सहिद स्मारक महिला लिग : संकटाको जितमा चम्किए विदेशी खेलाडी

बिहिबार, ५ चैत, २०८२
डिजिटल संस्करण

विदेशी खेलाडी चम्किएपछि पहिलो संस्करणको सहिद स्मारक महिला लिगमा संकटा एफसीले न्युरोड टिम (एनआरटी)लाई ४–० ले हराएको छ । ललितपुरस्थित च्यासल रंगशालामा बुधबार भएको उद्घाटन खेलमा संकटाले छिमेकी क्लब एनआरटीलाई हराउँदा तीन विदेशी खेलाडीले समान एक गोल गरे । एनआरटीको पोस्टमा विन टुन, लुसी होजे मोकाम्बी र क्विनाबेलले गोल गरेका हुन् । संकटाका लागि नेपाली खेलाडी सुक्रिया मियाँले एक गोल थपिन् । महिला लिगमा प्रभावशाली प्रदर्शन गर्ने योजना बनाएको संकटाले नेपालको उमेर समूहबाट प्रतिनिधित्व गरेका खेलाडीलाई प्राथमिकतामा राखेको छ ।

संकटाले चार विदेशी खेलाडी समावेश गरेर विभागीय टोलीलाई राम्रो चुनौती दिने रणनीति तयार पारेको छ । म्यानमारको राष्ट्रिय टोलीको कप्तानसमेत रहेकी टुनलाई पहिलोपटक संकटाले भिœयाएको छ । उनी दक्षिण एसियामा राम्रो प्रभाव जमाउन सक्ने खेलाडीमा पर्छिन् । ३१ वर्षीय स्ट्राइकर टुनले भारतको लिग खेलिसकेकी छिन् । 

पहिलो हाफमै तीन गोल 
संकटाले एनआरटीविरुद्ध सुरुदेखि दबाब बनाएको थियो । पहिलो हाफमा संकटाले तीन गोलको अग्रता लियो । टुनले खेलको पाँचौँ मिनेटमै संकटालाई अग्रता दिलाइन् । एनआरटीका खेलाडीबाट क्लियर नभएको बललाई उनले डिबक्सभित्रबाट सहज गोल गरिन् । लुसीले खेलको २६औँ मिनेटमा संकटालाई २–० को अग्रता दिलाइन् । उनले एनआरटीका डिफेन्डर र गोलरक्षकलाई बिट गर्दै भली गोल गरेकी थिइन् । सुक्रियाले काउन्टर एट्याक्टमा संकटालाई खेलको २८औँ मिनेटमा ३–० को बलियो स्थितिमा राखिन् । क्विनाबेलले ५२औँ मिनेटमा संकटालाई ४–० को अवस्थामा पुर्याएकी थिइन् । यसै गरी अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले झापा एफसीलाई ५–० ले हराएको छ । यसपटक उपाधि जित्ने लक्ष्यका साथ आएको आर्मीले पहिलो खेलमा जित निकाल्दा अञ्जना थुलुङ राईले दुई गोल गरिन् ।

राष्ट्रिय लिगमा चर्च ब्वाइजले संकटालाई हरायो
पुरुषतर्फको राष्ट्रिय लिग फुटबल प्रतियोगितामा चर्च ब्वाइजले संकटालाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा चर्च ब्वाइजले संकटालाई ५–२ ले हराएको हो । चर्च ब्वाइजका लागि सुमित श्रेष्ठले दुई गोल गरे । यसैगरी चर्च ब्वाइजका रोहन कार्की र मिलन राईले समान एक गोल गरे । संकटाका विवेक मगरले आत्मघाती एक गोल गरेका थिए । 

संकटाबाट विवेक राई र रिचर्ड ओनयमाले समान एक गोल फर्काए । जितसँगै चर्च ब्वाइजले उपाधि होडलाई बलियो बनाएको छ । ११ खेलमा चर्च ब्वाइजको यो आठौँ जित हो । मच्छिन्द्र एफसी र नेपाल एपिएफ एफसीसँग चर्च ब्वाइजले अंक बराबरी गरेको छ । यी तीनै टोली उपाधि होडमा अगाडि देखिएका छन् । ११ खेलबाट २५ अंक बनाएको चर्च ब्वाइज लिगको दोस्रो स्थानमा उक्लियो । पहिलो स्थानमा रहेको एपिएफले पनि २५ अंक जोडेको छ । तेस्रो स्थानमा रहेको मच्छिन्द्रको पनि समान खेलबाट २५ अंक छ । संकटा १३ अंकसहित दसौँ स्थानमा रहेको छ । 

चर्च ब्वाइजलाई खेलको २८औँ मिनेटमा रोहन कार्कीले १–० को अग्रता दिलाए । खेलको ४५औँ मिनेटमा सुमितले चर्च ब्वाइजको अग्रता २–० मा राखे । खेलको ६०औँ मिनेटमा मिलनले संकटाको पोस्टमा तेस्रो गोल थपे । संकटाले नौ मिनेटको अन्तरमा दुई गोल फर्काउँदै चर्च ब्वाइजलाई दबाबमा राख्ने कोसिस गरेको थियो । खेलको ६५औँ मिनेटमा विवेकले ३–१ का लागि गोल गरे । 

खेलको ७३औँ मिनेटमा रिचार्डले गोल गरी संकटालाई खेलमा ३–२ को गोलअन्तरमा पुर्याएका थिए । खेलको ७९औँ मिनेटमा सुमितले व्यक्तिगत दोस्रो गोल गर्दा चर्च ब्वाइजले ४–२ ले अगाडि बढ्यो । खेलको ८० औँ मिनेटमा संकटाका विवेकले आत्मघाती गोल गरे । अर्को खेलमा फ्रेन्ड्स र जावलाखेल युथ क्लबबिच १–१ को बराबरी भयो । 

सुझावित समाचार