चुनाव नजिकिँदा ओर्बानले बढाए युक्रेनप्रति शत्रुता

बढ्दो महँगी र बेरोजगारीले बिच्किएका मतदाताको ध्यान अन्यत्र मोड्न ओर्बानले सीमापारिको युक्रेनसित विवाद बढाउन थालेका छन्

बुधबार, ११ चैत, २०८२
डिजिटल संस्करण

गत महिनायता हंगेरी र युक्रेनबिचको सम्बन्ध निरन्तर बिग्रिरहेको छ । मार्चको सुरुमा हंगेरीबाट युक्रेनमा लाखौँ अमेरिकी डलरबराबरको नगद र सुन ढुवानी गरिरहेका सात युक्रेनी बैंक कर्मचारी पक्राउ परे । हंगेरीको कर प्राधिकरणले उनीहरूलाई सम्पत्ति शुद्धीकरणको आशंकामा हिरासतमा राखिएको बताएको छ । तर, लगत्तै युक्रेनले यस कदमप्रति आक्रोशित प्रतिक्रिया जनायो । सामाजिक सञ्जालमा एक पोस्ट गर्दै युक्रेनी विदेशमन्त्री एन्ड्री सिबिहाले हंगेरीको कदमलाई ‘राज्य आतंकवाद र फिरौती’को संज्ञा दिए ।

यो घटनाअघि नै हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले युक्रेनले आफ्नो देशको ऊर्जा प्रणालीमा क्षति पुर्याउने योजना बनाएको आरोप लगाउँदै ऊर्जा संयन्त्रमा सेना तैनाथ गरेका थिए । ओर्बानले त्यसअघि किभलाई युक्रेनी भूमि हुँदै आएको ड्रुज्बा पाइपलाइनबाट रुसी तेल आपूर्ति रोकेको आरोप लगाएका थिए । तथापि, युक्रेनविरुद्धको पछिल्लो तनाव वृद्धिपछाडि ओर्बानको खास उद्देश्य भने अर्कै छ । अप्रिलमा हंगेरीमा संसदीय चुनाव हुँदै छ । बढ्दो मुद्रास्फीति र सीमित रोजगारीका कारण बिच्किएका मतदाताको ध्यान अन्यत्र मोड्न ओर्बानले सीमापारिको युक्रेनसित विवाद बढाउन थालेका हुन् । 

हंगेरीको युक्रेनसँगको विवादमा इतिहास पनि जोडिएको छ । पहिलो विश्वयुद्धमा पराजयपछि विशाल अस्ट्रो–हंगेरीयन साम्राज्य टुक्य्राएर कैयाैँ देश बनाइएका थिए । त्यसरी बनेका विभिन्न मध्ययुरोपेली देशको नयाँ सिमानाभित्र हंगेरीयन समुदाय पर्न गए । त्यस्तैमध्ये एक क्षेत्र थियो, ट्रान्सकार्पाथिया । चेकोस्लोभाकियाको एक क्षेत्र रहेको यो भागलाई सन् १९४६ मा सोभियत संघले कब्जा गर्यो । र, त्यसलाई आफ्नो एक एकाइ युक्रेनमा जोड्यो । र, सन् १९९१ मा सोभियत संघ विघटनयता ट्रान्सकार्पाथियाको बाँकी भाग स्वतन्त्र युक्रेनमा पर्छ । 

ओर्बानले आफ्नो राष्ट्रवादी राजनीतिक करिअरमा छिमेकी देशमा पारिएका हंगेरियन अल्पसंख्यकप्रति हुने दुव्र्यवहारलाई प्रमुख रूपमा उठाउँदै आएका छन् । सन् २०१० मा दोस्रोपटक प्रधानमन्त्री बनेपछि उनले छेउछाउका देशका हंगेरियनलाई दोहोरो नागरिकता तथा हंगेरियन राहदानी प्रदान गर्ने लामो समयदेखिको प्रतिज्ञा पूरा गरे । पछि सन् २०१४ मा ओर्बानले युक्रेनमा जातीय हंगेरियनलाई ‘स्वायत्तता’ प्रदान गर्नुपर्ने आह्वान गरे । त्यसवेलादेखि उनले निरन्तर ट्रान्सकार्पाथिया क्षेत्रका हंगेरियन अल्पसंख्यकप्रति युक्रेनी सरकारले गलत व्यवहार गरिरहेको गुनासो गर्ने गरेका छन् । 

