- राष्ट्रिय भेलाका सहभागीलाई नेतृत्वको प्रश्न– अवस्था कस्तो छ, चुनाव जित्न के गर्नुपर्छ ?
- सरकारलाई अध्यक्ष ओलीको चेतावनी– अब लाखौँको प्रतिरोध हुन्छ, सिंहदरबारको मूलगेटबाटै छिर्छौँ
काठमाडाैं- जेन–जी आन्दोलनपछि सरकारबाट अपदस्थ, गत फागुनको संघीय निर्वाचनमा व्यहोरेको धक्का र आन्तरिक रूपमा पार्टी पुनर्गठनको मुद्दा जारी रहेकै वेला एमालेले आसन्न स्थानीय र प्रदेश निर्वाचनमा उम्मेदवार छनोटको परम्परागत अभ्यास परिवर्तन गर्ने एजेन्डा अघि सारेको छ । बुधबारदेखि जारी राष्ट्रिय कार्यकर्ता भेलामा महासचिव शंकर पोखरेलले लोकप्रिय र सक्षम उम्मेदवार छनोटका लागि पार्टीभित्रै आन्तरिक निर्वाचनको विधि विकास गर्नुपर्ने प्रस्ताव राखेका छन् । माथिबाट टिकट दिने परम्परागत अभ्यास परिवर्तन गरी प्रतिस्पर्धात्मक विधिबाट उम्मेदवार छनोट गर्नुपर्ने उनको प्रस्ताव छ ।
भेलामा ‘शुद्धीकरण, सुदृढीकरण र स्थानीय निर्वाचनको तयारी’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्दै महासचिव पोखरेलले स्थानीय तहका उम्मेदवारलाई जिल्ला, प्रदेश र केन्द्रबाट टिकट दिने परम्परागत अभ्यास बदल्नुपर्ने प्रस्ताव गरेका हुन् । उम्मेदवार छनोटको विधि र मापदण्डसहितको उक्त प्रस्तावलाई भेलाले सुझावका रूपमा ग्रहण गरे केन्द्रीय कमिटी हुँदै एमाले सचिवालयबाट उम्मेदवार छनोटको विधि र मापदण्ड परिमार्जन हुनेछ ।
उम्मेदवार छनोट र जनप्रतिनिधिको उत्तरदायित्व शीर्षकको प्रस्तावमा महासचिव पोखरेलले भनेका छन्, ‘उम्मेदवार छनोटमा सम्बन्धित भूगोलको कार्यकर्ता र स्थानीय कमिटीको सिफारिस प्रमुख आधार बनाउनुपर्छ । उम्मेदवारको जनसम्पर्क, सार्वजनिक छवि, कार्यसम्पादन, वैचारिक प्रतिबद्धता र नैतिक आचरणको स्पष्ट मापदण्ड बनाउनुपर्छ । आवश्यकताअनुसार स्थानीय तहमा आन्तरिक निर्वाचन वा परामर्शबाट लोकप्रिय र सक्षम उम्मेदवार चयन गर्ने विधि विकास गर्नुपर्छ ।’
एमालेले वडाध्यक्षको टिकट जिल्लाले, पालिकाको प्रदेश कमिटी, नगरपालिकाको केन्द्रीय कमिटी, उपमहानगर र महानगरको टिकट पार्टी सचिवालयबाट निर्णय गर्ने गरेको थियो । तर, यस्तो परम्परागत अभ्यासमा सकेसम्म क्रमभंग गर्दै पोखरेलले नेताको छनोटमा नभई कार्यकर्ताबिच लोकप्रियता जाँच गर्ने विधि आन्तरिक चुनावी माध्यमबाट स्थानीय तहको उम्मेदवार छनोट गर्ने प्रस्ताव गरेका छन् ।
