इजरायल–इरान युद्धमा हतियारका रूपमा एआई

शनिबार, ७ चैत, २०८२
डिजिटल संस्करण
  • इजरायल–इरान युद्ध ‘डिजिटल–भौतिक युद्धभूमि’मा लडिएको छ, जसमा परम्परागत छलनीति र अत्याधुनिक एआई प्रविधि पनि हतियारका रूपमा प्रयोग भइरहेको छ

इरानमाथि आक्रमणअघिको रात इजरायली जनरलहरूले आफूले चढ्ने गरेको कार तेल अभिभको सैन्य मुख्यालयको पार्किङस्थलहरूमा नभई घरमै राखेका थिए । रातको समय मुख्यालयमा थुप्रै गाडी देख्दा इरानका लागि निगरानी गर्नेहरूले कुनै तयारी हुँदै गरेको ठान्ने र युद्ध नजिकिँदै गरेको संकेत मान्न सक्थे । त्यस्तै, युद्धअघिका केही दिन अमेरिकी युद्धविमानहरू इरानलाई झुक्याउनका खातिर दक्षिणी इजरायलमा जानाजानी पार्क गरेर राखिको थियो । इरानले चिनियाँ भूउपग्रहमार्फत इजरायलमाथि नजिकबाट नजर राखेको अनुमानमा भ्रम छर्न यस्तो गरिएको थियो । इजरायलले युद्धका लागि प्रयोग गरेका लडाकु विमानसमेत पूर्णत: अनपेक्षित क्षेत्र अर्थात् उत्तरी इजरायलको रमत डेभिड बेसबाट उडाएको थियो । 

इजरायली सेनाको अपरेसन निर्देशनालयका एक वरिष्ठ रक्षा अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा एनपिआरसँगको कुराकानीमा इजरायल र अमेरिकाले इरानविरुद्ध युद्ध सुरु गर्दा यीलगायत धेरै छलनीति अपनाएको पुष्टि गरे । ‘यस्ता चालको उद्देश्य प्रतिद्वन्द्वी पक्षलाई छिट्टै कुनै कदम चालिँदै छ भन्ने भनकसमेत नपरोस् भन्ने हुन्छ,’ केही अघिसम्म इजरायली सेनाका लागि मनोवैज्ञानिक प्रभाव युद्धको नेतृत्व गर्ने कर्नल डोरोन हदारले भने । अधिकारीहरू र विश्लेषकका अनुसार इरान युद्ध ‘डिजिटल–भौतिक युद्धभूमि’मा लडिएको छ, जसमा परम्परागत छलनीति र अत्याधुनिक एआई प्रविधि पनि हतियारका रूपमा प्रयोग भइरहेको छ ।

इरानविरुद्ध साइबर अपरेसन
इरानी भूमिमा अमेरिकी बम बर्सिनुअघि नै अमेरिकाको सेनाले त्यहाँ साइबर आक्रमण गरेको थियो । ‘एकदम सटिक रूपमा अन्तरिक्ष र साइबर अपरेसन एकसाथ चलाएर निसाना क्षेत्रको सञ्चार र सेन्सर सञ्जाल पूरै अवरुद्ध गरिएको थियो । परिणामस्वरूप प्रतिद्वन्द्वीको अवलोकन गर्ने, समन्वय गर्ने र जवाफ फर्काउने क्षमता प्रभावकारी रूपमा कमजोर बन्यो,’ अमेरिकी सेनाको ‘जोइन्ट चिफ अफ स्टाफ’ प्रमुख जनरल डेन केनले आक्रमणबारे पत्रकारसँग बोल्ने क्रममा भने । 

