रास्वपाको ऐतिहासिक अग्निपरीक्षा

रास्वपाको सफलता दलहरूबिचको अपवित्र गठबन्धन होइन, बरु जनताले देशको विकास र जनजीविकाका लागि रास्वपासँग गरेको सिधा ‘जन–गठबन्धन’ हो

डिजिटल संस्करण

नेपालको राजनीति अहिले एउटा अभूतपूर्व ‘सिफ्ट’ र संक्रमणकालबाट गुज्रिरहेको छ । दशकौँदेखि सत्तामा रहेका पुराना दलको कार्यशैलीप्रति जनतामा व्याप्त वितृष्णा र ‘डेलिभरी’को हुटहुटीले नयाँ राजनीतिक शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई वैकल्पिक शक्तिबाट मुख्य शक्तिमा रूपान्तरण गरी सिंहदरबारमा स्थापित गराएको छ ।

वेस्टमिन्स्टर प्रणालीअनुसार पटक–पटकको अस्थिरतालाई अन्त्य गर्ने नाममा विगतमा कहिले कांग्रेस–माओवादी, कहिले एमाले–माओवादी त कहिले अन्य दलको बाध्यता भनौँ वा अप्राकृतिक र केवल सत्ताकेन्द्रित गठबन्धनले जनतालाई सधैँ रमिते बनाए । तर, यसपटक जनताले कुनै दलको ह्विप वा दलीय निष्ठाभन्दा माथि उठेर रास्वपामाथि विश्वास खन्याएका छन् ।

यो कुनै दलबिचको अपवित्र गठबन्धन होइन, बरु जनताले देशको विकास र जनजीविकाका लागि रास्वपासँग गरेको ‘सीधा जन–गठबन्धन’ हो । जनताले झन्डै दुईतिहाइ मत दिएर रास्वपालाई जुन जिम्मेवारी सुम्पिएका छन्, रास्वपाका लागि सत्तामा पुग्नु गन्तव्य होइन, बरु यो त एउटा ऐतिहासिक ‘अग्निपरीक्षा’ हो । जटिल समस्याको भुमरीमा फसेको देशलाई नयाँ गति दिन अब कुनै ‘पपुलिस्ट’ नाराले काम गर्दैन, बरु स्पष्ट, साहसिक र कठोर नीतिगत सुधारको आवश्यकता पर्छ ।

नेपालको राजनीतिक इतिहास अस्थिरताको एउटा दुश्चक्रबाट गुज्रिरहेको छ । २०१५ सालको दुईतिहाइको कांग्रेस सरकार, ०४६÷४७ पछिको बहुमतको कांग्रेसको सरकार, ०६४ को माओवादीको लगभग बहुमतको सरकार, २०७४ को नेकपाको स्पष्ट बहुमतको सरकार, यी सबै कालखण्डमा जनताले विकास र स्थिरताको ठुलो अपेक्षा गरेका थिए । तर, दुःखद सत्य यो हो कि ती सबै सरकार वेस्टमिन्स्टर प्रणालीको गोलचक्करमा फसेर ढले । शासकीय स्वरूपको यो ‘खेल’ले गर्दा प्रधानमन्त्री पद ‘म्युजिकल चेयर’जस्तो भयो, जसको सोझो असर राष्ट्रिय विकास र सुशासनमा पर्यो ।

नेपालमा पटक–पटक स्थिर सरकार नबन्नुको मुख्य कारण हाम्रो शासकीय स्वरूप नै हो । वेस्टमिन्स्टर प्रणालीले जबसम्म संसदीय अंकगणितमा मात्रै सरकारको आयु निर्धारण गरिरहन्छ, तबसम्म ‘डेलिभरी’ सम्भव छैन । संविधान निर्माणका वेला माओवादीले जोडदार रूपमा ‘प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति’को माग गरेको थियो । लोकतन्त्रमा कार्यपालिका स्थिर होस् र जनताप्रति जवाफदेही होस् भन्ने त्यो मागलाई त्यतिवेला संसदीय अंकगणित नपुगेर २०७२ को संविधानमा ‘नोट अफ डिसेन्ट’ मा राख्न बाध्य पारियो । आज, नयाँ पुस्ता (जेन–जी) ले त्यही मागलाई आफ्नो प्रमुख एजेन्डा बनाएको छ ।

