उदयपुर जिल्लाको गाईघाटस्थित नेपाल इन्भेष्टमेन्ट मेगा बैंक शाखामा ग्राहकको खातामा रहेको रकम दुरुपयोग गरेको आरोपमा सोही बैंकमा कार्यरत एक कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ। बैंकभित्रैबाट आएको औपचारिक उजुरीका आधारमा प्रहरीले ती कर्मचारीलाई नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय उदयपुरको भनाइ छ ।
पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका– ५ निवासी सुनिता बानियाँ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । बैंकमा कार्यरत बानियाँमाथि ग्राहकको खातामा रहेको रकम अनधिकृत रूपमा प्रयोग गरेको आरोप लागेको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईंका अनुसार बैंक व्यवस्थापनबाट प्राप्त लिखित उजुरीका आधारमा बानियाँलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखिएको छ। उनले भने, ‘बैंक व्यवस्थापनको उजुरीपछि अनुसन्धान सुरु गरिएको छ । हाल उहाँमाथि बैंकिङ कसुर तथा ठगीसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ ।’
उनका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा बानियाँले विभिन्न ग्राहकका खाताबाट रकम चलखेल गरेको प्रमाण फेला परेको छ । बैंक व्यवस्थापनले आन्तरिक रूपमा गरेको छानबिनका क्रममा केही आर्थिक अनियमितता देखिएपछि घटनाबारे प्रहरीलाई जानकारी गराइएको थियो ।
बैंक स्रोतका अनुसार केही ग्राहकहरूले आफ्नो खातामा देखिएको रकम र वास्तविक मौज्दातबlच अन्तर देखिएपछि शंका उत्पन्न भएको थियो । त्यसपछि बैंकले आन्तरिक लेखापरीक्षण (इन्टरनल अडिट) सुरु गरेको थियो । सो क्रममा खाताबाट रकम निकासी गरिएको, तर त्यसको स्पष्ट अभिलेख नदेखिएको पाइएको पाइएको थियो ।
प्रहरीले घटनासँग सम्बन्धित बैंकिङ अभिलेख, कागजात तथा डिजिटल कारोबारसम्बन्धी विवरणहरू संकलन गर्ने काम तीव्र रूपमा अघि बढाएको जनाएको छ। हालसम्म हिनामिना भएको भनिएको रकमको यकिन विवरण सार्वजनिक गरिएको छैन। प्रहरीले घटनासम्बन्धी थप तथ्य संकलन गर्ने, पीडित ग्राहकहरूको विवरण लिने तथा वास्तविक हिनामिना भएको रकमको यथार्थ पत्ता लगाउने कार्यलाई प्राथमिकताका साथ अघि बढाएको चापागाईंको भनाइ छ ।