नवनिर्वाचित संसद्को पहिलो बैठक आज

२१ फागुनको निर्वाचनमार्फत आएको प्रतिनिधिसभाको पहिलो बैठक आज दिउँसो २ बजे सिंहदरबारस्थित संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा बस्दै, दलका शीर्ष नेताहरूले सम्बोधन गर्नेलगायतका कार्यसूची तय

बिहिबार, १९ चैत, २०८२
डिजिटल संस्करण

 राष्ट्रिय सभाको २०औँ अधिवेशन पनि बिहीबारै सुरु हुँदै 

जेन–जी आन्दोलनको म्यान्डेट बोकेर आएको प्रतिनिधिसभाको पहिलो बैठक बिहीबार बस्दै छ । सिंहदरबारस्थित संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा दिउँसो २ बजे बैठक बस्न लागेको हो । पहिलो बैठकमा दलका शीर्ष नेताहरूले 
सम्बोधन गर्नेलगायतका कार्यसूची छन् । संघीय संसद्का अधिवेशन आह्वान भएअनुसार राष्ट्रिय सभाको पनि बैठक बस्दै छ । 

संसद् सचिवालयले पहिलो बैठकका लागि सबै तयारी पूरा भएको जनाएको छ । २१ फागुनको निर्वाचनबाट प्रतिनिधिसभामा रास्वपा १८२ सिटसहित पहिलो दल बनेको छ । कांग्रेस ३८, एमाले २५, नेकपा १७, श्रम संस्कृति सात, राप्रपा पाँच र स्वतन्त्र एक सदस्य छन् । सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार हलमा सिट व्यवस्थापन गरिएको छ । सत्तापक्षलाई तीन रो र विपक्षीलाई दुई रो छुट्याइएको छ ।

पहिलो बैठकको सुरुवातमा राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइनेछ । ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले आफ्नो शुभकामना मन्तव्य दिनेछन् । पहिलो बैठकले सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने अध्यक्षमण्डलको चयन गर्नेछ । यद्यपि, अध्यक्षमण्डलमा को रहने भन्ने नाम प्राप्त भइनसकेको प्रवक्ता गिरीले बताए । 

यसैगरी, पहिलो बैठकमा जेन–जी आन्दोलन र अन्य आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली व्यक्त गरिनेछ । यसअघि १२ चैतमा नवनिर्वाचित सांसदहरूले शपथ लिएका थिए । ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ लिएपछि अन्य सदस्यलाई शपथ खुवाएका थिए । 

बैठकमा गृहमन्त्री सुदन गुरुङले निर्वाचनसम्बन्धी अध्यादेश पेस गर्ने कार्यसूची छ । अघिल्लो सरकारले ल्याएको मतदाता नामावली, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन पहिलो संशोधन र नेपाल विशेष सेवा दोस्रो संशोधन अध्यादेश पेस हुनेछ । बैठकमा प्रधानमन्त्री र मन्त्रीहरू उपस्थित हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले आफ्नो शुभकामना मन्तव्य दिएपछि प्रतिनिधिसभाको पहिलो बैठकमा दलका शीर्ष नेता वा संसदीय दलका नेताले सम्बोधन गर्दै छन् । रास्वपाबाट सभापति रवि लामिछाने, कांग्रेसका भीष्मराज आङ्देम्बे वा मोहन आचार्य, एमालेबाट रामबहादुर थापा बादल, नेकपाका वर्षमान पुन, श्रम संस्कृतिबाट हर्क साम्पाङ र राप्रपाबाट ज्ञानेन्द्र शाही बोल्ने तय भएको छ । स्वतन्त्र सांसद महावीर पुनले पनि बोल्ने समय पाउनेछन् । रास्वपाका संदीय दलका नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री छन् । एमालेका थापा, नेकपाका प्रचण्ड, श्रम संस्कृतिका हर्क साम्पाङ र राप्रपाका शाही संसदीय दलका नेता छन् । कांग्रेसले भने दलको नेता टुंग्याएको छैन । 

प्रतिनिधिसभा नियमावली संशोधन गरिने
प्रवक्ता एकराम गिरीका अनुसार सभामुखको निर्वाचनपछि प्रतिनिधिसभा नियमावली संशोधन गर्न नियमावली मस्यौदा समिति गठन गर्ने निर्णय सर्वदलीय बैठकमा भएको छ । राप्रपा प्रमुख सचेतक खुश्बु ओलीले भनिन्, ‘यो नियमावलीलाई विभिन्न विषयमा परिमार्जन गरेर लाग्नुपर्नेछ । त्यतिन्जेल अहिलेकैबाट काम चलाउने भन्ने छ । सभामुखको निर्वाचनपश्चात् नयाँ नियमावली बनाउने कुरा छ,’ उनले भनिन् । 

रास्वपा महामन्त्री बुर्लाकोटीले पनि छिटै प्रतिनिधिसभा नियमावली संशोधनका लागि मस्यौदा समिति बनाउने सहमति भएको बताए । नियमावली संशोधन भइसकेपछि संसदीय समितिको गठन र कार्यव्यवस्था तथा परामर्श समिति गठनको प्रक्रिया अगाडि बढ्ने उनले बताए । ‘संसदीय समितिहरूमा प्रवेश नै गरेका छैनौँ । नियमावली अगाडि बनाउने चलन छैन । शीघ्र गर्ने भन्ने छ । नियमावली समिति बनाएरै कार्यव्यवस्था समिति पनि गठन हुन्छ,’ उनले भने । 