महासचिव पोखरेलले उम्मेदवार छनोटमा स्थानीय कमिटीको सिफारिस, जनसम्पर्क, सामाजिक प्रतिष्ठा, इमानदारी, कार्यक्षमता तथा जनविश्वासलाई पर्याप्त महत्व नदिइएको गुनासो आउने गरेको उल्लेख गरेका छन् । अन्तिम समयमा उम्मेदवार परिवर्तन गर्ने, पहुँच वा अन्य प्रभावका आधारमा निर्णय हुने तथा निर्णयप्रति स्थानीय संगठनको अपनत्व कमजोर हुने समस्या देखिएको उनले जनाएका छन् । त्यही कारण उम्मेदवार छनोट गर्ने विधि नयाँ ढंगले विकास गर्नुपर्ने आवश्यकता रहेको उनले औँल्याएका छन् ।
पार्टीले चलाइरहेको मिसन जागरण अभियानलाई स्थानीय तहको निर्वाचनकेन्द्रित गर्ने गरी पोखरेलले स्थानीय तहको निर्वाचन तयारीका लागि १३ वटा कार्ययोजना पेस गरेका छन् । ‘सम्बन्धित तहका कमिटीहरू नै निर्वाचन परिचालनका आधार कमिटी हुनेछन् । यसका लागि आधारभूत तहका कमिटीको सुदृढीकरण, स्थानीय राजनीतिक अवस्थाको विश्लेषण, जनसम्पर्क विस्तार, सक्षम उम्मेदवार छनोट, प्रभावकारी प्रचार तथा निर्वाचन परिचालनलाई योजनाबद्ध रूपमा सञ्चालन गर्नु आवश्यक छ,’ १३ बुँदे कार्ययोजनामा छ ।
कार्ययोजनाको पहिलो कामका रूपमा उनले आधारभूत तहका कमिटीको सुदृढीकरणमा जोड दिएका छन् । सबै आधारभूत तहका कमिटीको अवस्था समीक्षा गरी निष्क्रिय कमिटीलाई सक्रिय बनाउने, आवश्यकताअनुसार अधिवेशन, कमिटी पुनर्गठन, जिम्मेवारी बाँडफाँट तथा नियमित बैठकको व्यवस्था गरिनुपर्ने तथा निर्वाचन अभियानमा सहयोग पुगोस् भनेर वडा र पालिका अधिवेशन सम्पन्न गरिनुपर्ने उनको प्रस्ताव छ ।
यसबाहेक उनको कार्ययोजनामा प्रत्येक वडा कमिटीले आफ्नो क्षेत्रको मतदाता संख्या, पार्टी सदस्य, समर्थक, शुभेच्छुक, जनसंगठन, प्रभावशाली व्यक्ति तथा स्थानीय मुद्दाको अद्यावधिक अभिलेख तयार गर्ने, हरेक घरधुरीलाई आधार बनाएर जनसम्पर्क विस्तार गर्ने पालिका र वडास्तरमा पार्टीसम्बद्ध जनसंगठन निर्माण र परिचालनको योजना बनाउनुपर्ने प्रस्ताव छ ।
त्यस्तै, स्थानीय राजनीतिक शक्ति सन्तुलनको आकलन गरी अध्ययनका आधारमा प्रत्येक पालिका र वडाका लागि छुट्टाछुट्टै निर्वाचन रणनीति बनाउने, जनमत सर्वेक्षण र कार्यकर्ताको राय संकलन गर्ने काम गर्नुपर्ने प्रस्ताव छ । सर्वेक्षणबाट पार्टीप्रतिको जनधारणा, उम्मेदवारको स्वीकार्यता, स्थानीय मुद्दा, विपक्षीको प्रभाव तथा मतदाताको अपेक्षाबारे जानकारी लिने, जनमत सर्वेक्षणका लागि पेसागत र बौद्धिक क्षेत्रका जिम्मेवार व्यक्तिको सहयोग लिनेजस्ता काम गर्नुपर्ने सुझाइएको छ ।
