- कांग्रेस १५ औँ महाधिवेशन, निर्वाचन समीक्षा, आन्तरिकलगायत विषयमा आज पनि छलफल हुने
कांग्रेसको आधिकारिकतासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेका वेला पूर्वसभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहले समानान्तर गतिविधि अघि बढाएको छ । पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको आह्वानमा मंगलबार राजधानीमा बसेको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठकमा आगामी रणनीतिबारे छलफल भएको छ । बैठक बुधबारसम्म जारी रहनेछ ।
बैठकलाई सम्बोधन गर्दै खड्काले अदालतमा मुद्दा विचाराधीन रहेको र न्यायको जित हुने बताएका छन् । विशेष महाधिवेशनबाट आएको कार्यसमितिले नेता तथा कार्यकर्तामाथि अन्याय गरेको उनको जिकिर छ । खड्काले विशेष महाधिवेशनबाट आएको कार्यसमितिले समानुपातिक सांसदको नाम निर्वाचन आयोगमा सिफारिस गर्दा आफूहरूनिकटलाई अन्याय गरेको दाबी गरेका हुन् ।
‘केही साथीहरूलाई अन्याय भएको छ । समानुपातिकतर्फ सांसदको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने क्रममा विशेष महाधिवेशनबाट आएको कार्यसमितिले अन्याय गरेको छ । पिछडिएको क्षेत्रतर्फ क्लस्टरमा पहिलो नम्बरमा विद्या तिमल्सिनाको नाम थियो । तर, आयोगमा नाम पठाउने वेला खसआर्य क्लस्टरमा नाम रहेका कालीबहादुर सहकारीको नाम पठाइयो । यस्तै, दलित क्लस्टरमा मानबहादुर नेपालीको नाम रहे पनि आयोगमा सिफारिस पठाउने वेला परेन,’ खड्काको भनाइ उद्धृत गर्दै एक नेताले भने । अन्यायविरुद्ध अदालत गएको पनि उनले बताए ।
गत २१ फागुनको निर्वाचनमा कांग्रेसले समानुपातिकमा २० सिट जितेको छ । समानुपातिकको सूची निर्वाचन आयोगमा बुझाउँदा तत्कालीन सभापति देउवाको हस्ताक्षर थियो भने निर्वाचनपछि नाम सिफारिस गर्ने वेला विशेष महाधिवेशनबाट सभापति गगन थापा आएका थिए ।
बैठकमा खड्कासहित नेता शेखर कोइराला, शशांक कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, बलबहादुर केसी, आनन्दप्रसाद ढुंगाना, एनपी साउद, बद्री पाण्डे, जीवन परियारलगायत सहभागी थिए । तत्कालीन सभापति शेरबहादुर देउवा भने विदेशमा छन् । गत २८ असोजमा तत्कालीन सभापति देउवाले खड्कालाई कार्यवाहक दिएका थिए । पुसमा निर्धारित १५औँ महाधिवेशन हुन नसकेपछि तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा विशेष महाधिवेशन भएको थियो ।
तत्कालीन संस्थापन पक्ष र नेता शेखर कोइराला पक्ष सहभागी नभएको विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ । कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएको छ भने तत्कालीन संस्थापन पक्ष आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा गएको छ । अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बसेको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कांग्रेस सुदूरपश्चिम सभापति वीरबहादुर बलायरले विगतमा पनि यस्ता गतिविधि हुने गरेकाले कुनै अनौठो नभएको बताएका थिए । उनले देउवा पक्ष बलियो भए पनि संयमता अपनाउनुपर्ने भन्दै संस्थापन पक्षले अहं त्याग्नुपर्ने बताए । नेता जीवनबहादुर शाहीले समानान्तर गतिविधिले पार्टीको हित नहुने भन्दै कि मिलेर जान, नभए अलग पार्टी बनाउनुपर्ने धारणा राखेका थिए ।
चुनावी समीक्षामा कांग्रेस संस्थापन, तोक्यो कमान्डर
कांग्रेसको संस्थापन पक्षले सातवटै प्रदेशमा चुनावी समीक्षा गर्ने भएको छ । २३ चैतदेखि ५ वैशाखसम्म सातवटै प्रदेशमा चुनावी समीक्षा गर्ने भएको हो । १६५ वटै निर्वाचन क्षेत्रका उम्मेदवारको उपस्थितिमा चुनावी समीक्षा गरिने कांग्रेसले स्पष्ट पारेको छ । चुनावी समीक्षाका लागि प्रदेश, मिति र संयोजक तोकिएको छ । जसअनुसार कोशी प्रदेशको विराटनगरमा २३ चैतमा चुनावी समीक्षा हुने भएको छ । जसको संयोजन डा. डिला संग्रौला पन्तले गर्नेछिन् । मधेश प्रदेशको जनकपुरमा २५ चैतमा चुनावी समीक्षा हुनेछ । जसको संयोजक फर्मुल्लाह मन्सुरले गर्नेछन् । बागमती प्रदेशको हेटौँडामा ७ वैशाखमा चुनावी समीक्षा हुनेछ । जसको संयोजन बहादुरसिंह लामाले गर्नेछन् ।
पोखरामा २७ चैतमा देवराज चालिसेको संयोजकत्वमा गण्डकी प्रदेशको चुनावी समीक्षा हुनेछ । यस्तै, लुम्बिनी प्रदेशको दाङमा २९ चैतमा चुनावी समीक्षा हुनेछ । जसको संयोजन योगेन्द्र चौधरीले गर्नेछन् । कर्णाली प्रदेशको सुर्खेतमा ३ वैशाखमा चुनावी समीक्षा हुनेछ । जसको संयोजन कर्णबहादुर बुढाले गर्नेछन् । सुदूरपश्चिम प्रदेशको कैलालीमा ५ वैशाखमा चुनावी समीक्षा हुने भएको छ । जसको संयोजन प्रकाश रसाइली स्नेहीले गर्नेछन् ।