उता इरानी सर्वोच्च नेता अयातुल्लाह अली खामेनीलाई निसाना बनाउन पठाइएका इजरायली युद्धक विमानले इरानको राजधानीका सडकमा ट्राफिक प्रयोजनका लागि राखिएको क्यामेरा ह्याक गरेर उनको अवस्थिति पत्ता लगाएको इजरायली रक्षा मन्त्रालयका एक वरिष्ठ अधिकारीले भने । ‘फाइनान्सियल टाइम्स’ले लेखेको एक समाचार अनुसार इजरायलले निसाना यकिन गर्न ट्राफिक क्यामेराले खिचेका भिडियो फुटेजहरू र अर्बौँ डेटा पोइन्स मिलाएर हेरेको थियो । ‘यस युद्धमा इजरायलले निसाना सटिक बनाउन धेरै अत्याधुनिक प्रकारको डेटा प्रशोधन वा ठुलो डेटा फ्युजन प्रविधि प्रयोग गर्यो । सामान्य मानिसले बुझ्ने भाषामा यो युद्धमा एआईको प्रयोग भएको हो,’ इजरायली अखबार ‘हारेट्ज’का साइबर–सुरक्षा रिपोर्टर ओमर बेन्जाकोबले भने । 

सैन्य प्रयोगका लागि आफ्नै स्वतन्त्र एआई प्रणाली विकास गर्ने सन्दर्भमा इजरायल अमेरिकाभन्दा धेरै अगाडि रहेको बेन्जाकोभको ठम्याइ छ । अहिले नै एन्थ्रोपिक’ कम्पनीले विकास गरेको एआई मोडेल ‘क्लाउड’को सैन्य प्रयोग गर्न दिने सन्दर्भमा ट्रम्प प्रशासन र कम्पनीबिच विवाद चलिरहेको छ । ‘यो प्रविधि विकासमा केही स्तरमा सेना आफैँ सक्षम हुनुपर्छ भन्ने धारण यहाँ छ,’ बेन्जाकोबले इजरायलको सेनातर्फ औँल्याउँदै भने, ‘कुनै दिन इजरायली सेनाले पनि क्लाउड प्रयोग गरेको पत्ता लाग्यो भने सान फ्रान्सिस्कोमा विरोध हुनेछ । त्यसपछि तिनले क्लाउड प्रयोग रोक्नेछन् । त्यस्तो अवस्थाको पहिले अनुमान गरेर इजरायलले क्लाउडको आफ्नै संस्करण विकासमा जोड दिएको हुन सक्छ,’ उनले भने । 

साइबर–युद्धमा पछि छैन इरान पनि
उता साइबर युद्धमा इरान पनि सक्रिय नै छ । पछिल्ला केही वर्षयता ‘टेलिग्राम’ मेसेजिङ एपमार्फत इरानले दर्जनौँ इजरायली नागरिकहरूलाई गुप्तचर कार्यमा जोडेको तथ्यांक इजरायलसँग छ । उनीहरूलाई इजरायली समाजमा जातीय कलह भड्काउन, सार्वजनिक सम्पत्तिमा आगजनी गर्न वा सरकारविरोधी भित्तेचित्र लेख्न पैसा दिइएको पाइएको इजरायली अधिकारी बताउँछन् । बेन्जाकोब आफू र आफ्नी श्रीमतीलाई धम्की दिने इजरायलीहरू पनि सम्भवत: इरानले भर्ती गरेको मानिस रहेको विश्वास गर्छन् । विशेषत: धम्की दिन प्रयोग भएका सामाजिक सञ्जाल एकाउन्ट प्राय: फेक हुनुले पनि उनको आशंकालाई बल दिएको छ । 

‘मेरी श्रीमतीले काम गर्ने ठाउँमा कसैले यहुदीहरूले मृत्युपछि बाल्ने मैनबत्तीको प्याकेज पठायो र त्यही समय मेरो ह्वाट्सएपमा बेनामे व्यक्तिले मैले जे गरिरहेको छु त्यो काम नछाडे मेरी श्रीमतीले ती मैनबत्ती प्रयोग गर्नुपर्ने अवस्था आउने धम्की आयो । यो एकप्रकारले डिजिटल मनोवैज्ञानिक आक्रमण हो,’ बेन्जोकोबले भने । 

