शुक्रबार अपराह्नदेखि देशभर ठुलो हावाहुरीसहित वर्षा भएको छ । विशेषगरी बागमती र लुम्बिनी प्रदेशमा भीषण हावाहुरी चलेर दिउँसै अँध्यारो वातावरण बनेको थियो । पश्चिमी हिमाली क्षेत्रमा हिमपात पनि भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार मकवानपुरगढीमा ६ घण्टाभित्र सबैभन्दा बढी ४६.४ मिमि वर्षा मापन भएको छ । काठमाडौंको बबरमहलमा एक घण्टाभित्रै २०.४ मिमि वर्षा रेकर्ड भएको छ ।
‘छोटो समयमै ठुलो पानी पर्यो, हावाहुरी, चट्याङ र असिनापानी परेको छ,’जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले भने, ‘यो वर्षा अस्वाभाविक होइन, पश्चिमी वायुमा न्यूनचापीय प्रणाली मिसिनुका साथै स्थानीय वायु पनि सक्रिय भएकाले ठुलो पानी र हावाहुरी चलेको हो ।’
शुक्रबार अपराह्नपछि ६ घण्टामा मकवानपुरगढीमा ४६.४, काठमाडौंको बबरमहलमा ४५, मकवानपुरको चिसापानीगढीमा ३६, सर्लाहीको बोर्लेनीमा ३१.२, नवलपरासीको डन्डामा ३०.८, काभ्रेको बोल्देमा ३० र लमजुङको बेँसीसहरमा २९.८ मिलिमिटर वर्षा मापन भएको छ ।
आज पनि हावाहुरी र वर्षा हुने
जल तथा मौसम विज्ञान विभागका मौसमविद् हरिप्रसाद दाहालका अनुसार आज शनिबार पनि हावाहुरी र वर्षाको सम्भावना छ । ‘देशका धेरै ठाउँमा बादल लाग्ने देखिन्छ । तर, शुक्रबारको जस्तो नभए पनि वर्षा हुन्छ । पूर्व र मध्यमा हावाहुरी पनि चल्छ,’ उनले भने, ‘शनिबार रातिबाट प्रणाली कमजोर हुन्छ, आइतबार केही ठाउँबाहेकमा पानी पर्दैन ।’
विभागका अनुसार शनिबार कोशी, मधेश, बागमती र गण्डकीका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित मध्यम वर्षाको सम्भावना छ ।
आइतबार देशका पहाडी र हिमाली क्षेत्रमा थोरै स्थान तथा कोशी र लुम्बिनीका तराई भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
दाउन्ने सडकमा राति मालवाहक गाडी निषेध
ठुलो वर्षाले सडक चिप्लो बनेपछि नारायणगढ–बुटवल सडक योजनाअन्तर्गत दाउन्ने–बर्दघाट सडकखण्डमा रातिको समयमा मालवाहक सवारी सञ्चालनमा अस्थायी रोक लगाइएको छ । सडक विभागअन्तर्गत सञ्चालित नारायणगढ–बुटवल सडक योजना (पश्चिमखण्ड)ले शुक्रबार सूचना जारी गर्दै शुक्रबार रातिदेखि आइतबारसम्म रातिको समय (साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म)ठुला मालवाहक सवारीसाधनलाई बर्दघाटतर्फ त्रिवेणीचोक (टिसिएनचोक) र दुम्कीबासतर्फ बजार क्षेत्रमा रोकिने व्यवस्था गरिएको जनाएको छ ।
निर्माणाधीन दुम्कीबास–दाउन्ने–बर्दघाट क्षेत्रमा भारी वर्षाका कारण सडक चिप्लिएको, ठुला मालवाहक सवारी चिप्लिने र अड्किने समस्या बढेको जनाएको छ । छोटो तथा लामो दूरीका यात्रुवाहक सवारी र आकस्मिक सेवाका सवारीलाई भने प्राथमिकताका आधारमा सञ्चालन गर्न दिइने जनाइएको छ ।
पहिरोले कान्तिलोकपथ अवरुद्ध
मकवानपुरको भीमफेदी गाउँपालिका– ८, गँगटेमा शुक्रबार पहिरो खस्दा कान्तिलोकपथ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
प्रहरीका अनुसार शुक्रबार साँझ करिब ५ बजे सडकमाथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको हो । पहिरोका कारण सवारी आवागमनपूर्ण रूपमा प्रभावित भएकोे छ ।