बल टेम्परिङको आरोपमा जमानमाथि कारबाही पाकिस्तान सुपर लिगमा

बुधबार, १८ चैत, २०८२
डिजिटल संस्करण
  • कराँचीविरुद्धको प्रतिस्पर्धामा बल बिगारेको आरोप पुष्टि भएपछि लाहोरका फखर जमानलाई दुई खेलमा प्रतिबन्ध

पाकिस्तान सुपर लिग (पिएसएल) मा बल टेम्परिङ गरेको आरोपमा लाहोर कलन्दर्सका फखर जमान दुई खेलको प्रतिबन्धमा परेका छन् । गत आइतबार भएको कराँची किङ्ससँगको प्रतिस्पर्धामा बल बिगारेको ठहर भएपछि उनलाई पिएसएलको आचारसंहिता धारा ४१.३ को अनुसार दुई खेल प्रतिबन्ध लगाइएको हो । सो खेलमा लाहोर ४ विकेटले पराजित भएको थियो । म्याच रेफ्री रोशन महानामाले अनुशासन सुनुवाइपछि जमानलाई कारबाही हुनुपर्ने निष्कर्ष निकालेका हुन् । 

जमानले आरोप अस्वीकार गरेपछि औपचारिक सुनुवाइ भएको हो । पिएसएल नियमअनुसार पहिलोपटकको लेभल ३ अपराधमा कम्तीमा एकदेखि बढीमा दुई खेलसम्म प्रतिबन्ध हुन सक्ने व्यवस्था छ । निर्णयसँगै जमानले पिएसएलअन्तर्गत ३ अप्रिलमा मा मुल्तान सुल्तान्स र ९ अप्रिलमा इस्लामाबाद युनाइटेडविरुद्धका खेल गुमाउनेछन् । उनले निर्णयको ४८ घण्टाभित्र अपिल गर्न सक्नेछन् । बारम्बार यस्तै गल्ती गर्दा खेलाडी लामो समयका लागि प्रतिबन्धमा पर्न सक्छ । गत आइतबार जमानमाथि ‘बल टेम्परिङ’को आरोप लागेको थियो । प्रतिस्पर्धामा जमानले बल बिगारेपछि अम्पायरहरूले लाहोरलाई पनि कारबाही गर्दै पाँच रनको पेनाल्टी (जरिवाना) लगाएका थिए । जमानले आफूमाथिको आरोपको सामना गर्ने बताएका छन् । कराँचीविरुद्ध अन्तिम ओभर सुरु हुनुअघि जमानले गलत तरिकाले बलको अवस्था परिवर्तन गर्न खोजेको अम्पायरले पत्ता लगाएका थिए । 

लक्ष्य पछ्याएको १९औँ ओभरमा घटना
जमानको हात हुँदै आएको बललाई अम्पायर फैसल अफ्रिदीले शंका लागेर परीक्षण गरेका थिए । अनफिल्ड अम्पायरको सल्लाहपछि बलको अवस्था बिगारिएको निष्कर्ष निकाल्दै नयाँ बल फेरिएको थियो । त्यसपछि पाँच रन पेनाल्टी पाएका कारण लाहोरले खेल नै गुमाउन पुग्यो । इनिङ्सको १९औँ ओभरमा कराँची किंग्सलाई जितका लागि १४ रन आवश्यक थियो । त्यसपछि कराँचीले ६ बलमा मात्र ९ रन बनाउनुपर्ने भयो । कराँचीले १९.३ ओभरमा जित निकाल्यो । खेल सकिएपछि भएको प्रारम्भिक सुनुवाइमा जमानले आफूमाथि लागेको आरोप अस्वीकार गरेका थिए । 

आइसिसीको नियमअनुसार कारबाही
अम्पायर प्रावधिक कमिटीले तत्काल कुनै पनि निर्णय लिएको थिएन । खेलका म्याच रेफ्री महानामाले प्रतिवेदन दुई दिनभित्र प्रस्तुत गरेका हुन् । उनको प्रतिवेदनअनुसार जमानमाथि कारबाही सिफारिस भएको पिसिबीले जनाएको छ । क्रिकेटको नियम ४१.३.२ अनुसार खेलाडीले बलको अवस्था बिगार्नु अपराध मानिन्छ । खेलाडीलाई बल चम्काउने अनुमति छ । 

बलरले बलको आकार वा अवस्था बिगार्न पाइँदैन । लाहोर कलन्दर्सका कप्तान साहिन अफ्रिदीले आफूलाई जमानले खेलको दौरानमा गरेको गतिविधिबारे जानकारी नभएको बताए । 

बलर अफ्रिदीलाई १० लाख जरिवाना
लाहोरले आफ्ना कप्तान अफ्रिदीलाई सुरक्षा प्रोटोकल (नियम) उल्लंघन गरेको आरोपमा १० लाख पाकिस्तानी रुपैयाँ जरिवाना गरेको छ । पन्जाब प्रहरीले अफ्रिदीले टिम बसेको होटेलमा सुरक्षा नियम तोडेको उजुरी गरेपछि लाहोरले ‘अनुशासन र जवाफदेहिता’ कायम राख्न यो कारबाही गरेको हो । पन्जाब प्रहरीले पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)लाई पठाएको पत्रअनुसार अफ्रिदी र अर्का खेलाडी सिकन्दर राजाले अनुमतिविना नै केही पाहुनालाई होटेलको कोठामा लगेका थिए । सुरक्षा टोलीले होटेलमा खेलाडीलाई पाहुना भेट्न अनुमति दिएको छैन । तर, अफ्रिदीले पाहुनालाई कोठामा लगेको आरोप लागेको छ । सुरक्षाकर्मीहरूले अफ्रिदीका पाहुना तीन घण्टा कोठामा बसेका थिए ।

सुझावित समाचार