वरिष्ठ उपाध्यक्ष खाली राखेर उद्योग वाणिज्य महासंघमा एउटा प्यानल घोषणा

मंगलबार, १० चैत, २०८२
डिजिटल संस्करण
  • आगामी अध्यक्ष अञ्जन श्रेष्ठको समर्थनमा वस्तुगततर्फ घिमिरे, एसोसिएटमा पाण्डे, जिल्लानगरमा शर्मा र श्रेष्ठ उपाध्यक्ष रहेको प्यानल

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई)को आगामी निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षको टुंगो नलगाई प्यानल घोषणा गरिएको छ । शिवप्रसाद घिमिरे, प्रबलजंग पाण्डे, दिलसुन्दर श्रेष्ठ र कृष्णप्रसाद शर्माले प्यानलसहित उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । घिमिरेले वस्तुगत उपाध्यक्ष, पाण्डेले एसोसिएसट उपाध्यक्ष र शर्मा तथा श्रेष्ठले जिल्ला नगर उपाध्यक्षमा प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन् ।  

काठमाडौंमा सोमबार आयोजित एक समारोहमा उनीहरूले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका हुन् । यो प्यानललाई वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठको समर्थन रहेको छ । श्रेष्ठ आसन्न साधारणसभापछि स्वत: अध्यक्ष बन्नेछन् । उक्त कार्यक्रममा वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले अहिलेको अवस्थामा बलियो निजी क्षेत्र आवश्यक हुने भन्दै सर्वसम्मतिमा नेतृत्व चयन गर्नुपर्ने बताए । त्यस्तै, आगामी अध्यक्ष श्रेष्ठले अन्तिम समयसम्म सहमतिको प्रयास गर्ने बताए । 

वस्तुगततर्फको उपाध्यक्ष पदमा घिमिरेले १६ सदस्यीय सदस्य पदका उम्मेदवारसहितको समूह सार्वजनिक गरेका छन् । ऊर्जा र एलपी ग्यास क्षेत्रमा स्थापित व्यवसायी घिमिरे समूहका वस्तुगत सदस्यका उम्मेदवारमा अरनिको राजभण्डारी, रविन पुरी, राजकुमार कार्की, वसन्तचन्द्र मरहट्टा, सुनीता न्हेमाफुकी, संघर्ष विष्ट, रघुनन्दन मारू, राजेशभक्त श्रेष्ठ, होमप्रसाद घिमिरे, धनप्रसाद लामिछाने, धर्मराज सापकोटा, कृष्णप्रसाद अवाले, एबबहादुर थापा, विश्वनाथ खनाल, नानीराज घिमिरे र ध्रुुवबहादुर गौतम रहेका छन् । 

आसन्न निर्वाचनमा एसोसिएट उपाध्यक्षका प्रत्याशी पाण्डेले बलियो टिम बनाएका छन् । उनको टिममा अम्बिकाप्रसाद पौडेल, बाबुकाजी कार्की, अभया मल्ल, सुशील थापा, हेमन्त गोल्छा, ईश्वर जिसी, जुना माथेमा, कृष्णलाल महर्जन, मनोज पौडेल, निकोलश पाण्डे, सुयोस प्याकुरेल, प्रियाराज रेग्मी, राजेशकुमार अग्रवाल, आरएस भण्डारी, शक्तिकुमार बेगानी, उज्वल श्रेष्ठ र ऋषि अग्रवाल रहेका छन् । 

यसअघि उपाध्यक्ष हेमराज ढकालले प्यानलसहित वरिष्ठ उपाध्यक्षको उम्मेदवारी घोषणा गरिसकेका छन् । ढकालको प्यानलमा एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ, महिला उपाध्यक्षमा कमला श्रेष्ठ र जिल्ला नगर उपाध्यक्षमा उमेश डालमिया र कल्पना गैरे छन् ।

सुझावित समाचार