खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यायल तहमै खेलकुद पाठ्यक्रम समावेश गरेर यस क्षेत्रको विकास सम्भव भएको बताएका छन् । ‘खेलकुद विकासका लागि विद्यालय तहको पाठ्यक्रमै राखेर अगाडि बढने योजना छ,’ राष्ट्रिय खेलकुद परिषद्ले मंगलबार आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री पोखरेलले भने, ‘खेलकुद जग नै ग्रासरुट हो । ग्रासरुटमा खेल विकास हुँदा यो क्षेत्रमा विकास हुने विश्वास छ ।’
उनले खेलकुदलाई शिक्षासँग जोड्नुपर्ने जनाएका छन् । ‘अहिलेका युवाहरूमा देखिएको मानसिक स्वास्थ्य समस्या हुन् । खेलले मानिसलाई जित्न मात्र होइन, हार्न र त्यो हारलाई स्वीकार गर्न पनि सिकाउँछ,’ पोखरेलले भने, ‘अहिलेका विद्यार्थीमा हारलाई कसरी स्वीकार गर्ने भन्ने क्षमताको कमी देखिन्छ, जुन खेलकुदले सिकाउन सक्छ ।’ पोखरेलले आफूलाई बोर्डको अध्यक्ष, प्रतिनिधिसभाको सदस्य वा मन्त्रीका रूपमा भन्दा पनि एउटा टिम सदस्यका रूपमा राखेको जनाए । ‘हामी सबै मिलेर एउटा टिम बनेर यो खेल क्षेत्रलाई दीर्घकालीन रूपमा विकास गर्न जरुरी छ,’ उनले भने ।
परिषद्को स्वागतपछि मन्त्री पोखरेलले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुदपरिसर हातामा रहेको निर्माणाधीन जेन–जी पार्क, खेलकुद विज्ञान अनुसन्धान केन्द्र, हाई पर्फमेन्स सेन्टर र पौडी पोखरीको समेत निरीक्षण गरेका थिए । यसैबिच राखेपले खेलाडीका रोकिएका पुरस्कार उपलब्ध गराउन मन्त्री पोखरेलको ध्यानाकर्षण गराएको छ ।
राखेपका सदस्यसचिव रामचरित्र मेहताले रोकिएका पुरस्कार उपलब्ध गराउन आग्रह गरेका छन् । मेहताले उनले राखेपको संरचना, कार्यक्षेत्र, बजेट, भौतिक पूर्वाधारलगायतका विषयमा पनि मन्त्रीलाई जानकारी गराएका थिए । यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अच्युत लामिछानेले सबै मिलेर समग्र राष्ट्रको खेलकुदलाई माथि उठाउनुपर्ने बताए । तेक्वान्दो खेलाडीसमेत रहेका उनले नेपाल खेलकुद विज्ञान प्रतिष्ठानलाई अझ प्रभावकारी बनाउनुपर्ने जनाए ।
फुटबल खेलाडीसँग छलफल
मन्त्री सस्मित पोखरेलले नेपाल फुटबल खेलाडी संघका पदाधिकारीसँग वर्तमान फुटबल अवस्थाका बारे जानकारी लिएका छन् । संघका अध्यक्ष विक्रम लामाले फुटबलको विवाददेखि अन्य क्षेत्रबारे जानकारी दिएका थिए । मन्त्रीसँगको छलफलको क्रममा नेपाली फुटबलको वर्तमान अवस्था, त्यसबाट सिर्जना हुन सक्ने सम्भावित परिस्थिति तथा सुधारका लागि अपनाउनुपर्ने विषयमा छलफल भएको थियो । संघले फुटबलका पदाधिकारीले खेलाडीलाई स्वच्छ र व्यवस्थित वातावरणमा खेल्ने अवसर सुनिश्चित गर्नुपर्नेमा धारणा राखेको थियो ।