आयोजक अस्ट्रेलियालाई १–० ले हराउँदै एएफसी महिला एसियन कप उपाधि जापानले जितेको छ । शनिबार सिड्नीस्थित एकोर रंगशालामा जापानलाई जित दिलाउन माइका हमानोले विजयी गोल गरेकी थिइन् ।
कीर्तिमानी ७४ हजार ३९७ समर्थकको उपस्थिति रहेको खेलमा हमानोले १७औँ मिनेटमा गोल गरेकी थिइन् । उनले बक्सबाहिरबाट सुन्दर गोल गरिन् । जापानले तेस्रोपटक उपाधि उचालेको हो ।
यसअघि जापानले २०१४ र २०१८ मा उपाधि जितेको थियो । ती दुई फाइनलमा पनि जापानले अस्ट्रेलियालाई १–० ले नै हराएको थियो । प्रतियोगितामा ६ गोल गरेकी जापानकी रिको उएकी सर्वाधिक गोलकर्ता चुनिइन् ।
जापानकै अयाका यमासिता सर्वाेत्कृष्ट गोलकिपर र अस्ट्रेलियाकी एलान्ना केनेडी सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । यो प्रतियोगिताको सर्वाधिक सफलत टिम चीन हो । उसले नौपटक उपाधि जितिसकेको छ ।