रास्वपाले आफ्ना नीतिलाई इमानदारीसाथ कार्यान्वयन गर्न सके नेपालले केही वर्षमै आर्थिक फड्को मार्न सक्छ र जनताको भरोसा जोगिनेछ, पुराना दलकै शैलीमा अल्झिए यो परिवर्तनको लहर पनि इतिहासको एउटा ‘असफलता’ साबित हुनेछ

रमाइलो संयोग के छ भने माओवादीलाई पुरानो पार्टी भनिए पनि उसले जेन–जीको यो विद्रोहलाई समर्थन गरिरहेको छ, किनकि त्यो उनीहरूको पुरानो माग ‘प्रत्यक्ष निर्वाचित कार्यकारी, सुशासन, सामाजिक न्याय र समृद्धिको ‘अधुरो’ एजेन्डासँग मिल्दोजुल्दो छ । हिजोका ती राजनीतिक कमजोरीबाट पाठ सिक्दै, रास्वपा, नेपाली कम्युनिस्ट पार्टीजस्ता नयाँ शक्तिले अब यस्तो प्रणालीको वकालत गर्नुपर्छ, जसले सरकारलाई पाँच वर्ष ढुक्कसँग काम गर्ने वातावरण देओस् ।

सुशासन :  इतिहासले हामीलाई एउटा निर्मम पाठ सिकाएको छ । ०४६ पछिको संसदीय व्यवस्थामा नीतिगत भ्रष्टाचार नै विकासको सबैभन्दा ठुलो ‘क्यान्सर’ बन्यो । कर्मचारीतन्त्रभित्र मौलाएको भ्रष्टाचार अन्त्य गर्न अब सामान्य सुधारले काम गर्दैन, यसका लागि ‘डिजिटल सर्जरी’ नै चाहिन्छ ।

रास्वपा सरकारको पहिलो प्राथमिकतामा ‘उच्चस्तरीय सम्पत्ति छानबिन आयोग’ पर्नुपर्छ । ०४६ यताका प्रधानमन्त्री, मन्त्री र उच्चपदस्थ कर्मचारीको सम्पत्ति छानबिन गरी स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गर्ने आँट र अन्यका हकमा स्रोत नखुलेको सम्पत्तिलाई एउटा निश्चित करको दायराभित्र ल्याएर शुद्धीकरण गरिएन भने सुशासनको गफ केवल कोरा कल्पना मात्र हुनेछ । नागरिकताजस्तै सबैलाई पान नं. अनिवार्य गर्दै, प्रशासनलाई ‘फेसलेस’ र ‘पेपरलेस’ बनाउँदै इ–गभर्नेन्सलाई अनिवार्य गरिनुपर्छ । जब सेवाग्राही र सरकारी कर्मचारीको प्रत्यक्ष भेटघाट घट्छ, तब ‘टेबलमुनिको लेनदेन’ आफैँ कम हुन्छ । साथै, जनप्रतिनिधिले काम गर्न नसके फिर्ता बोलाउन सक्ने ‘राइट टु रिकल’ र ‘नो भोट’को अधिकार सुनिश्चित गरेर मात्र लोकतन्त्रलाई जीवन्त बनाउन सकिन्छ ।

आर्थिक दर्शन :  नेपालको अर्थतन्त्रलाई कसरी गति दिने ? उत्तर सहज छ– स्रोतको समुचित परिचालन र व्यावहारिक समाजवादबाट । शिक्षा र स्वास्थ्यमा राज्यको बलियो लगानी, तर उद्योग र व्यापारमा खुला प्रतिस्पर्धा हुन आवश्यक छ । नेपालको जलस्रोत र खानीको कथा दशकौँदेखि सुनाइएको छ, तर कार्यान्वयन निकै धिमा छ । रसुवाबाट सुरु भएको स्थानीयलाई जलविद्युत्मा १० प्रतिशत सेयर दिने ‘लोकप्रिय मोडल’ अब ढुंगा, गिटी, बालुवा, वन र खनिजमा पनि लागू गरिनुपर्छ । गणेश हिमालको सिसा, जस्ता, धौबादीको फलाम, तामा, रुबी, सुन र युरेनियमजस्ता खानीलाई ‘नेपाल खनिज विकास प्राधिकरण’मार्फत अन्तर्राष्ट्रिय मापदण्डमा उत्खनन गर्नुपर्छ । बन्द भएका उद्योगलाई सार्वजनिक–निजी साझेदारी (पिपिपी) मोडलमा पुनः सञ्चालन गरी स्वदेशी रोजगारी सिर्जना गर्नु आजको अनिवार्य आवश्यकता हो ।