हाल ‘हालकियोन र्यान्समवेयर रिसर्च सेन्टर’मा कार्यरत एफबिआईकी पूर्वसाइबर विभाग उपनिर्देशक सिन्थिया कैसर इरानले अमेरिकासँग बदला लिन विगतमा जस्तै अमेरिकी अस्पतालको प्रणालीलाई लक्षित गरेर साइबर आक्रमण गर्न सक्ने चेतावनी दिन्छिन् । उनले विदेशमा रहेका इरानीहरूको सूचना संकलन गर्न इरानी–प्रायोजित अभियान चलेको पनि बताइन् । ‘हामीले यस्ता केही गतिविधि देखेका छौँ जुन यस भेगका मानिसको सूचना संकलन हुने संस्थामाथि जासुसी भएजस्तो देखिन्छ । हाम्रो मूल्यांकनले यो सम्भवत: वर्तमान शासनप्रति असन्तुष्ट मानिसप्रति लक्षितजस्तो देखाउँछ,’ कैसरले भनिन् । 

इरानमा इजरायली ह्याकिङ र ट्रोलिङ
उसो त इजरायलले प्रतिद्वन्द्वीविरुद्ध मनोवैज्ञानिक साइबरयुद्ध सञ्चालन गर्ने गरेको लामो इतिहास छ । उसले युद्धको सुरुमा इरानमा लोकप्रिय रहेको मुस्लिमको प्रार्थनासम्बन्धी एक ‘एप’ ह्याक गरेको थियो । ह्याक गरेर सो एपमा इरानी सैनिकहरूलाई वर्तमान शासनविरुद्ध लाग्न प्रेरित गर्ने सन्देश पठाइएको एक वरिष्ठ इजरायली अधिकारीले बताए । अमेरिकी पत्रिका ‘वाल स्ट्रिट जर्नल’ले पहिलोपटक यो ह्याकिङसम्बन्धी समाचार लेखेको थियो । गत वर्ष, इजरायलले तेहरानमा रहेको इरानको कुख्यात ‘इभिन जेल’मा बमबारी गरेपछि इजरायलले इरानी अधिकारीहरूलाई त्यो बम विस्फोटको भिडियो पठाएको एकजना इजरायली अधिकारीले भने । ‘भिडियोसँगै तपाईंहरू आफूले सोचेजस्तो बलियो हुनुहुन्न भन्ने सन्देश पठाइएको थियो,’ ती अधिकारीले भने ।

डिजिटल अधिकारवादी समूह ‘सिटिजन ल्याब’ले प्रकाशित गरेको एक रिपोर्टमा भने अनुसन्धानकर्ताहरूले त्यतिवेला इजरायलले झुटा ट्विटर खातामार्फत इभिन जेल विस्फोटको एआईनिर्मित फोटो व्यापक फैलाएको पाएका छन् । ती तस्बिरमार्फत इरानीहरूलाई वर्तमान शासकविरुद्ध विद्रोह गर्न प्रेरित गर्ने इजरायलको उद्देश्य रहेको ल्याबको ठम्याइ छ । इजरायली अधिकारीहरूले भने यो आरोप अस्वीकार गरे । ‘खासमा इजरायलले विगतमा ठ्याक्कै यस्तै प्रकारको काम गर्ने गरेको रेकर्ड छ,’ सिटिजन ल्याबको रिपोर्टको सहलेखक क्लेम्सन विश्वविद्यालयका गलत सूचना अनुसन्धानकर्ता ड्यारेन लिनभिलले भने, ‘तिनीहरूले सैन्य अपरेसनसँग मनोवैज्ञानिक अपरेसनलाई एकीकृत गरेर इरानी शासनलाई जसरी पनि ढाल्ने अभियान चलाइरहेका छन् ।’

(विभिन्न अन्तर्राष्ट्रिय मिडियाका लागि एक दशकदेखि मध्यपूर्वबारे रिपोर्टिङ गरिरहेका एस्ट्रिन सन् २०१९ मा ‘एड्वर्ड आर. मुर्रो’ पुरस्कारबाट सम्मानित पत्रकार हुन् । एनपिआरमा प्रकाशित उनको लेखलाई श्रवण उप्रेतीले अनुवाद गरेका हुन् ।)

सुझावित समाचार