राष्ट्रिय सभामा उपाध्यक्ष र समिति सभापति निर्वाचनको तयारी
यसैगरी, राष्ट्रिय सभाको २०औँ अधिवेशन पनि बिहीबारै सुरु हुँदै छ । दिउँसो २ बजे बस्ने बैठकको तयारीका लागि अध्यक्ष नारायणप्रसाद दाहालको कार्यकक्षमा कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको छ । बैठकमा अध्यक्ष दाहालले अधिवेशन सफल बनाउन सबै राजनीतिक दलको सक्रिय सहभागिता र रचनात्मक भूमिकाको अपेक्षा गरेको बताएका थिए । बैठकमा सभाको आगामी बैठकको कार्यसूची, सिट प्लान, प्रस्तावित कार्यतालिका, कार्यव्यवस्था परामर्श समिति र संसदीय समितिमा सदस्यहरूको मनोनयन, उपाध्यक्षको निर्वाचन, सभापतिको निर्वाचन, सभामा अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन र दलका नेताको शुभकामना मन्तव्यको समय निर्धारणलगायतमा छलफल भएको थियो । 

पहिलो बैठकमा को–को बोल्दै छन् ? 
ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले आफ्नो शुभकामना मन्तव्य दिएपछि प्रतिनिधिसभाको पहिलो बैठकमा दलका शीर्ष नेता वा संसदीय दलका नेताले सम्बोधन गर्दै छन् । रास्वपाबाट सभापति रवि लामिछाने, कांग्रेसका भीष्मराज आङ्देम्बे वा मोहन आचार्य, एमालेबाट रामबहादुर थापा बादल, नेकपाका वर्षमान पुन, श्रम संस्कृतिबाट हर्क साम्पाङ र राप्रपाबाट ज्ञानेन्द्र शाही बोल्ने तय भएको छ । स्वतन्त्र सांसद महावीर पुनले पनि बोल्ने समय पाउनेछन् । 

गृहमन्त्री गुरुङले अध्यादेश पेस गर्ने 
गृहमन्त्री सुदन गुरुङले निर्वाचनसम्बन्धी अध्यादेश पेस गर्ने कार्यसूची छ । उनले अघिल्लो सरकारले ल्याएको मतदाता नामावली, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन पहिलो संशोधन र नेपाल विशेष सेवा दोस्रो संशोधन अध्यादेश पेस गर्नेछन् । बैठकमा प्रधानमन्त्री र मन्त्रीहरू उपस्थित हुने जनाइएको छ ।  

 आइतबार सभामुखको निर्वाचन : रास्वपाले डिपी अर्याललाई पठाउने तयारी 
सभामुख चयनका लागि आइतबार निर्वाचन हुने तय भएको छ । ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको अध्यक्षतामा बुधबार बसेको सर्वदलीय बैठकले सभामुखको निर्वाचन २२ चैतमा गर्ने निर्णय गरेको छ । निर्णयको जानकारी बिहीबार बस्ने प्रतिनिधिसभाको पहिलो बैठकमा गराइनेछ । त्यसपछि निर्वाचनको सूचना प्रकाशित गरिनेछ ।

संसद्को पहिलो बैठक बसेको मितिले १५ दिनभित्र सभामुख र उपसभामुख निर्वाचित गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले सभामुखको निर्वाचन २२ चैतमा गर्ने निर्णय भएको र २० चैतमा उम्मेदवारी मनोनयन दर्ता गराउने कार्यतालिका बनाइएको बताए । 

संसद्को पहिलो दल रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले सभामुख रास्वपाकै तर्फबाट हुने बताए । ‘संसद्को बहुमत प्राप्त ठुलो दल भएकाले सभामुख रास्वपाकै तर्फबाट हुन्छ । को हुने भन्ने छलफलमा छौँ,’ उनले भने । रास्वपाका नेताहरूका अनुसार उपसभापति डिपी अर्याल सभामुख हुने पक्कापक्की छ । गृहमन्त्रीमा दाबी गरेका अर्यालले उक्त पद नपाएपछि सभामुखको जिम्मेवारी सम्हाल्न लागेका हुन् । अर्यालले आजभोलि नै दलको सम्पूर्ण जिम्मेवारी त्याग्ने तयारी गरेका छन् । सभामुख पद निष्पक्ष र स्वतन्त्र भएकाले उम्मेदवार हुनुअघि पार्टीको सबै जिम्मेवारी त्याग्ने अभ्यास छ ।

महामन्त्री बुर्लाकोटीका अनुसार उपसभामुख कुन दललाई दिने भन्ने टुंगो लागिसकेको छैन । संविधानमा सभामुख र उपसभामुख फरक दल र फरक लिंगको हुनुपर्ने व्यवस्था छ । ‘पहिला सभामुखको टुंग्याउँछौँ, त्यसपछि मात्र उपसभामुखबारे छलफल हुन्छ । यद्यपि, उपसभामुखबारे पनि अनौपचारिक छलफल गरिरहेका छौँ,’ उनले भने । 

सुझावित समाचार