नगरपालिकाको कार्यालय र मदिरा व्यवसायी संघ भैरहवा सहआयोजक रहेका छन्।