२१औँ नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिप सम्पन्न

पुरुषतर्फ भारतका अक्षय, महिलातर्फ चीनकी कोंग र टिममा फ्लाई भारकला प्रथम

शनिबार, ७ चैत, २०८२
डिजिटल संस्करण

२१औँ संस्करणको नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप २०२६ अन्तर्गत एक्युरेसी पुरुष (ओभरअल) मा भारतका अक्षय कुमार, एक्युरेसी महिला (ओभरअल) मा चीनकी कोंग झयङ यान र टिम (ओभरअल) मा फ्लाई भारकलाले प्रथम स्थान हात पारेका छन् ।

नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजना, नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ र नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लबको सहयोग, नेपाल पर्यटन बोर्डको प्रवर्द्धन्, पोखरा महानगरपालिका र प्रदेश खेलकुद परिषद् गण्डकीको सहकार्य एवं पोखरा पर्यटन परिषद्को समन्वयमा सम्पन्न च्याम्पियनसिपअन्तर्गत  एक्युरेसी पुरुष (ओभरअल) मा ५२ पाइलटले प्रतिस्पर्धा गरेकोमा भारतका अक्षय कुमार ७ अंकसहित शीर्ष स्थानमै रहँदै उपाधि हात पार्दा समान ७ अंकसहित चीनका झोउ चेन दोस्रो, समान ८ अंक ल्याएका भारतका इमान स्मतेल तेस्रो, अलिस्टर रुमतेल चौथो र मनीष उप्रेतले पाँचौ, समान ११ अंक सहित नेपालका पवन परियार छौटा र अरुण जालारीले सातौँ स्थान हात पारेका इभेन्ट जर्ज विजय गौतमले जानकारी दिए ।

एक्युरेसी महिला (ओभरअल) मा १० पाइलटले प्रतिस्पर्धा गरेकोमा चीनकी कोंग झयङ यान ७ अंकसहित प्रथम हुँदा, १२६ अंकसहित नेपालकी दुर्गा माया गुरुङ दोस्रो, १४९ अंकसहित भारतकी श्रेयशी तामाङ तेस्रो, नेपालकी इस्का राई ३५४ अंकसहित चौथो, कृषु पौडेल ५२६ अंकसहित पाँचौँ स्थान हात पारिन्।

यसैगरी टिम (ओभरअल) तर्फ ११ टोलीले प्रतिस्पर्धा गरेकोमा भारतका पाइलटहरूको टिम फ्लाई भारकला ३८ अंकसहित प्रथम स्थान हात पार्दा नेपाल र भारतका पाइलटहरूको टिम इन्डो–नेपाल ६७ अंकसहित दोस्रो, टिम नेपाल १०९ अंकसहित तेस्रो, नेपालका पाइलटहरूको टिम फ्लो १६० अंकसहित चौथो र टिम चाइना ३७६ अंकसहित पाँचौँ स्थानमा रहे।

आयोजक नाका प्रथम उपाध्यक्ष खेमराज आचार्यका अनुसार च्याम्पियनसिप नेपालसहित नौ देशका ५२ पुरुष र ११ महिला गरी ६३ जना पाइलटले प्रतिस्पर्धा गरेका थिए। एफएआई क्याटोगरी २ अन्तर्गत सञ्चालन गरिएको च्याम्पियनसिपमा एक्युरेसी पुरुष (ओभरअल), एक्युरेसी महिला (ओभरअल) र टिम (ओभरअल) गरी तीन विधाकाे प्रतिस्पर्धा भएको थियो। विजेतामध्ये पुरुषतर्फ  पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः एक लाख ५० हजार, एक लाख र ५० हजार नगद पाउँदा महिलातर्फ र टिमतर्फका विजेताले ७५, दोस्राले ५० र तेस्रोले २५ हजार नगदसँगै मेडल र प्रमाणपत्र पुरस्कार पाएका आचार्यले जानकारी दिए।

सुझावित समाचार