निर्वाचन आयोगले विशेष महाधिवेशनपछिको कांग्रेस नेतृत्वलाई वैधानिकता दिए पनि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन भएका वेला पूर्वसभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहले समानान्तर गतिविधि थालेको छ । कांग्रेस नेतृत्वको वैधानिकताबारे सर्वोच्च अदालतले आगामी आइतबार सुनुवाइ तोकेको छ, त्यसअघि दुवै पक्ष रणनीतिक छलफल र गतिविधिमा छन् ।
केही दिनअघि संस्थापन पक्षले केन्द्रीय समिति बैठकमार्फत आगामी १६–१९ असोजमा १५औँ केन्द्रीय महाधिवेशन आह्वान गरेको छ । यसका लागि उसले महाधिवेशनको सम्पूर्ण कार्यतालिकासमेत बनाइसकेको छ । सर्वोच्चको फैसलापछि कांग्रेसको आन्तरिक विषय हेरफेर हुन सक्ने ठाउँ छ ।
यहीवेला इतरपक्षले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठक मंगलबार बिहान बोलाएको छ । कांग्रेस केन्द्रीय कार्यालयका पूर्वमुख्यसचिव कृष्णप्रसाद पौडेलले अघिल्लो कार्यसमितिमा रहेका, तर हालको संस्थापन पक्षमा नभएका नेताहरूलाई बुधबार बैठकमा सहभागी हुन अनुरोध गरेका छन् । ‘हामीसँग पार्टी कार्यालय छैन, तर पार्टीको केन्द्रीय समितिको बैठक जुन प्रक्रियाबाट बसिन्छ, त्यहीअनुसार बैठक बस्न लागेको छ । कार्यवाहक सभापतिका रूपमा पूर्णबहादुर खड्काले बैठकको अध्यक्षता गर्नुहुन्छ,’ इतरपक्षका एक नेताले नयाँ पत्रिकासँग भने ।
अघिल्लो महाधिवेशनपछि निर्वाचित केन्द्रीय सदस्य रामहरि खतिवडाले मंगलबार बिहान केन्द्रीय समितिको बैठक बोलाइएको र समसामयिक परिस्थितिबारे छलफल गर्न लागिएको जानकारी दिए । ‘हाम्रो मुद्दा अदालतमा छ । सर्वोच्च अदालतको आदेश आउन बाँकी छ । एउटा पक्षबाट महाधिवेशन आह्वान भएको छ । अर्को पक्ष समेटिएको छैन । यी सबै विषयमा छलफल गर्न लागिएको बुझेको छु, मलाई पनि बोलाइएको छ,’ खतिवडाले भने ।
शनिबार पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई जेन–जी आन्दोलनमा भएको नरसंहारमा दोषी अभियोगमा प्रहरीले पक्राउ गरेपछि दुवै पक्षले समानान्तर विज्ञप्ति जारी गरेका थिए । संस्थापन पक्षले लेखकको पक्राउ गर्दा विधि मिचिएको, जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन त्रुटिपूर्ण र अपूरो रहेको उल्लेख गरे पनि लेखकको रिहाइ माग गरेको थिएन ।
तर, इतरपक्षले विशेष महाधिवेशन पूर्व रहेको पदीय हैसियतमा कांग्रेसको लेटरप्याड प्रयोग गरेर बेग्लै विज्ञप्ति निकालेको थियो । कार्यवाहक सभापतिको हैसियतमा पूर्णबहादुर खड्काले विज्ञप्ति जारी गरेपछि संस्थापन पक्ष आक्रोशित भएको छ । पार्टी अनुशासन समिति बैठक बुधबार तोकिएको छ, जहाँ इतरपक्षीय नेताले पार्टी अनुशासन उल्लंघन गरेको पिषयमा छलफल हुने नेताहरूले बताएका छन् ।