कृषि क्रान्ति :  बिचौलियाको सिन्डिकेट अन्त्य गरी कृषिप्रधान मुलुकमा किसानले मूल्य नपाउने, तर उपभोक्ताले महँगोमा किन्नुपर्ने विडम्बना अन्त्य गर्नु अब बन्ने सरकारको अग्निपरीक्षा हो । किसान र बजारबिचका बिचौलियाको सिन्डिकेट तोड्न स्थानीय तहमा ‘सरकारी संकलन केन्द्र’ र कोल्ड स्टोरेज अनिवार्य स्थापना गरिनुपर्छ ।

बाँझो जग्गालाई ‘ल्यान्ड पुलिङ’ गरी सहकारीमार्फत व्यावसायिक खेतीमा लगाउनुपर्छ । अग्र्यानिक कृषि हब निर्माण गरेर यसलाई पर्यटनसँग जोड्ने ‘एग्रो–टुरिजम’को अवधारणाले गाउँ–गाउँमा पैसा र रोजगारी दुवै फर्काउन सक्छ । अन्तर्राष्ट्रिय बजारका लागि मूलतः नेपाली रैथाने उत्पादनलाई ‘ब्रान्डिङ’ गर्न बलियो ‘क्वालिटी कन्ट्रोल’ संयन्त्र आवश्यक छ ।

शिक्षा र स्वास्थ्य :  बेरोजगार उत्पादन गर्ने परम्परागत शिक्षालाई अब ७० प्रतिशत प्राविधिक शिक्षामा बदल्नुपर्छ । विद्यार्थी विद्यालयबाट निस्किँदा उसको हातमा कम्तीमा एउटा सीप हुनुपर्छ, जसबाट ऊ स्वरोजगार बन्न सकोस् । स्वास्थ्यतर्फ पाँच लाखको स्वास्थ्य बिमालाई ‘स्मार्ट हेल्थ कार्ड’सँग जोडेर देशका जुनसुकै अस्पतालमा कुनै झन्झटबिनै नगदले भन्दा स्मार्ट कार्डले तत्काल उपचार पाउने सुनिश्चितता गरिनुपर्छ । यो सेवालाई नागरिकको अनिवार्य अधिकारका रूपमा सुनिश्चित गरिनुपर्छ ।

भूराजनीति :  चीन र भारतजस्ता दुई ठुला अर्थतन्त्रका बिचमा रहेको नेपालको भूराजनीतिक अवस्थितिका कारण यहाँ अमेरिकी विश्व व्यवस्थाको पनि चासो बढ्दो छ । अबको सरकारले अपनाउने परराष्ट्र नीति ‘गतिशील तटस्थता’मा आधारित हुनुपर्छ । कसैको पक्ष वा विपक्ष नभई नेपाललाई ‘दुई अर्थतन्त्र जोड्ने पुल’का रूपमा विकास गर्नुपर्छ । नेपालले असंलग्न, सन्तुलित र समदुरीको परराष्ट्र नीति अपनाउनुपर्छ ।

०७२ को संविधान निर्माणपछि राजनीति र कूटनीति असफल भई सैन्य कूटनीति हाबी हुँदै गएको छ । त्यसलाई राजनीतिक कूटनीतिमा बदल्न सक्नुपर्छ । यो सामान्य तर निकै गम्भीर विषय हो । यसलाई निकै बुद्धिमत्तापूर्ण ढंगले लागू गर्न सक्नुपर्छ । कुनै पनि सैन्य गठबन्धनबाट टाढा रहेर आफ्नो आर्थिक स्वार्थमा केन्द्रित हुनु नै नेपालको दीर्घकालीन रक्षा रणनीति बन्नुपर्छ ।

सामाजिक सुधार :  नेपाली समाजमा देखासिकीमा हुने फजुल खर्च (विवाह, व्रतबन्ध, मृत्युसंस्कारमा हुने भड्किलो खर्च) आर्थिक विकासको एउटा अदृश्य बाधक हो । सरकारले ‘सामाजिक व्यवहार सुधार ऐन’ ल्याई यस्ता भड्किला संस्कारलाई नियन्त्रण गर्नुपर्छ । फजुल खर्च रोक्दा जोगिने रकमलाई उत्पादनमा लगाउने नीति हुनुपर्छ । राज्यस्तरबाट हुने अनावश्यक सुरक्षा लस्कर र सवारी साधनको कटौतीले मात्र पनि राज्यको ढुकुटीमा ठुलो बचत हुन सक्छ । बचत भएको यो रकमलाई साना तथा मझौला उद्योग र ‘स्टार्टअप’मा लगानी गर्ने नीति बनाउनुपर्छ । यसले समाजमा ठुलो आर्थिक अनुशासन र क्रान्ति ल्याउनेछ ।