सन् २०१४ मा पूर्वी युक्रेनमा रुसले आक्रमण गरेपछि किभले देशभर अल्पसंख्यक भाषाको प्रयोगमाथि प्रतिबन्ध लगाउने कानुन लागू गर्यो । यी कानुन युक्रेनी भाषालाई प्रवद्र्धन गर्दै देशका उलेख्य क्षेत्रमा बोलिने रुसी भाषाको प्रयोग घटाउने उद्देश्यले ल्याइएको थियो । तर, ओर्बानले यो कानुनलाई ‘ट्रान्सकार्पाथिया’का हंगेरियन अल्पसंख्यकको भाषिक अधिकारमाथि प्रहारका रूपमा औँल्याउँदै विरोध जनाए । उनले युक्रेन र युरोपेली संघ (इयू)बिचको सहयोगलाई प्रवद्र्धन गर्ने विभिन्न उपायलाई रोक्न यही अल्पसंख्यक अधिकार रक्षाको तर्क गर्दै आएका छन् । 

जातीय हंगेरियन समुदायको अधिकारसम्बन्धी ओर्बानको अभियानको प्रमुख केन्द्रबिन्दु युक्रेन रहेको छ । तथापि, बुडापेस्टद्वारा लक्षित देश युक्रेन एक्लो भने होइन । ओर्बानले जुलाई २०२३ को एक भाषणमा दक्षिणी छिमेकी स्लोभाकियालाई पनि उल्लेख गरेका थिए, जहाँ ठुलो जातीय हंगेरियन अल्पसंख्यक बसोवास गर्छन् । 

युक्रेनमा युद्ध जारी रहेको र छिमेकी देश रुससँग नजिकिँदै गएकाले ओर्बानका लागि जातीय हंगेरियन समुदायको अधिकार रक्षाको मुद्दा उठाउन जटिल भएको छ । अक्टोबर २०२३ देखि रुसी समर्थक रोबर्ट फिको नेतृत्वको स्लोभाकिया सरकारले जनवरीमा ‘बेनेस डिक्री’विरुद्ध बोल्ने कार्यलाई अपराधीकरण गर्ने नयाँ कानुन पारित ग¥यो । दोस्रो विश्वयुद्धपछि बनेका कैयौँ कानुन संग्रह बेनेस डिक्री प्रयोग गरी सन् १९४० को दशकमा स्लोभाकिया सरकारले हजारौँ हंगेरीलाई देशनिकाला गरेको थियो । तर, विश्वभरका हंगेरियन अधिकारका पक्षधर दाबी गर्ने ओर्बान छिमेकी स्लोभाकियाको नयाँ कानुनप्रति भने नरम देखिएका छन् । 

ओर्बानको प्रारम्भिक प्रतिक्रिया सावधानीपूर्वक देखियो । उनले यसबारे समकक्षी फिकोसँग कुरा गर्ने वाचा त गरेका छन्, तर त्यसअघि परिस्थितिको ‘पर्याप्त गहिरो बुझाइ’ राख्ने बताएका छन् । उता आगामी चुनावमा ओर्बानका प्रतिद्वन्द्वी पिटर मग्यारले भने राजधानी बुडापेस्टमा अवस्थित स्लोभाक दूतावासअगाडि विरोध प्रदर्शनको नेतृत्व गरे । पर्याप्त दबाबपछि ओर्बानले युरोपेली आयोगमा यस कानुनविरुद्ध अपिल गर्ने घोषणा गरे । नयाँ कानुनले ओर्बानलाई धर्मसंकटमा पारेको छ । हंगेरियन अधिकारमाथि आक्रमणका लागि स्लोभाकियाको आलोचना नगरूँ, चुनावमा असर पर्ने डर, आलोचना गरूँ रुसी साझेदारसँग मतभेद बढ्ने जोखिम । 

आगामी चुनावपछि हंगेरी सरकारको नेतृत्व, जसले गरे पनि छिमेकी देशमा रहेका हंगेरियन अल्पसंख्यकप्रति ती देशका सरकारले गर्ने व्यवहारले कटुता सिर्जना गरिरहने सम्भावना छ । जस्तो– ओर्बानका प्रमुख प्रतिद्वन्द्वी मग्यारले कतिपय ओर्बानका कठोर नीतिलाई निरन्तरता दिने संकेत गरेका छन् । जस्तो– सन् २०२५ मा उनले युक्रेन र रोमानियामा रहेका जातीय हंगेरियनसँग भेट्न त्यस भेगको यात्रा गर्ने कुरा गरे । हंगेरियन अल्पसंख्यकप्रतिको व्यवहारलाई उठाएर छिमेकी राज्यलाई गाली गर्ने उनको रेकर्ड हेर्दा मग्यारको जितले पनि हंगेरी र युक्रेनबिचको तनाव अन्त्य भइहाल्ने संकेत देखिँदैन । तथापि, उनको जित ओर्बानको नेतृत्वमा वर्षौंको शत्रुतापछि एक नयाँ सुरुवात भने हुन सक्छ । 

(लुस्टाउ सेन्ट्रल युरोपेली विश्वविद्यालयको ‘इन्स्टिच्युट फर एड्भान्स्ड स्टडी’सँग आबद्ध छन्) द कन्भर्सेसनबाट

सुझावित समाचार