कांग्रेस महामन्त्री गुरुराज घिमिरेले अहिले निर्वाचन आयोगले निर्णय गरेर विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई मान्यता दिइसकेपछि र नयाँ नेतृत्वको हस्ताक्षरमा चुनावमा सहभागी भएको विषय सबैले स्वीकार गर्नुपर्ने बताए । ‘योबाहेक अरू विकल्प छैन । समानान्तर गतिविधि अनुचित र अर्थहीन छ,’ महामन्त्री घिमिरेले भने ।
अनुशासन समिति बैठक : खड्का र विश्वकर्मामाथि छलफल हुने
कांग्रेस अनुशासन समितिको बैठक बुधबार अपराह्न १ बजे तय भएको छ । तारामान गुरुङ संयोजक रहेको समितिले विशेषतः समानान्तर गतिविधि र पार्टी हितविपरीतका वक्तव्य दिएका नेताहरूबारे छलफल हुने एक नेताले बताए ।
‘समानान्तर रूपमा गतिविधि गरेका र पार्टीको लेटरप्याडको दुरुपयोग गरेका पूर्णबहादुर खड्का र पार्टीमा विभाजन ल्याउने गरी बोलेका मीन विश्वकर्माका बारेमा छलफल हुनेछ, बाँकी विषयमा पनि हुँदै जाला’ संस्थापन पक्षका एक नेताले भने । विश्वकर्माले अहिले कांग्रेसमा दुईजना सभापति रहेको भन्दै विशेष महाधिवेशनको नेतृत्वलाई सार्वजनिक रूपमा चुनौती दिँदै आएका थिए । अनुशासन समितिको बैठकमा गत निर्वाचनमा भएका अन्तर्घातका बारेमा पनि छलफल हुनेछ । शेरबहादुर देउवाको अन्तर्घातका कारण पार्टीले कम्तीमा २१ सिट हार्नुपरेको संस्थापन पक्षको आन्तरिक निष्कर्ष छ । एक नेताले भने, ‘पूर्णबहादुर खड्का र मीन विश्वकर्माको क्रियाशील सदस्यता नवीकरण नगर्नेसम्मको निर्णय हुन सक्छ ।’
इतर पक्षको कार्यक्रममा ११ सांसद, खड्का र कोइरालाको सम्बोधन
प्रतिनिधिसभा र राष्ट्रिय सभामा निर्वाचिन कांग्रेसका सांसदसँग सोमबार देउवा समूहका नेताहरूले छलफल गरेका छन् । धुम्बाराहीको स्मार्ट होटेलमा भएको कार्यक्रमलाई कांग्रेस नेताद्वय पूर्णबहादुर खड्का र डा.शेखर कोइरालाले सम्बोधन गरेका छन् । खड्का कार्यवाहक सभापतिका रूपमा प्रस्तुत भएका थिए । सांसदहरूको बधाई कार्यक्रममा कांग्रेस नेताहरू विमलेन्द्र निधि, डा. शशांक कोइराला, प्रकाशमान सिंह, एनपी साउदलगायत सहभागी थिए । प्रतिनिधिसभामा कांग्रेसको कुल ३८ सिटमध्ये ११ जना सांसद मात्रै चियापान तथा छलफलमा सहभागी भए । चियापानमा प्रतिनिधिसभाका सांसदहरू रुक्मिणी कोइराला, उर्मिला थपलिया रीना उप्रेती, विष्णुबहादुर खड्का टेकबहादुर गुरुङ, गंगालक्ष्मी अवाल, गीता सेङदेन सुशीला ढकाल आचार्य, हरिनादेवी कामी, जयपति रोकाय र निनु कर्ण सहभागी थिए । राष्ट्रिय सभाका सांसद रञ्जित कर्ण, खम्मबहादुर खाती, चन्द्र केसी, जगत तिमल्सिना, गीता देवकोटा, सुनीलबहादुर थापा, वासुदेव जंगली र धर्मेन्द्र पासवान सहभागी थिए । कांग्रेस नेता खड्काले संविधान संशोधनको बहसमा सहभागी हुन, संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न तथा संसद्मा नभएका तर अनुभवी नेताहरूसँग निरन्तर सम्पर्कमा रहेर सुझाव लिन अनुरोध गरेका थिए । यी सबै सांसद शनिबार पार्टीद्वारा आयोजित अभिमुखीकरणमा पनि सहभागी थिए ।