नयाँ पुस्ताको स्पष्ट माग छ– केन्द्र र प्रदेशमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, विज्ञहरूको सानो मन्त्रिमण्डल र संविधानमा रहेका कमजोरी सच्याउन अब बन्ने सरकारले नेतृत्व लिनुपर्छ । पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्दै नागरिकता लिएकाहरूलाई स्वतः मतदाता सूचीमा राख्ने, नागरिकता नै ‘भोटर कार्ड’ हुने र विदेशमा रहेका लाखौँ नेपालीलाई ‘भोटिङ’ अधिकार दिने कार्य तत्काल लागू हुनुपर्छ । गैरआवासीय नेपालीलाई ‘एकपटकको नेपाली, सधैँको नेपाली’ भन्ने भावनासाथ दोहोरो नागरिकताको अधिकार सुनिश्चित गरी डायस्पोरामा रहेको पुँजी र सीपलाई नेपाल फर्काउन भूमिका खेल्नुपर्छ ।

सहकारी ठगीबाट पीडित लाखौँ जनताको बचत फिर्ता गर्नु यो सरकारको पहिलो प्राथमिकता हुनुपर्छ । ठगहरूको सम्पत्ति जफत गरी बचतकर्तालाई रकम फिर्ता गर्ने र सहकारीलाई पुनः जनविश्वासको केन्द्र बनाउन कडा नियमनकारी निकाय बनाउनुपर्छ । युवालाई विनाधितो सरल कर्जा, उत्पादनका आधारमा अनुदान र प्रविधिमा सहुलियत दिएर‘उद्यमशीलता’लाई प्रोत्साहित गर्नुपर्छ । प्रत्येक स्मार्टफोनमा सस्तो र भरपर्दो इन्टरनेट पु¥याई सूचना प्रविधिलाई आर्थिक वृद्धिको मेरुदण्ड बनाउनुपर्छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार श्रमको मूल्य निर्धारण गर्ने हो भने विदेशमा रहेका युवालाई नेपाल फर्किन र नेपालको युवा पलायनलाई रोक्न सकिनेछ ।

रास्वपाका लागि अबका दिन राजनीति गर्ने मात्र होइन, ‘डेलिभरी’ देखाउने दिन हुन् । रास्वपाले आफ्ना नीतिलाई इमानदारीसाथ कार्यान्वयन गर्न सके नेपालले केही वर्षमै आर्थिक फड्को मार्न सक्छ । यी कठोर नीतिमा सम्झौता भएन भने मात्र जनताको भरोसा जोगिनेछ, पुराना दलकै शैलीमा अल्झिए यो परिवर्तनको लहर पनि इतिहासको एउटा ‘असफलता’ साबित हुनेछ । अबको सरकारलाई सस्तो लोकप्रियता खोज्ने ‘बहादुरी’ होइन, केवल ‘विज्ञता, इमान र तीव्र इच्छाशक्ति’को खाँचो छ ।

यो जनमतको भारी र रास्वपाको कार्यक्षमतामाथि नै देशको आगामी दिशा निर्भर छ । रास्वपाले अपेक्षाअनुरूप काम गर्न सकेन भने देश फेरि गहिरो निराशामा धकेलिन सक्छ । यसले नेपाललाई दुईवटा विन्दुमा उभ्याउनेछ, या त यो संसदीय व्यवस्था पूर्णतः विफल भएर देश पश्चगामी दिशामा जानेछ, या त समाजको प्रगतिकामी चेतनाले नयाँ मोड लिँदै वैज्ञानिक समाजवादतर्फको क्रान्तिलाई जन्म दिनेछ ।

तर, देशले सही मार्ग समात्यो र यी नीतिमार्फत राष्ट्रिय पुँजीको निर्माण तथा रोजगारीको व्यापक सिर्जना हुन सक्यो भने नेपालले सुखद आर्थिक रूपान्तरणको बाटो तय गर्नेछ । अन्त्यमा, गन्तव्य चाहे जुनसुकै होस्, आजको युग सुहाउँदो ‘वैज्ञानिक समाजवाद’ नै नेपालको दिगो भविष्यको अन्तिम साध्य बन्न सक्छ ।
(गोतामे बागमती प्रदेश सभाका सदस्य हुन्)

सुझावित समाचार