त्यस्तै, निर्वाचनको पर्याप्त समयअघि सम्भावित उम्मेदवार तथा आकांक्षीहरूको पहिचान गरिनुपर्ने कामलाई प्राथमिकताका साथ अगाडि बढाई उम्मेदवार छनोट गर्दा पार्टीप्रतिको निष्ठा, जनसम्पर्क, सामाजिक प्रतिष्ठा, इमानदारी, कार्यक्षमता, नेतृत्व क्षमता, सार्वजनिक छवि, स्थानीय मुद्दाको ज्ञान तथा जनस्वीकार्यतालाई मुख्य मापदण्ड बनाउनुपर्नेमा जोड दिइएको छ ।
उम्मेदवार छनोटमा सम्बन्धित तहका कार्यकर्ताको भावना र सुझावलाई प्रमुख आधार बनाउन भनिएको छ । ‘उम्मेदवार छनोट प्रक्रियामा वडा, पालिका र जिल्ला कमिटीको सुझावलाई मुख्य आधार बनाउनुपर्नेछ । सम्भावित उम्मेदवारको जनस्वीकार्यता मापन गर्न आवश्यकताअनुसार आन्तरिक सर्वेक्षण तथा कार्यकर्ता परामर्श गर्नुपर्छ । उम्मेदवार छनोटमा पहुँच, लेनदेन, गुटगत प्रभाव र अन्तिम समयको अस्वाभाविक परिवर्तनलाई निरुत्साहित गरिनेछ । सम्बन्धित तहका कार्यकर्ताको भावना र सुझावलाई छनोटको आधार बनाउनुपर्नेछ,’ प्रस्तावमा छ ।
त्यस्तै, निर्वाचन परिचालन कमिटी गठन, प्रचार, सञ्चार र डिजिटल अभियान, घरदैलो र मतदाता सम्पर्क अभियान, स्थानीय मुद्दा र प्रतिबद्धतापत्रको तयारी, विपक्षीको अवस्था र पार्टीका उपलब्धिको प्रस्तुति, सुरक्षा, कानुनी सहायता र समन्वय, मतदान र मतगणना तयारी, अनुगमन, समीक्षा र जवाफदेहिताजस्ता कार्ययोजना आधारित भएर चुनावमा लाग्नुपर्ने महासचिव पोखरेलको प्रस्ताव छ । त्यस्तै, उनले अलग्गै पार्टी शुद्धीकरण र सुदृढीकरणको प्रस्ताव पनि राखेका छन् ।
भेलामा उपाध्यक्ष विष्णु पौडेलले ०४६ सालपछि एमालेले सरकारको नेतृत्व गर्दा र सहभागी हुँदाको करिब १२ वर्ष अवधिमा देशले हासिल गरेको विकासको उपलब्धिको फेहरिस्त राखेर कार्यपत्र प्रस्तुत गरेका थिए । एमालेको नेतृत्वमा करिब नौ महिनाको अल्पमतको सरकार, नेकपाको नेतृत्वमा करिब तीन वर्षको सरकार, एमालेको नेतृत्वमा अरू दल सहभागी साढे तीन वर्षको सरकार र अरू दलको नेतृत्वमा सहभागी करिब पाँच वर्ष अवधिमा देशमा भएको प्रगतिका विवरण कार्यपत्रमा राखिएको छ । ‘एमालेले आफूले नेतृत्व गरेको र आफू सहभागी भएको सरकारको कामको जिम्मेवारी लिन्छ, समग्र ३५ वर्षको जिम्मेवारी लिँदैन,’ पौडेलले कार्यपत्रमा भनेका छन् ।
बुधबार अध्यक्ष ओलीसहित उपाध्यक्ष पौडेल र महासचिव पोखरेलले सम्बोधन गरेका छन् । बिहीबार अर्का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को कार्यपत्र प्रस्तुति र वरिष्ठ नेता विद्या भण्डारीको सम्बोधनसँगै समसामयिक प्रस्तावहरू पारित गरी अध्यक्ष ओलीले भेला समापन गर्ने तयारी छ ।
कार्यकर्तालाई प्रश्न– अवस्था कस्तो छ, चुनाव जित्न के गर्नुपर्छ ?
