सोमबार : १० बजेसम्मका १० मुख्य खबर

सोमबार, २ चैत, २०८२
डिजिटल संस्करण

निर्वाचन आयोगद्वारा ११० समानुपातिक सांसदको सूची सार्वजनिक

निर्वाचन आयोगले ११० समानुपातिक सांसदको सूची सार्वजनिक गरेको छ। थ्रेस होल्ड कटाएका ६ राजनीतिक दलले बुझाएको सूची विधिअनुसार नै भएपछि आयोगले सोमबार सांसदको सूची प्रकाशित गरेको हो। 

केही दिनमै उनीहरूलाई प्रमाणपत्र दिने आयोगको तयारी छ। 

समानुपातिकतर्फ रास्वपाले ५७, कांग्रेसले २०, एमालेले १६, नेकपाले ९ तथा श्रम संस्कृति र राप्रपाले ४/४ सिट जितेको छ। 

समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई आयोगले नागरिकता/राष्ट्रिय परिचयत्र र दुईप्रति तस्बिरसहित मंगलबारभित्र आयोगमा सम्पर्क गर्न आयोगले भनेको छ। 

रवि लामिछानेको अभियोग संशोधनविरुद्धको रिटमा आज पनि सुनुवाइ सकिएन

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अभियोगपत्र संशोधनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा सोमबार पनि सुनुवाइ भएको छ। तर, बहस नसकिएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखिएको छ। मंगलबार पनि निरन्तर सुनुवाइ हुनेछ। 

न्यायाधीशहरू सारंगा सुवेदी र सुनीलकुमार पोखरेलको इजलासले यस मुद्दामा सुनुवाइ गरिरहेको छ। उक्त इजलासले उस्तै माग भएका तीनवटै रिट एकसाथ सुनुवाइ गरिरहेकोमा हेर्दाहेर्दैमा राखिएको छ। युवराज पौडेल सफल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीसमेत तीनजनाले दायर गरेको रिटमाथि सुनुवाइ सुरु भएको हो। 

एक करोड १६ लाख नगदसहित काठमाडाैंमा दुई युवक पक्राउ

काठमाडौंमा एक करोड १६ लाख नगदसहित दुई युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंले भीमढुंगाबाट२८ वर्षीय सागर गिरी र प्रमोप्रसाद धिताललाई भीमढुंगाबाट पक्राउ गरेको हो। 

उनीहरू हुन्डी र  अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको एसपी पवनराज भट्टराईले बताए। उनीहरूको दुईवटा कार, ६ वटा मोबाइल तथा ३१ वटा सिमकार्ड पनि प्रहरीले बरामद गरेको छ। उनीहरूको बाइनान्स एपमा सात हजार १७५ डलर ब्यालेन्स प्रहरीले फेला पारेको छ। 

अनलाइन सपिङमा दैनिक चार ठगी : काठमाडौंमा एक महिनामै ११७ उजुरी

अनलाइन सामान बिक्रीका नाममा काठमाडौंमा ठगीका घटना बढेका छन्। प्रहरीका अनुसार दैनिक चारवटासम्म ठगी हुने गरेका छन्। 

जिल्ला प्रहरी परिसर काठमाडौंमा मात्र गत फागुन महिनामा अनलाइन सामान खरिद–बिक्रीका नाममा भएको ठगीसम्बन्धी ११७ उजुरी परेका छन्। 

सामाजिक सञ्जालमार्फत सस्तोमा आकर्षक सामान बिक्री गर्ने भन्दै विज्ञापन गरेर ठगी हुने गरेको हो । कतिपय भुक्तानी लिएर सम्पर्कविहीन हुने त कतिपयले एउटा भनेर अर्काे सामान बिक्री गरेको भन्दै कारबाहीका लागि प्रहरीमा उजुरी दिएका छन्। 

ठगीबाट जोगिन विश्वसनीय र दर्ता भएका कम्पनीमार्फत मात्र अनलाइन सामान खरिद गर्न प्रहरीले आग्रह गरेको छ । 

कांग्रेसका पूर्वसांसद चालिसेलाई पाँच लाख धरौटीमा छाड्ने आदेश

अवैध सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाली कांग्रेसका पूर्वसांसद सन्तोष चालिसेसँग पाँच लाख रुपैयाँ धरौटी माग भएको छ । सोमबार विशेष अदालतमा उपस्थित भएका चालिसेसँग अदालतले बयान लिएपछि थुनछेक आदेश दिएको हो। 

न्यायाधीशहरू नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले सो आदेश दिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार बिगो कायम गरी मुद्दा दायर गरेको थियो। उनी गोकर्णेश्वर नगरपालिकामा पूर्वमेयरसमेत हुन्। मेयर भएकै समयमा उनले अकुत सम्पत्ति आर्जन गरेको अख्तियारको दाबी छ। 

छोराछोरीसहित बेपत्ता आमाको शव भेरी नदीमा भेटियो, छोराछोरीको खोजी जारी

सुर्खेतमा छोराछोरीसहित सम्पर्कविहीन रहेकी ३८ वर्षीया महिलाको शव भेटिएको छ। गुर्भाकोट नगरपालिका–१२, पिप्ले बस्ने माया कठायत ११ वर्षकी छोरी आशा र ५ वर्षको छोरा दीपकसहित आइतबारदेखि बेपत्ता भएकी थिइन्।

