सिलिचोङमा अध्यक्ष कप अन्तरपालिका भलिबल र सिलिचोङ ट्रेल रेस– २ सञ्चालन हुने

बिहिबार, ५ चैत, २०८२
डिजिटल संस्करण

संखुवासभाको सिलिचोङ गाउँपालिकाको केन्द्र ताम्कुमा ‘अध्यक्ष कप अन्तरपालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता र सिलिचोङ ट्रेल रेस– २’ सञ्चालन हुने भएको छ । बुधबार सिलिचोङ गाउँपालिका खेलकुद विकास समितिले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो ।

जिल्लाको दुर्गम गाउँपालिका भए पनि प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेको सिलिचोङ गाउँपालिका खेलकुदको क्षेत्रमा अगाडि रहेको छ । सिलिचोङ गाउँपालिकाको विकास र पर्यटन प्रवर्द्धन गर्दै खेल प्रतियोगिताको आयोजना गरिएको सिलिचोङ गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष खेवाहाङ मेवाहाङले बताए । खेलकुदको माध्यमबाट पनि पालिकाको विकास र पर्यटन प्रवर्द्धन गर्न सकिन्छ भनेर प्रतियोगिताको आयोजना गरिएको उनले बताए ।

नयाँ वर्ष ०८३ को अवसरमा वैशाख १ गतेदेखि ६ गतेसम्म सिलिचोड– ३ को ताम्कुमा प्रतियोगिता सञ्चालन गरिने अध्यक्ष मेवाहाङको भनाइ छ । उनका अनुसार सिलिचोङ गाउँ खेलकुद विकास समितिले विगत सात वर्षदेखि निरन्तर रूपमा खेलकुद क्षेत्रका विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको छ । यस वर्षबाट प्रतियोगितालाई थप परिष्कृत गर्दै पर्यटन प्रवर्द्धन तथा आर्थिक विकासलाई प्राथमिकतामा राखेको छ ।

समितिले अघिल्लो वर्षदेखि सुरु गरेको ट्रेल रेस प्रतियोगिताले गाउँपालिकामा साहसिक खेलकुदको विकास तथा प्राकृतिक पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याएको र यसपटक प्रतियोगितालाई अझ व्यवस्थित र आकर्षक रूपमा सञ्चालन गरिने बताइएको छ । गाउँपालिकाका सबै वडालाई समेट्ने गरी धावकहरूले डाँडाकाँडा हुँदै धार्मिक तथा पर्यटकीय स्थलहरूको आनन्द लिने र दौड पूरा गर्ने तयारी गरिएको छ ।

प्रतियोगितामा छिमेकी जिल्लाका स्थानीय तहका खेलाडीहरूको समेत सहभागिता रहनेछ । यसैगरी, प्रतियोगितामा सहभागी प्रत्येक टिममा सम्बन्धित जिल्लाबाहिरका ख्यातिप्राप्त बढीमा ३ (तीन)जना खेलाडी सहभागी गराउन सकिने व्यवस्था गरिएको जनाएको छ । उक्त प्रतियोगितामा भलिबलतर्फ विजेताले दुई लाख तथा उपविजेताले एक लाख, तृतीयले ३५ हजार र सान्तवना २५ हजार पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडीलाई चार हजार तथा उत्कृष्ट स्पाइकर, ब्लकर र सेटरलाई जनही दुई हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । हरेक खेलमा म्यान अफ दी म्याच घोषणा गरी सम्मनित गरिनेछ ।

यसैगरी सिलिचोड ट्रेल रेस– २ मा जम्मा ५० जना धावक सहभागी हुनेछन् । प्रतियोगितामा प्रथम हुनेलाई रु. २५ हजार, द्वितीयलाई रु. १५ हजार, तृतीयलाई रु. ७ हजार, चौथोलाई रु. ५ हजार र पाँचौँ, छैटौँ र सातौँलाई दुई–दुई हजार रुपैयाँ  पुरस्कारसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

सुझावित समाचार