एमालेले स्थानीय तह र प्रदेश निर्वाचनको रणनीति बनाउन राष्ट्रिय कार्यकर्ता भेलाका प्रतिनिधिहरूलाई लिखित सुझावका लागि दुईवटा प्रश्न सोधेको छ । कार्यकर्तालाई आफ्नो पालिकामा शक्ति सन्तुलनको अवस्था र चुनाव जित्न गर्नुपर्ने काममा केन्द्रित रहेर सुझाव दिन भन्दै लिखित प्रश्न बाँडिएको छ । बिहीबारको बन्दसत्रमा लिखित सुझाव दिइसक्न भनिएको छ । भेलामा सहभागी तीन हजार ४१४ कार्यकर्ताबिच समूहगत छलफलको प्रक्रिया छोट्याएर आवश्यक रणनीति बनाउन विषयकेन्द्रित लिखित सुझाव लिएर बिहीबार भेला समापन गर्ने तयारी छ ।
सरकारलाई ओलीको चेतावनी – अब लाखौँको प्रतिरोध हुन्छ, सिंहदरबारको मूलगेटबाटै छिर्छौँ
एमाले अध्यक्ष केपी ओलीले सरकार एमालेप्रति निर्मम भएको दाबी गर्दै त्यसको प्रतिरोधका लागि तयार रहन अग्रपंक्तिका कार्यकर्तालाई निर्देशन दिएका छन् । ओलीले एमालेमाथिको दमन महँगो पर्ने चेतावनी दिँदै मूलगेटबाटै सिंहदरबारभित्र छिर्ने (सरकारमा जाने) दाबी गरे ।
‘सरकारले एमालेमाथि निर्मम हमला गरेको छ । अब पनि सरकारले फेरि हमला गर्न सक्छ । त्यसको प्रतिरोध हुनेछ । त्यसको मूल्य महँगो पर्न सक्छ,’ राष्ट्रिय भेलामा ओलीले भने, ‘म गिरफ्तार हुँदा सयौँ कार्यकर्तामाथि निर्मम ढंगले कुटपिट भएको छ । पहिले गिरफ्तार हुँदा संयमतामा केही कमी भयो होला । अबको प्रतिरोध लाखौँको विरोधमा उत्रिएर गर्नुपर्छ । सबै तयार हुनुहोस् ।’
सरकारले कहिले के गर्छ भन्ने निश्चित नभएको भन्दै ओलीले कार्यकर्तालाई प्रतिरोधका लागि तयार रहन निर्देशन दिए । ‘हामीमाथि जस्तोसुकै हमला भए पनि सिंहदरबारको मूलगेटबाट छिर्नेछौँ । त्यस्तै हमला पटक–पटक भयो, हामी पछिल्लोपटक पनि मूलगेटबाटै छिर्यौँ। अनेक षड्यन्त्र र हमलाबाट बाहिर पारिएको छ । म फेरि भन्छु– हामी फेरि सिंहदरबारको मूलगेटबाटै भित्र छिर्नेछौँ,’ उनले भने ।
उनले नवनियुक्त आइजिपीले आफूसहित शेरबहादुर देउवा र प्रचण्डलाई थुन्छु भनेको दाबी पनि गरे । ‘आइजिपी हुनेबित्तिकै होसमा हो कि बेहोसमा हो बोलेको सुन्छु म । आइजिपीको बोलाइ त्यस्तो हुन्छ ? म केपी ओलीलाई थुन्दिन्छु, शेरबहादुरलाई थुन्दिन्छु, म प्रचण्डलाई थुन्दिन्छु भनेका छन् । केपी ओली, प्रचण्ड, शेरबहादुर देउवा भनेका मजाकका पात्र हुन् ? थुन्दिन्छु अरे !’ ओलीले आक्रोश पोखे ।
राणाशासन, पञ्चायती शासन र निरंकुश राजतन्त्रका विरुद्ध लडेर आएकाले एउटा सिपाहीले मजाक गर्दैमा केही फरक नपर्ने उनको भनाइ थियो । ‘६ महिनाको जागिर खाने एउटा सिपाहीले भन्छ फलानालाई थुन्दिन्छु । ठट्टा मजाक गर्या हो ?’ ओलीले भने, ‘तिनी जन्मिनुभन्दा अगाडिदेखि हामी देशका लागि आन्दोलनमा ज्यानको बाजी थापेर हिँडिराखेका थियौँ । मजाक गर्ने हामीमाथि ? थुने हुन्छ नि त समातेर । जो आउँछ थुन्दिन्छु, जो आउँछ थुन्दिन्छु भन्या छ । हामी मजाकका पात्र हौँ ? सबलाई ठट्टाजस्तो भएको छ । थुन्दिन्छु अरे ।’