प्रहरी र स्थानीयले खोजी गर्दा उनको शव भेरी नदीमा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। सोमबार साँझ ५ बजेतिर हराएको स्थानदेखि ७ किलोमिटर दक्षिणतर्फ लेकबेँसी नगरपालिका–३, पटारेस्थित भेरी नदीको किनारमा शव भेटिएको जिल्ला प्रहरी प्रवक्ता तथा डिएसपी मोहनजंग बुढ थापाले बताए। 

डिभिजन क्लबले लगाए एन्फामा ताला

सहिद स्मारक डिभिजन लिगका क्लबहरूले अखिल नेपाल फुटबल संघ एन्फा तालाबन्दी गरेका छन्।  सोमबार साँझ एन्फासँगको वार्ता असफल भएपछि क्लबहरूले वर्षाको समयमा ताला लगाएका हुन्। 

एन्फा पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पाले ताला लगाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्। आज दिनभर एन्फापरिसर तनावपूर्ण रह्यो। क्लबहरूले रिले अनसनसमेत सुरु गरेका थिए।  उनीहरूले आफूसँग गरिएको सम्झौता कार्यान्वयन गर्नुपर्ने माग गरेका छन्। यसअघि खेलाडी संघले पनि एन्फामा ताला लगाएको थियो। पछि सम्झौतापछि ताला खोलिएको थियो।

सुदूरपश्चिमका मुख्यमन्त्रीले घुस मागेको आरोप लगाएका वन अधिकृत भट्ट पक्राउ

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहमाथि घुस मागेको आरोप लगाएका डिभिजन वन अधिकृत कृष्णदत्त भट्ट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले धनगढीस्थित उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट भट्टलाई सोमबार दिउँसो पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले भट्टविरुद्ध विद्युतीय अपराध ऐनअन्तर्गत जाहेरी परेपछि उनलाई पक्राउ गरिएको जानकारी दिए । मुख्यमन्त्री शाहका स्वकीय सचिव प्रयागराज खनालले सार्वजनिक रूपमा मुख्यमन्त्रीमाथि घुस मागेको आरोप लगाएको भन्दै भट्टको नाममा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।

देशको जित नै व्यक्तिगत जितभन्दा ठुलो : ज्ञानेन्द्र मल्ल

पूर्वक्रिकेटर ज्ञानेन्द्र मल्लले व्यक्तिको जितभन्दा देशको जित नै सबैभन्दा ठुलो कुरा भएको बताएका छन् ।

मल्लले क्रिकेटबाट सिकेको पाठलाई राजनीतिक जीवनसँग जोड्दै भने, ‘मैदानभित्रको टिम ११ मा म रहुँ वा नरहुँ, तर मेरो देशले हार्नुहुँदैन। खेल व्यक्तिगत रेकर्डका लागि होइन, टिमको जितका लागि खेलिन्छ।’

उनले यस निर्वाचनमा आफ्नो अमूल्य मतदाताहरूलाई धन्यवाद दिँदै जनताको हित, राष्ट्रको विकास, सुशासन र भ्रष्टाचार अन्त्यका लागि एक ढिक्का भएर काम गर्ने विश्वास व्यक्त गरे। मल्लले रास्वपा परिवार, विशेषगरी कुमार दाइ र बालेन जीप्रति आफ्नो कृतज्ञता पनि व्यक्त गरे।

मल्लले स्पष्ट पार्दै भने, ‘म सदनमा रहुँ वा सडकमा, सधैँ देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि बढिरहनेछु। अन्त्यमा, व्यक्तिको हार–जितभन्दा पनि देशको जित नै सबैभन्दा ठुलो कुरा हो।’

प्रधानमन्त्री कार्कीका पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष बनाउनु शतप्रतिशत गलत : महावीर पुन

निवर्तमान शिक्षामन्त्री महावीर पुनले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा प्रधानमन्त्री सुशीला कार्कीका स्वकीय सचिव आदर्श श्रेष्ठको नियुक्तिप्रति सार्वजनिक रूपमा असहमति जनाएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पुनले उक्त नियुक्ति ‘शतप्रतिशत गलत’ भएको टिप्पणी गरेका छन्। उनले श्रेष्ठलाई सम्बोधन गर्दै प्रधानमन्त्रीको प्रतिष्ठा जोगाउन उक्त पद नलिन आग्रह गरेका छन्।

पुनले लेखेका छन्, ‘त्यति सानो लोभले प्रधानमन्त्रीज्यूले कमाउनुभएको ऐतिहासिक इज्जत धुलोमा नमिलाइदेऊ।’ उनले यस्तो नियुक्तिले नातावाद, कृपावाद, चाकरीवाद र चाप्लुसीलाई बढावा दिने उल्लेख गर्दै यस्तै प्रवृत्तिका कारण पुराना राजनीतिक दल कमजोर बनेको तर्क गरेका छन्।

सुझावित समाचार