बागमती प्रदेशमा पछिल्लो १० वर्षमा विभिन्न प्राकृतिक तथा गैरप्राकृतिक विपत्का कारण एक हजार ३८ जनाले ज्यान गुमाएका छन् । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार ०७२ देखि ०८२ असार मसान्तसम्म १३ जिल्लामा ६ हजार ८३९ वटा विपत्का घटना हुँदा १८१ जना बेपत्ता भएका छन् । घटनामा दुई हजार ३११ जना घाइते भएका छन् ।
मन्त्रालयकी सूचना अधिकारी रविता कार्कीका अनुसार यस अवधिमा विपत्ले १६ हजार ६५३ परिवारलाई प्रत्यक्ष प्रभावित बनाएको छ । आर्थिक रूपमा करिब ६ अर्ब ९५ करोड ४१ लाख रुपैयाँबराबरको क्षति भएको छ । विपत्का कारण चार हजार ७२७ घर पूर्ण रूपमा ध्वस्त भएका छन् । पाँच हजार ८९६ घरमा आंशिक क्षति पुगेको छ ।
मन्त्रालयको तथ्यांकअनुसार सबैभन्दा धेरै विपत्का घटना काठमाडौं जिल्लामा भएका छन् । काठमाडौंमा १० वर्षमा एक हजार ७७८ घटना दर्ता भएका छन् । तर मानवीय क्षतिको हिसाबले चितवन सबैभन्दा अगाडि छ, जहाँ १४९ जनाको ज्यान गएको छ । सिन्धुपाल्चोकमा ११६ जनाको मृत्यु र ६५ जना बेपत्ता भएका छन् । जुन बेपत्ता हुनेमध्ये सबैभन्दा उच्च संख्या हो ।
बागमती प्रदेशका काभ्रेमा ११९, काठमाडौं ११३, मकवानपुर ११२, धादिङ ९०, ललितपुर ७८, सिन्धुली ६८, रसुवा ५३, दोलखा ४४, रामेछाप ४१, नुवाकोट ३६ र भक्तपुरमा १९ जनाको मृत्यु भएको छ । घाइते हुनेमध्ये काठमाडौंमा सबैभन्दा धेरै ४४७ जना छन् । त्यसपछि मकवानपुर ३९१, चितवन ३१७, काभ्रे १६८, सिन्धुली १५१, धादिङ १३७, सिन्धुपाल्चोक १३३, ललितपुर १२६, भक्तपुर ११७, दोलखा ९३, नुवाकोट ८७, रसुवा ७८ र रामेछाप ६६ जना छन् ।
१० वर्षमा चार हजार २३ आगलागीका घटना, साढे पाँच अर्बको क्षति
सूचना अधिकारी रविता कार्कीका अनुसार विपत्का घटनाको प्रकृतिअनुसार प्रदेशमा आगलागी घटना सबैभन्दा धेरै भएको छ । उनले १० वर्षमा चार हजार २३ आगलागीका घटना हुँदा १८० जनाको मृत्यु र पाँच अर्ब ४२ करोडभन्दा बढीको क्षति भएको जानकारी दिइन् । तर, मानवीय क्षतिको दृष्टिले पहिरो सबैभन्दा घातक रहेको उनको भनाइ छ । कार्कीका अनुसार १० वर्षमा प्रदेशमा ९२८ वटा पहिरोका घटना भएकामा ४६७ जनाको मृत्यु भएको छ भने १०७ जना बेपत्ता भएका छन् ।
‘प्रदेशमा विपत्का घटनामा आगलागी घटना सबैभन्दा धेरै भएको छ । १० वर्षमा चार हजार २३ आगलागीका घटना हुँदा १८० जनाको मृत्यु भएको छ । ९२८ वटा पहिरोका घटना हुँदा ४६७ जनाको मृत्यु भएको छ,’ उनले भनिन्, ‘१० वर्षमा आगलागी सबैभन्दा बढी भए पनि मानवीय हिसाबले पहिरो नै सबैभन्दा घातक देखिएको छ ।’
३४१ बाढीका घटनामा १०० जनाको मृत्यु र एक अर्ब १९ करोड रुपैयाँ बराबरको क्षति भएको छ । चट्याङबाट ११४, वन्यजन्तु आक्रमणबाट ७३ जना र बाँकीको अन्य घटनाबाट ज्यान गएको उनले बताइन् । प्रदेशमा चट्याङका ३७२, जंगल आगलागीका ३५६, जनावर आतंकका ३३८, भारी वर्षाका २५८, हावाहुरीका १०४ तथा भूकम्प, सर्पदंश, हवाई दुर्घटनालगायत १०९ घटना भएको सूचना अधिकारी कार्कीले बताइन् । मन्त्रालयको तथ्यांकअनुसार ग्रामीण तथा पहाडी जिल्लाहरूमा पहिरो र बाढीको जोखिम उच्च रहेको देखाएको छ । विशेषगरी बागमती प्रदेशको सिन्धुपाल्चोक, धादिङ, रसुवा, दोलखाजस्ता जिल्ला बढी जोखिममा छन् ।
मन्त्रालयले विपत् जोखिम न्यूनीकरण, प्रतिकार्य र पुनर्निर्माणमा विभिन्न कार्यक्रम अघि बढाएको जनाएको छ । सूचना अधिकारी कार्कीका अनुसार बाढीपहिरो र आगलागी पीडितका लागि राहत वितरणदेखि ‘युनिफाइड कमान्ड टिम’ र ‘मनसुन प्रतिकार्य कमान्ड पोस्ट’ स्थापना गरिएको छ । ‘बाढीपहिरो र आगलागीपीडितका लागि राहत वितरणदेखि ‘युनिफाइड कमान्ड टिम’ र ‘मनसुन प्रतिकार्य कमान्ड पोस्ट’ स्थापना गरेर काम भइरहेको छ,’ उनले भनिन् ।
यस अवधिमा मनसुनजन्य तथा आगलागीबाट प्रभावितहरूको निजी आवास पुनर्निर्माणका लागि लागत साझेदारीमा १६ करोड ५७ लाख रुपैयाँ उपलब्ध गराइएको छ । यस्तै, मनसुनजन्य विपत् न्यूनीकरणका लागि स्थानीय तहलाई दुई करोड ३० लाख रुपैयाँ र जोखिममा रहेका बस्ती संरक्षण तथा पूर्वाधार मर्मतका लागि ३० स्थानीय तहलाई सात करोड ९० लाख रुपैयाँ विनियोजन गरिएको छ, जसअन्तर्गत हालसम्म तीन करोड ८५ लाख रुपैयाँ निकासा भइसकेको छ ।
प्रदेशका १३ जिल्लामा तत्काल प्रतिकार्यका लागि प्रतिजिल्ला पाँच लाखका दरले ६५ लाख रुपैयाँ विपत् व्यवस्थापन कोषमार्फत पठाइएको छ । हेटौँडा, नुवाकोट र काभ्रेमा गोदामघर निर्माण गरी राहत सामग्री भण्डारण सुदृढ बनाइएको छ भने स्वयंसेवक समूह गठन, तालिम र कृत्रिम अभ्याससमेत सञ्चालन गरिएको सूचना अधिकारी कार्कीले बताइन् । ‘हेटौँडा, नुवाकोट र काभ्रेमा गोदामघर निर्माण गरेर राहत सामग्री भण्डारणलाई व्यवस्थित बनाइएको छ, साथै स्वयंसेवक समूह गठन, तालिम र कृत्रिम अभ्यास पनि सञ्चालन भइरहेका छन्,’ उनले भनिन् ।