प्रतिनिधिसभा निर्वाचनमा आएको ठुलो धक्कापछि कांग्रेसभित्रको आन्तरिक विवाद अब समानान्तर संरचना र गतिविधितर्फ उन्मुख भएको छ । संस्थापन पक्षले केन्द्रीय समिति बैठक समापन गरेकै दिन आइतबार पूर्वसभापति शेरबहादुर देउवा र वरिष्ठ नेता शेखर कोइराला समूहले विशेष महाधिवेशनअघिको केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको छ ।
सानेपास्थित पार्टी मुख्यालयमा सभापति गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति बैठक चलिरहेकै वेला आइतबार धुम्बाराहीस्थित होटेल स्मार्टमा बसेको देउवा–कोइराला समूहका उपलब्ध केन्द्रीय कार्यसम्पादन समिति सदस्यहरूको बैठकले यस्तो निर्णय गरेको हो । देउवा–कोइराला समूहको यस तयारीले कांग्रेसभित्रको विवाद अझ जटिल र तनावपूर्ण बन्न सक्ने संकेत दिएको छ ।
धुम्बाराहीस्थित होटेल स्मार्टमा बसेको उपलब्ध केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरूको बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको निवर्तमान प्रचार विभाग प्रमुख नेता मीन विश्वकर्माले बताए । तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको बैठकमा नेता कोइरालासहित उनी पक्षधर नेता पनि सहभागी थिए ।
उनका अनुसार आइतबारको बैठकमा शशांक कोइराला, विजय गच्छदार, प्रकाशमान सिंह र बालकृष्ण खाणलगायतका दुई दर्जनजति नेता सहभागी थिए । कार्यसम्पादन समितिले शीर्ष नेताहरूसँगको परामर्शमा केन्द्रीय समिति बैठकको मिति तय गर्ने जिम्मेवारी तत्कालीन कार्यवाहक सभापति खड्कालाई दिएको छ ।
निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वलाई वैधानिकता दिएसँगै कांग्रेस चुनावमा होमिएको थियो । तर, देउवा पक्षले आयोगको निर्णयविरुद्ध रिट दायर गर्दै आधिकारिक कांग्रेस आफू रहेको दाबी गर्दै आएको छ । अदालतले आधिकारिकतासम्बन्धी विवाद टुंगो लगाउन बाँकी छ । यहीबिचमा दुवै पक्ष आ–आफ्नै रणनीति र योजनाअनुसार विवाद समाधान गर्ने संवादमा भन्दा पनि फराकिलो बनाउने गतिविधिसहित अगाडि बढिरहेका छन् ।
सभापति थापाको राजीनामा अस्वीकृत
निर्वाचनमा हारको नैतिक जिम्मेवारी लिँदै सभापति गगन थापाले पदबाट दिएको राजीनामा कांग्रेस केन्द्रीय कार्यसमितिले अस्वीकृत गरेको छ । सभापति थापाको व्यक्तिगत कारण नभई संरचनागत समस्या तथा नियन्त्रणबाहिरका परिस्थिति रहेको बैठकको जिकिर छ । बैठकले २१ फागुनमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा पार्टीको अकल्पनीय हारका आठ आधार तेस्र्याएको छ । ‘प्रतिनिधिसभा निर्वाचनको परिणामलाई लिएर यसको नैतिक जिम्मेवारी लिँदै सभापति गगनकुमार थापाले उपसभापतिसमक्ष विधानको धारा २६ (१) बमोजिम पेस गर्नुभएको राजीनामा केन्द्रीय कार्यसमिति बैठकले सर्वसम्मत रूपमा अस्वीकृत गर्ने निर्णय गरेको छ,’ बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता देवराज चालिसेले भने ।
चुनावी समीक्षा प्रतिवेदन पारित
प्रतिनिधिसभामा ठुलो पराजयसँगै क्षति व्यहोर्नुका पछाडि २७ कारण देखाएको बैठकले उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको निर्वाचन प्रारम्भिक समीक्षासम्बन्धी प्रतिवेदन परिमार्जनसहित पास गरेको छ । साथै बैठकले निर्वाचन परिणामलाई लिएर जिल्ला र निर्वाचन क्षेत्रबाट पनि प्रतिवेदन पठाउन निर्देशन दिँदै पुनः समीक्षा गरी अन्तिम विश्लेषण गर्ने निर्णय गरेको छ ।
हारका कारणहरूमा चरम गुटबन्दी तथा आन्तरिक असहयोग, आफूसमेत सम्मिलित गठबन्धन सरकारका काम जनअपेक्षाविपरीत हुनु, ३५ वर्षमा ३० सरकार फेरिँदा जनआक्रोश बढ्नु र जेन–जी आन्दोलनबाट पुराना राजनीतिक शक्तिहरूप्रति असन्तोष अभिव्यक्त हुनुलगायतलाई मानिएको छ । त्यस्तै, डिजिटल युगमा एल्गोरिदमिक प्रभावका कारण नयाँ शक्तिलाई प्रतिक्रियात्मक लाभ पुग्नु, विशेष महाधिवेशनपश्चात् गठन भएको नयाँ नेतृत्वलाई करिब ५० दिनभित्र सबै चुनौती समाधान गर्न कठिन भएकाले पनि ठुलो हार भएको शर्माको प्रतिवेदनमा छ ।
यस्तै, पार्टीभित्रको घात–अन्तर्घातका कारण २१ सिटमा पराजित हुनुपरेको प्रारम्भिक विश्लेषण रहेको प्रवक्ता चालिसेले बताए । ‘पाँचदेखि तीन हजारको मतान्तरमा हारिएका क्षेत्रमा घात–अन्तर्घात मुख्य कारणमध्येको एउटा कारण हुन सक्ने हाम्रो प्रारम्भिक निचोड छ, तर अन्तिम निष्कर्षमा पुगेका छैनौँ,’ चालिसेले भने । उनका अनुसार पाँच भोटदेखि तीन हजार मतान्तरले कांग्रेसले २१ क्षेत्रमा हार व्यहोरेको छ ।
सभापति थापाको राजीनामा अस्वीकृत
निर्वाचनमा हारको नैतिक जिम्मेवारी लिँदै सभापति गगन थापाले पदबाट दिएको राजीनामा कांग्रेस केन्द्रीय कार्यसमितिले अस्वीकृत गरेको छ । सभापति थापाको व्यक्तिगत कारण नभई संरचनागत समस्या तथा नियन्त्रणबाहिरका परिस्थिति रहेको बैठकको जिकिर छ । बैठकले २१ फागुनमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा पार्टीको अकल्पनीय हारका आठ आधार तेस्र्याएको छ । ‘प्रतिनिधिसभा निर्वाचनको परिणामलाई लिएर यसको नैतिक जिम्मेवारी लिँदै सभापति गगनकुमार थापाले उपसभापतिसमक्ष विधानको धारा २६ (१) बमोजिम पेस गर्नुभएको राजीनामा केन्द्रीय कार्यसमिति बैठकले सर्वसम्मत रूपमा अस्वीकृत गर्ने निर्णय गरेको छ,’ बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता देवराज चालिसेले भने ।