मधेश प्रदेशका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारलाई शुभकामना दिँदै संघीयता कार्यान्वयन, समावेशिता र विकास निर्माणमा ठोस काम गर्न आग्रह गरेका छन् । आइतबार बसेको मधेश प्रदेश सभाको १४औँ बैठकमा सांसदहरूले नवगठित सरकारप्रति उच्च अपेक्षा व्यक्त गर्दै संघीयताको कार्यान्वयनलाई व्यवहारमा उतार्न तत्काल प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औँल्याएका हुन् ।
बैठकमा विभिन्न दलका सांसदले संविधानले दिएको अधिकार अझै पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको गुनासो गर्दै प्रदेशलाई अधिकार सम्पन्न बनाउन दलगत स्वार्थभन्दा माथि उठेर सहकार्य गर्नुपर्नेमा जोड दिए । उनीहरूले प्रदेश स्थापना भएको आठ वर्ष बितिसक्दा पनि संघीयताको अनुभूति जनतासम्म नपुगेको उल्लेख गर्दै स्पष्ट कार्ययोजना ल्याउन सरकारसँग आग्रह गरेका छन् ।
प्रमुख प्रतिपक्षी एमाले नेता सरोज यादवले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउने जिम्मेवारी वर्तमान सरकारको काँधमा रहेको बताउँदै आफ्नो पार्टीले रचनात्मक सहयोग गर्ने बताए । पूर्वमुख्यमन्त्रीसमेत रहेका उनले सरकारलाई प्रतिशोधको राजनीति नगरी विधि र कानुनअनुसार अघि बढ्न सुझाव दिए । साथै, मधेश प्रदेशलाई कम प्राथमिकता दिइएको आरोप लगाउँदै जनमतअनुसार बजेट र विकास सुनिश्चित गर्नुपर्ने धारणा राखे ।
जसपा सांसद जयनुल राइनले बहुवर्षीय योजना अधुरै रहेको भन्दै सरकारको कार्यसम्पादनमाथि प्रश्न उठाए । उनले ती योजना शीघ्र सम्पन्न गरी जनविश्वास कायम गर्नुपर्ने बताए । जनमतका सांसद चन्दनकुमार सिंहले संघीयताको मर्मअनुसार प्रदेशको अधिकार र पहिचान सुनिश्चित गर्न दीर्घकालीन योजना आवश्यक रहेको धारणा व्यक्त गरे ।
सांसद जीवछीकुमारी यादवले दाइजो प्रथा अन्त्य र महिलामाथि हुने हिंसा नियन्त्रणका लागि प्रभावकारी नीति ल्याउन सरकारको ध्यानाकर्षण गराइन् । जसपा सांसद ललिता दासले मधेशी दलित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न आग्रह गर्दै समावेशी शासनको आवश्यकता रहेको बताइन् । कांग्रेस सांसद तथा पूर्वमन्त्री कौशल रायले विगतका अधुरा योजना पूरा नगरेसम्म जनअपेक्षा पूरा नहुने उल्लेख गर्दै नयाँ सरकारलाई परिणाममुखी काममा केन्द्रित हुन सुझाव दिए ।