पानीले दाउन्नेको सडक हिलाम्य, तीन रात ठुला सवारीसाधन प्रतिबन्ध

शुक्रबार, ६ चैत, २०८२
डिजिटल संस्करण

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको दाउन्नेमा लगातारको पानीले सडक हिलाम्य र चिप्लो भएपछि रातिका लागि ठुला तथा मालवाहक सवारीसाधन प्रतिबन्ध गरिएकाे छ ।

विगत तीन दिनदेखि दाउन्ने सडकखण्ड एकतर्फी रहेको छ । एक साताअघि परेको पानीले पनि दुई दिनसम्म यहाँको सडक एकतर्फी भएको थियो । 
सडक आयोजनाले शुक्रबार एक सूचना जारी गरी दाउन्नेमा लगातारको पानीले सडक हिलाम्य र चिप्लो हुँदा सवारीसाधन आवतजावतमा समस्या भएकाले राति ठुला तथा मालवाहक सवारीसाधन चैत ६ गतेदेखि ८ गते सम्मलाई प्रतिबन्ध लगाइएको जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार शनिबार दिनभर सडक एकतर्फी भएको थियो । उनले भने– साना तथा ठुला सवारीसाधनहरूले अप्ठ्यारो बाटोमा पनि जबर्जस्ती ओभरटेक गर्न खोज्दा सडक एकतर्फी हुने गरेको छ । 

शुक्रबार दिनभर र राति अबेरसम्म बाटो हिलो र चिप्लो हुँदा दाउन्नेमा ठुला तथा भारी सवारीसाधन उकालोमा बाटो चिप्लो भएर उक्लन सकेका छैनन् । प्रहरी उपरीक्षक खड्काका अनुसार दाउन्नेमा थप प्रहरी र ट्राफिक प्रहरी यातायात व्यवस्थापनका लागि खटाइएको छ । 

दाउन्नेको १४ किलोमिटर सडकखण्डमध्ये अझै चार किलोमिटर सडक कच्ची रहेको छ । सडक विभागका प्रमुख इन्जिनियर चूडाराज ढकालका अनुसार रातिको समय ठुला तथा अत्यधिक भार बोक्ने मालवाहक सवारीसाधन हिलोमा फसे रातभर सवारीसाधन जाम हुन सक्ने भएकाले तत्कालका लागि रातिको समय ठुला तथा मालवाहक सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको हो । उनले भने– यो तीन दिनका लागि हो, पानी नरोकिए लम्बिन पनि सक्छ । 

१४ किलोमिटर सडकखण्डमध्ये पश्चिममा २७ सय मिटर र पूर्वीमा तीन सय मिटर गरी तीन किलोमिटर कालोपत्रे गरिएको छ भने बाँकी ११ किलोमिटर सडकखण्ड ढलान हुँदै छ । तीमध्ये चार किलोमिटर सडकखण्ड अझै ढलान हुन बाँकी रहेको सडक विभागका प्रमुख इन्जिनियर चूडाराज ढकालले जानकारी दिए । चार किलोमिटरमध्ये पूर्वी खण्डमा १३ सय ५० मिटर र पश्चिम खण्डमा २६ सय ५० मिटर गरी चार किलोमिटर ढलानकाे काम बाँकी रहेको छ । 

पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत दाउन्नेमा तीन लेनको सडक बन्दै छ । यहाँको भौगोलिक जटिलताका कारण सडक टिकाइराख्न १५ इन्च मोटाइ सडक ढलान गरिँदै छ । ढकालले भने– तीन इन्च डिपिसी र १२ इन्च ढलान गरेर सडक बलियो बनाउने काम भएको छ । 

दाउन्नेमा वेलावेलामा पहिरोसमेत गइरहने भएकाले पहिरो जाँदा पनि सडकको पक्की भाग नबिग्रियोस् भनेर ढलान गरिएको हो । ढकालका अनुसार चार किलोमिटर ढलानको काम सक्न अझै कम्तीमा दुई महिना लाग्नेछ । उनले भने– यो बर्खाअगाडि दाउन्नेमा ढलानको काम सकिनेछ । अहिले दैनिक ५० मिटरको दरले ढलानको काम भइरहेको छ ।

सुझावित समाचार