हावाहुरीले उदयपुरमा दुईको मृत्यु, पाँचजना घाइते

मंगलबार, ३ चैत, २०८२
डिजिटल संस्करण

उदयपुरको कटारी नगरपालिकामा वर्षासँगै आएको हावाहुरीका कारण भएका छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्। प्रहरीका अनुसार आइतबार साँझ करिब ७:३० बजे कटारी नगरपालिका– ५, तीनकुने चोकस्थित राधाकृष्ण मन्दिरनजिक वीरेन्द्र चौधरीको टिनको छाना र काठको बारले बनेको घरमाथि नजिकै रहेको सुकेको सालको रुख हावाहुरीका कारण ढलेर घर किच्दा दुर्घटना भएको हो।

उक्त घटनामा घरधनी ६४ वर्षीय वीरेन्द्र चौधरी गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि कटारी प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। सोही घटनामा मृतककी करिब पाँच वर्षीया नातिनी विनिशा चौधरी, कटारी– ३ आहालेडाँडा बस्ने २७ वर्षीय युवराज कार्की, कटारी– ५ बलाहा बस्ने ४६ वर्षीय लीलाबहादुर दनुवार, सोही स्थानका ४६ वर्षीय प्रेमचन्द्र दनुवार तथा कटारी– १२ बसेरी बस्ने डोरबहादुर परियारकी १६ वर्षीया छोरी अस्मिता परियार घाइते भएका छन्। उनीहरूको कटारी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा २० जनाको टोली खटिएर उद्धार कार्य गरिएको थियो।

यसैबिच, आइतबार साँझ सोही समयमा कटारी नगरपालिका– ८, थलियाटारमा अर्को घटना भएको छ। स्थानीय मदनबहादुर तामाङकी ४९ वर्षीया श्रीमती मीनामाया तामाङ घरनजिकैको गोठबाट खसीबाख्रा घरतर्फ सार्ने क्रममा वर्षासँगै आएको हावाहुरीले कटमिरोको रुखको हाँगा भाँचिएर लाग्दा गम्भीर घाइते भएकी थिइन्।

घटनापछि उनलाई उपचारका लागि कटारी प्रादेशिक अस्पताल ल्याइए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। उक्त घटनामा इलाका प्रहरी कार्यालय कटारीबाट सातजनाको प्रहरी टोली खटिएर उद्धार गरिएको थियो।

सुझावित समाचार