समावेशिताको सुन्दरता : सीता वादी अब माननीय मन्त्री

शनिबार, १४ चैत, २०८२
डिजिटल संस्करण
  • सुर्खेतको झुप्राखोला बगरमा जन्मे–हुर्केकी सीता सिंहदरबार पुगेकी छिन्, दलितभित्र पनि निकै पछाडि पारिएको समुदायबाट सर्वाेच्च पदमा पुग्ने सीता पहिलो

आँखाबाट तप्प आँसु झार्छिन् । एकछिन मौन हुन्छिन् । दुवै हातले आँसु पुस्छिन् । फेरि टिस्युपेपरले आँसु पुस्छिन् । र, आफूलाई सम्हाल्दै भन्छिन्, ‘यसरी यो पद (मन्त्री)मा पुग्छु भनेर सोच्दै नसोचेको कुरा हो । यसरी पार्टीले अवसर दिएको छ । यो सम्झेर, मेरो आफ्नो विगत सम्झेर, परिवार सम्झेर अलिकति इमोसनल भएजस्तो लाग्छ ।’

सुर्खेतको झुप्राखोला बगरमा जन्मे–हुर्केकी ३० वर्षीया सीता वादी शुक्रबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नियुक्त भइन् । शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथग्रहण गरेपछि सरकारी गाडीमा सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै गर्दा उनी भावुक बनिन् । 

बुबा गोपाल र आमा पार्वती अहिले पनि भेरी नदी अनि झुप्राखोलामा बालुवा चालेर जीविका चलाइरहेका छन् । छोरी सीता अब माननीय मन्त्री बनेकी छिन् । उनी दलित समुदायभित्र पनि निकै पछाडि पारिएको वादी समुदायबाट मन्त्री बन्ने पहिलो हुन् ।

रास्वपाबाट समानुपातिक सांसद रहेकी सीताले मन्त्री बनेपछि भनिन्, ‘मेरो घर सुर्खेत हो । महिला दिदीबहिनीहरू धेरै समस्यामा छन् । ती समस्या नीतिगत रूपमा कानुनी दायरामा रहेर बढाउँछौँ । महिलामाथि हुने हिंसा, बेचबिखन रोक्न नीतिगत व्यवस्था भए पनि कार्यान्वयन भएको थिएन । त्यसमा काम गर्नेछु ।’

यसअघि कांग्रेसले ०७४ मा उमादेवी वादीलाई सुदूरपश्चिम प्रदेश सभा सदस्य बनाएको थियो । सीता भने प्रतिनिधिसभा सदस्य हुँदै मन्त्री बनेकी हुन् । लामो समयदेखि राज्यको मूलधारबाट पछि पारिएको, उपेक्षित र बहिष्कृत समुदायको आवाज अब संसद् हुँदै सरकारमा पुगेको छ । 

कर्णालीबाट वादी समुदायको प्रतिनिधित्व गरेर सांसद बन्ने सीता पहिलो भएकामा मन्त्री नै बनेर इतिहास रचेको वादी समुदायका अगुवा हिक्मत वादीले बताए । ‘अब मन्त्री भएपछि पछाडि पारिएका वर्गको आवाज सरकारले सुनुवाइ गर्नेछ,’ उनले भने, ‘यो हाम्रा लागि गर्वको कुरा हो । वादी समुदायको एक महिलालाई रास्वपाले ठुलो अवसर दिएको छ । यसलाई अवसरका रूपमा सदुपयोग गर्नुपर्नेछ ।’

वादी समुदायमा जन्मिएर आफूहरूले भोगेका पीडा, शिक्षा, स्वास्थ्य, रोजगार, जातीय व्यवस्थामा आधारित शासन, सामाजिक अपमान र बहिष्कारलगायतका अपमान अब कुनै पनि समुदायका छोराछोरीले भोग्न नपरोस् भन्ने समाज निर्माण गर्नु आफ्नो राजनीतिक उद्देश्य भएको मन्त्री वादीले बताइन् । ‘अब सरकारमा भुइँतहको साँचो आवाज पुग्नुपर्छ । यो यात्रा मेरो मात्र होइन, हाम्रो साझा यात्रा बनाऔँ भन्ने उद्देश्य लिएर अघि बढेका छौँ,’ उनले भनिन्, ‘यसमा सबैले साथ दिन आवश्यक छ ।’

सीताका संघर्ष
वीरेन्द्रनगर नगरपालिका– १४, झुप्राखोला स्थायी घर भई हाल काठमाडौंको बुढानीलकण्ठ नगरपालिका– ८ मा बसोबास गर्दै आएकी सीताको बाल्यकाल कठोर संघर्षमा बित्यो । स्कुल जान छाडेर छाक टार्न परिवारसँगै बालुवा चाल्ने र गिट्टी कुट्ने काम गर्थिन् उनी । सीताले जनसेवा मावि घुस्रामा नौ कक्षासम्म पढेकी थिइन् । उनको परिवार जीविकोपार्जनका लागि भेरी नदी किनारमा बालुवा बोक्ने गर्दथे । अभावका बिचमा हुर्किएकी उनलाई पढाइ खर्च धान्नसमेत गाह्रो अवस्थामा बेला सामाजिक संस्थाले उनलाई शिक्षाको अवसर दियो । ब्याचलर अफ सोसल ओर्क र पछि राजनीतिशास्त्रमा स्नातकोत्तर गरिन् । 

सुझावित समाचार