सुदूरपश्चिमका मुख्यमन्त्रीले घुस मागेको आरोप लगाएका वन अधिकृत भट्ट पक्राउ

सोमबार, २ चैत, २०८२
डिजिटल संस्करण

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहमाथि घुस मागेको आरोप लगाएका डिभिजन वन अधिकृत कृष्णदत्त भट्ट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले धनगढीस्थित उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट भट्टलाई सोमबार दिउँसो पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले भट्टविरुद्ध विद्युतीय अपराध ऐनअन्तर्गत जाहेरी परेपछि उनलाई पक्राउ गरिएको जानकारी दिए । मुख्यमन्त्री शाहका स्वकीय सचिव प्रयागराज खनालले सार्वजनिक रूपमा मुख्यमन्त्रीमाथि घुस मागेको आरोप लगाएको भन्दै भट्टको नाममा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।

खनालले २९ फागुनमा दिएको जाहेरीमा भट्टलाई विद्युतीय अपराध ऐनअन्तर्गत कारबाही गर्न माग गरिएको छ । जाहेरीका आधारमा कैलाली जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर भट्टलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले बताए । उनले अनुसन्धान अगाडि बढाइएको बताए ।

 प्रदेशका डिभिजन वन अधिकृत कृष्णदत्त भट्टले हालै एक सञ्चारमाध्यमलाई दिएको भिडियो अन्तर्वार्तामा आफ्नो सरुवा रोक्नका लागि मुख्यमन्त्री शाहले आफूसँग पाँच लाख रुपैयाँ घुस मागेको आरोप लगाएका थिए । मुख्यमन्त्रीलाई पाँच लाख घुस दिन नसकेकै कारण आफूलाई डिभिजन वन कार्यालय धनगढीको प्रमुखबाट हटाइएको आरोप उनले लगाएका थिए ।

मुख्यमन्त्रीमाथि घुस मागेको आरोप लगाएका भट्टसँग उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले स्पष्टीकरण माग गरेको थियो । मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले मागेको स्पष्टीकरणको जवाफ दिन मन्त्रालय गएका वेला उनी पक्राउ परेको बताइएको छ ।

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिवस्तरीय निर्णयबाट गत साउनमा डिभिजन वन कार्यालय धनगढीमा कार्यरत भट्टको सरुवा डिभिजन वन कार्यालय पहलमानपुर गरिएको थियो । उक्त सरुवाविरुद्ध भट्टले उच्च अदालत दिपायलमा रिट दायर गरेका थिए ।

सुरुमा सरुवाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको अदालतले पछि सरुवा बदर नगरेपछि उनलाई सुदूरपश्चिम प्रदेश वन निर्देशनालय धनगढीमा तानिएको थियो ।  
      
    
 

See More On

सुझावित समाचार