६ दिनदेखि अवरुद्ध भेडेटार–रवि–राँके सडकखण्ड आजदेखि नियमित भएको छ । धनकुटाको साँगुरीगढी गाउँपालिका– ३, नाम्जेमा सुक्खा पहिरोका कारण अवरुद्ध निर्माणाधीन सडक सञ्चालनमा आएको हो ।
निर्माणाधीन सडकको माथिल्लो भागबाट शुक्रबार बिहानदेखि निरन्तर झरेको सुक्खा पहिरोको कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो । सडक निर्माणको जिम्मा पाएको भारतीय कम्पनी एप्को इन्फ्रा टेक र नेपाल प्रहरीको निरन्तर प्रयासबाट माथिबाट झरेको ढुंगामाटो हटाएर आज बिहान १० बजेदेखि उक्त सडक पूर्ण रूपमा सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी डिएसपी ज्ञानकुमार महताेले बताए ।
उक्त सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गको प्रयोग गरेर सवारीसाधनहरू आवतजावत गर्दै आएका थिए । तर, पहिरो हटाएपछि सडक नियमित भएको प्रहरीले बताएको छ । उक्त सडक हुँदै धरानबाट धनकुटाको भेडेटार, डाँडाबजार, राजारानी, मौनाबुधुक, कुरुलेतेनुपा, ६ नम्बर बुधबारे र पाँचथरको रवि–राँकेसम्म नियमित सवारी आवतजावत हुँदै आएको छ ।
सडक अवरुद्ध हुँदा तमोर करिडोर, बुढीमोरङ, डाँडाबजार, बोधेलगायतका स्थानबाट सवारीसाधन सञ्चालन हुँदै आएको थियो ।